Comments Add Comment

मधेस आन्दोलनमा मारिएका ५२ जनालाई शहिद घोषणा (सूचीसहित)

पूर्व न्यायाधीश लालको अध्यक्षमा छानविन समिति गठन

Pm-office२ भदौ, काठमाडौं । सरकारले मधेस आन्दोलनमा मारिएका ११ सुरक्षाकर्मी र ४२ आन्दोलनकारीलाई शहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले उनीहरुलाई सहिद घोषणा गरेको हो ।

सरकारले आन्दोलनकारीका तर्फबाट मारिएका प्रहरीलाई पनि सहिद घोषणा गरेको हो । ‘शहिद घोषणाका लागि सिफारिस भएकामध्ये आज ५२ जनालाई शहिद घोषणा गर्ने निर्णय भएको छ,’ उर्जा मन्त्री जनार्दन शर्माले अनलाइनखबरसँग भने, ‘बाँकी मारिएका विषयमा थप छानवीन गर्नुपर्ने देखियो ।’

सहिद घोषणा र क्षतिपूर्तिका लागि मधेसी मोर्चाले हालै मात्र सरकारलाई ६८ जनाको सूची पेश गरेको थियो । त्यसमा गृह मन्त्रालयले ५२ जनाको नाममात्र प्रस्ताव गरेको हो ।

मन्त्री शर्माका अनुसार मधेसी मोर्चाले शहिद घोषणाका लागि प्रस्ताव गरेको भारतीय नागरिक आशिष रामलाई सूचीबाट हटाएको बताएका छन् ।

मन्त्रिपरिषदले शहिद घोषणा गरिएका व्यक्तिको परिवारलाई १० लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउनेसमेत निर्णय गरेको छ ।

यसअघि केपी ओली सरकारले पनि आन्दोलनमा मारिएका ४२ जनालाई राहत दिएको बताएको थियो । तर, सरकारले भने क्षतिपूर्तिबारे गृह मन्त्रालयबाट प्रस्ताव आएको यो नै पहिलो भएको बताएको छ ।

को- को भए सहिद ?

छानविन समिति गठन

यसैगरी मन्त्रिपरिषदले तराई आन्दोलनका क्रममा भएका घटना छानविन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेको छ ।

सर्वोच्चका पूर्वन्यायाधीश लालको अध्यक्षमा बनेको आयोग सात सदस्यीय रहनेछ । तर, अरु सदस्य भने प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले थप्ने निर्णय गरेको छ ।

नयाँ सरकार गठनका क्रममा कांग्रेस र माओवादीले मधेसी मोर्चासँग गरेको तीनबुँदे सहमतिमा आयोग गठन गर्ने पनि उल्लेख थियो ।

अरू के निर्णय भए ?

यसैगरी मन्त्रिपरिषद बैठकले योजना आयोगका सहसचिव गाेपिनाथ मैनालीलार्इ सचिवमा बढुवा गरिएको छ। साथै स्थानीय निकाय निर्वाचन विधेयकमा सैद्धान्तिक सहमति प्रदान गरेको छ । साथै अफगानिस्तानको काबुल घटनाका घाइतेहरूको उपचारको क्रममा लागेको ९१ लाख ६ हजार खर्च सरकारले ब्यहोर्ने र प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा पार्टीका पोलिटव्युरो सदस्य रामदिप आचार्यलाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ ।

(सहिदको संख्यामा यसअघि अन्यथा भएकाले क्षमाप्रार्थीसहित सच्चाइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment