२ भदौ, काठमाडौं । मोटोपना अहिलेकोे सबैभन्दा ठूलो समस्या हो । कतिपय मानिसहरु धेरै खाएर मोटाउने गर्छन् भने कोही शरीरमा हुने हर्मोन परिवर्तनका कारण मोटाउने गर्छन् ।
पहिले-पहिले मोटाउनुलाई निकै राम्रो पनि मानिन्थ्यो । बदलिँदो समय क्रमसँगै अहिले मोटाउनु मानिसका लागि अभिशाप बन्न थालेको छ । निरन्तररुपमा मोटाउँदै जाँदा भनेजस्तो लुगा लगाउन पाइँदैन नै, हाम्रो शरीरमा विभिन्न रोग लाग्ने सम्भावना पनि बढेर जान्छ ।
त्यसैले, आजकलका दुब्लाउने लालशामा कयौं मानिसले खानपिनै त्याग्ने गर्दछन् । विशेषगरी भर्खरका युवा, तन्नेरी तथा कुनैबेला मोटो जीउडालका मानिस ‘स्लीम’ बन्ने चक्करमा खानपिनै छोडेर व्यायाम गर्न तिर लाग्छन् । यसले उनीहरुको शरीरमा फाइदाभन्दा धेरै हानी पुर्याउने पोषणविद इन्द्रप्रसाद सिटौला बताउँछन् ।
उनका अनुसार मोटोपन बेलुनसरह हुन्छ । जसरी एउटा बेलुनलाई फुकिसकेपछि पहिलेकै अवस्थामा ल्याउन असम्भव हुन्छ । एकपटक मानिस मोटाइसकेपछि उसलाई पहिलेकै अवस्थामा आउन पनि उत्तिकै कठिन हुन्छ ।
अझ एउटा फुलेको बेलुनको हावा सकिएपछि सानो भएपनि उसमा हावाका अवशेष जसरी बाँकी रहन्छ । त्यसरी नै मानिस मोटाएर दुब्लाउँदा उसभित्र रहेको ‘फ्याट’ अर्थात चिल्लोपना पनि भित्रै रहन्छ ।
विशेषगरी हाम्रो शरीरमा करोडौं कोषिका हुन्छन् । ती सबैको आ-आफ्नै काम हुन्छ । जब ती कोषिकामा हामीले खाने चिल्लोपन गएर बस्दछ, तब हाम्रो शरीर मोटाउँछ । तर, नखाई-नखाई दुब्लाउन खोज्दा त्यसरी कोषिकामा जमेर बसेका चिल्लोपन बाहिर निस्कन थाल्छ । जसले गर्दा जीउ त घट्ला । तर अनुहारमा डण्डीफोर, चाउरीपना पनि सँगसँगै आउँछ । साथै मोटाएका मान्छे अचानक दुब्लाउँदा तानिएका छाला खुम्चन थाल्छ । जसले गर्दा शरीरमा समेत चाउरीपन देखिन्छ ।
त्यसैले, शरीरलाई स्वस्थ्य राख्न खानपिनमा ध्यान दिन जरुरी हुन्छ । त्यसैगरी, खानपिनमा सुरुबाटै ध्यान दिन सकेको खण्डमा पनि यो समस्याबाट बँच्न सकिन्छ । यसको लागि ३/४ वटा कुरामा ध्यान दिनु पर्ने पोषणविद सिटौला बताउँछन् ।
ध्यान दिनुपर्ने कुरा
धेरैपटक खाने तर थोरै-थोरै खाने
भरसक तेल भएको खाना धेरै नखाने
दिनमा थोरै भएपनि बदाम, भटमास खाने
दाल खाँदा सकेसम्म खोष्टा भएको फाइबरयुक्त दाल खाने
भोक कम गर्नकालागि फर्सी, काँक्रो विया खाने । यसमा भिटामिन पाइनुका साथै यसले छालालाई समेत राम्रो बनाउँछ । र, डण्डीफोरको समस्या कम गर्छ ।
शरीरमा भएका कोलेष्टोरल कम गर्नाका लागि आलस खाने । यसमा दिमागलाई आवश्यक पर्ने ओमेगा-३ पाइन्छ ।
खाना खानु करिब आधा घण्टा पहिले गाजर, काँक्रो, मुला आदि खाने । यसले गर्दा खाना कम खाइन्छ ।
बेलुकी खाना खाइसकेपछि वरिपरि कम्तीमा सय कदम हिँड्ने
सकेसम्म सुत्नु भन्दा ३/४ घण्टा पहिले नै खाना खाने
त्यस्तै, स्वस्थ्य रहनका लागि भातै खानुपर्छ भन्ने जरुरी हुँदैन । भिटामिन, फाइबरयुक्त खाना जस्तै उसिनेको सिमी र आलुको मिश्रण, मकैको रोटी, ओएटले लगायतले पनि शरीरमा बढी फाइदा पुर्याउँछ ।
अन्तमा यो कुरा पनि थाहा पाउनुस्
एक ग्राम कार्वोहाइड्रेडले शरीरमा चार किलो क्यालोरी उत्पादन गर्छ ।
एक ग्राम प्रोटिनले चार किलो क्यालोरी उत्पादन गर्छ ।
एक ग्राम ‘फ्याट’ अर्थात चिल्लोपना बराबर नौ किलो क्यालोरी उत्पादन हुन्छ ।
( यो जानकारी पोषणविद इन्द्रप्रसाद सिटौलासित गरिएको कुराकानीमा आधारित छ।)
प्रतिक्रिया 4