१ भदौ, काठमाडाैं । सरकारले दर्ता नगरेका दुई पोलिक्लिनिक तथा नवीकरण नगरेको एक हेल्थ केयर सेन्टरमा आज सिलबन्दी गरेको छ ।
सिलबन्दीमा परेका क्लिनिकहरुमा जावलाखेलस्थित प्रशान्ती हेल्थ केयर सेन्टर, पाटनस्थित ओम पोलिक्लिनिक तथा त्यही अन्तर्गत सञ्चालित स्माइल डेण्टर केयर रहेका छन् ।
आपुर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट गएको अनुगमन टोलीले दश महिनादेखि नविकरण नगरिएको प्रशान्ती हेल्थ केयरमा सिलबन्दी गरेको हो ।
त्यस्तै, कम्पनी रजिष्ट्रारको कायार्ललयमा दर्ता भएपनि अन्य कुनै सरकारी निकाय अन्तर्गतको स्वास्थ्य संस्थामा दर्ता नगरेको पाएपछि पाटनस्थित ओम क्लिनिक तथा स्माइलमा सिलबन्दी गरिएको हो ।
आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौ उपत्यकाका विभिन्न फार्मेसी तथा क्लिनिकको अनुगमन गर्ने क्रममा आज दशवटा फार्मेसीको अनुगमन गरेको थियो । अनुगमनका क्रममा तीनवटाले मापदण्ड पुरा नगरेको पाइएपछि सिलबन्दी गरेको विभागका शाखा अधिकृत श्री अधिकारीले अनलाइनखबरलाई बताए ।
विभागले मंगलबार पनि काठमाडौका एघार वटा फार्मेसीको अनुगमन गरेको थियो । अनुगमन गरिएका मध्ये तीनवटाले आवश्यक मापदण्ड पुरा नगरेको फेला परेको थियो ।
टोलीले सिनामंगलस्थित एमभी पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टर र सिनामंगल हेल्थ केयर एण्ड डाइगोनोष्टिक सेन्टर प्रालीलाई बन्द गरेको थियो । त्यस्तै, सिनांमगलकै ज्ञान गंगा फार्मेसीमा सिलबन्दी गरेको थियो ।
टोलीले एमभी पोलिक्लिनिक दुई वर्षदेखि तथा सिनामंगल हल्थ कियरले आठ महिनादेखि नवीकरण नगरेको फेला पारेको थियो । त्यस्तै फार्मेसीले पनि नवीकरण नगरेको फेला परेको थियो ।
टोलीले काठमाडौ मेडिकल कलेजस्थित केएमसी फार्मेसीले मुल्य मेटेको फेला पारेपछि उनीहरुलाई पनि कारवाहीको दायरामा ल्याएको छ ।
प्रतिक्रिया 4