
३२ साउन, काठमाडौं । सरकारी अनुगमन टोलीले काठमाडौं सोह्रखुट्टेको चिकेन हाउस नामक मासु पसलबाट अत्याधिक फोहोरयुक्त मासु जफत गरेको छ ।
अत्याधिक फोहोर मासु पछि प्रयोगमा ल्याउने उद्देश्यले फ्रीजमा राखेको भेटिएपछि जफत गरिएको हो । १ सय ८३ केजी मासु जफत गरेको र सबै नष्ट पनि गरेको आपूर्ति विभागको अनुगमन टोलीले जनाएको छ ।
‘पसलमा खानै नहुने अवस्थामा हानिकारक मासु फोहोर फ्रीजमा राखेको भेट्यौं,’ विभागका निर्देशक लक्ष्मण श्रेष्ठले भने, ‘तत्कालै सुंगुरको खोले पकाउने भाँडामा हालेर त्यसलाई नष्ट गरिएको छ ।’
पसलमा अझै पनि रंगिन पातला प्लाष्टिकका झोला प्रयोग भइरहेको पनि भेटिएको छ । विभागले प्लाष्टिक पनि जफत गरेर तीन दिनभित्र स्पष्टीकरण दिन आउन चिकेन हाउसलाई पत्र दिएको छ ।
केही समयअघि काठमाडौंमा मासु पसल र वधशालामा अनुगमन गर्दा पनि यस्तै समस्या देखिएको थियो । सरकारले चेतावनी मात्रै दिएर छाड्दा मासु पसलमा गुणस्तरीय मासु पाउने अवस्था छैन ।
अनुगमन टोलीले अनुमति पत्र नवीकरण नगरी काठमाडौंमा सञ्चालित तीनवटा फार्मेसी तथा क्लिनिकमा शीलबन्दी पनि गरेको छ ।
सोमबारमात्रै प्रधानमन्त्री प्रचण्डले बजारको प्रभावकारी अनुगमन गर्न र कालोबजारी नियन्त्रण गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया 4