Comments Add Comment

८ वर्षपछि विद्यार्थीलाई चुनावी ज्वरोः मिश्रित प्रणाली, २८ वर्षे उमेर हद

मध्यपश्चिम विश्वविद्यालयको पहिलो चुनावमै विप्लव बाधक

 

FSU-Midwestern-University

५ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालयमा ८ वर्षदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका बेला मध्यपश्चिम विश्वविद्यालयमा पहिलो पटक युनियनको चुनाव हुने भएको छ ।

विप्लबका विद्यार्थीको अबरोध

करीव २ हजार ५ सय विद्यार्थी अध्ययनरत मध्यपश्चिम विश्वविद्यालय क्याम्पसमा भदौ ८ गते स्ववियु निर्वाचन हुदैछ । तर नेत्रविक्रम चन्द विप्लब निकट अखिल क्रान्तिकारीको अवरोधका कारण उम्मेदवारी मनोनयन बिथोलिएको छ ।

क्रान्तिकारीले बिभिन्न माग राखेर चुनाव बिथोल्न तालाबन्दी गर्नुअघिनै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र नेपाल मजदूर किसान पार्टी निकट क्रान्तिकारी विद्यार्थी संघले भने मनोनयन दर्ता गराइसकेका थिए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा.उपेन्द्र कोइरालाले सबै विद्यार्थी संगठनलाई समेटेर निर्वाचन गराउने प्रयास सकारात्मक दिशामा अघि बढेको बताए । उनले भने- ‘हामी सबै संगठनलाई चुनावी प्रक्रियामा ल्याउन वार्ता गरिरहेका छौं ।’

उनले नेपालमै पहिलो पटक सबैको सहमतिमा नयाँ निर्वाचन प्रणालीबाट चुनाव गराउन लागिएको बताए । कुनै पनि संगठन चुनावी प्रक्रियाबाट बाहिर नरहुन् भनेर वार्ता थालिएको कोइरालाले बताए ।

नयाँ निर्वाचन प्रणाली

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव नयाँ निर्वाचन प्रणालीबाट हुन लागेको छ । जस अनुसार १७ सदस्यीय स्ववियुमा अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित १० जना प्रत्यक्ष निर्वाचित हुनेछन् ।

बाँकी सात सदस्य समानुपातिक प्रणालीबाट छानिने छन् । विद्यार्थी संगठनहरुले प्राप्त गरेको मतका आधारमा सात सदस्य बाँड्ने र १७ सदस्यीय स्ववियुले उपसभापति र सहसचिव चयन गर्ने प्रणाली अपनाउन लागिएको छ ।

यसअघि स्वतन्त्र विद्यार्थी युनियनमा प्रत्यक्ष मात्र निर्वाचन हुने गरेको थियो । सर्बोच्च अदालतको आदेश अनुसार स्ववियु निर्वाचनमा उमेर हद पनि मध्यपश्चिम विश्वविद्यालयबाटै लागु हुन लागेको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए ।

अदालतले स्ववियुमा चुनाव लड्ने विद्यार्थीको उमेर हद २८ वर्ष तोकेको थियो । त्यसयता स्ववियु चुनाव हुन नसकेकोमा मध्यपश्चिम विश्वविद्यालयबाटै उमेर हद लागु गरिएको उपकुलपति कोइरालाले बताए ।

विद्यार्थी नेताहरु सुर्खेतमा

९ वर्षदेखि स्ववियु चुनावमा सहभागी हुन नपाएका विद्यार्थी संगठनहरु मध्यपश्चिम विश्वविद्यालयमा आफ्नो जित हात पार्न अहिले सुर्खेतमा केन्दि्रत भएका छन् । यो चुनावलाई ठूला विद्यार्थी संगठनले प्रतिष्ठाको विषय बनाएका छन् ।

अनेरास्ववियु अध्यक्ष नविना लामा तीन दिन अड्डा जमाएर काठमाडौं फर्किए लगत्तै चुनाव जिताएरमात्र फर्किने गरी उपाध्यक्ष सुनिता बराल, महासचिव ऐन महर, सचिव आरती लामा र कोषाध्यक्ष झपिन्द्र खत्री सुर्खेत पुगेका छन् ।

उनीहरुले प्रभात पोखरेलको अध्यक्षमा स्ववियुका उम्मेदवारको नाम समेत दर्ता गराएका छन् । आफूहरु चुनाव प्रचार प्रसारमा रहेको र विप्लब निकट क्रान्तिकारीसँग पनि वार्ता गरेर चुनावको वातावरण बनाउन लागेको महासचिव महरले बताए ।

हालैमात्र महाधिवेशन सम्पन्न गरेको नेविसंघले पनि मध्यपश्चिम विश्वविद्यालयमा चुनाव जित्न महामन्त्री सरोज थापाको नेतृत्वमा टोली खटाएको छ । त्यस्तै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष गंगा तिमल्सिना सुर्खेतमा खटिएका छन् ।

मजदूर किसान पार्टीका विद्यार्थी अध्यक्ष निरज लबजुले लामो समयपछि हुन लागेको स्ववियु चुनावलाई बिना अवरोध सम्पन्न गर्नुपर्ने भन्दै सुर्खेतमा डेरा जमाएका छन् ।

Akhil-Krantikari-Election

८ गते चुनाव नगराउन दबाब

आन्दोलनकारीसँग वार्ता गरेर उम्मेदवारी मनोनयन सुचारु गर्ने तयारी भइरहेको उपकुलपति कोइरालाले बताएका छन् । तर विप्लब क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले भने भदौ ८ गतेको चुनाव स्थगित हुनुपर्ने बताए ।

विश्वविद्यालय प्रशासनले सबै विद्यार्थीसँग सहमति नगरि चुनावको मिति तोकेको र मतदाता नामावली दुई पटक टाँसेर फर्जी बिद्यार्थी भर्ना गरेकाले आफूहरुले असहमति राखेको उनले बताए ।

चलाउनले अनलाइनखबरसँग भने- ‘हामी सहमति नजिक छौं, ८ गते बाहेक अरु कुनै पनि मितिमा हुने चुनावमा हामी भाग लिन्छौं । तर फर्जी विद्यार्थी खारेज हुनुपर्छ ।’ उनले आफूहरुले चुनावी सभा समेत भव्यतापूर्वक गरिसकेकाले चुनाव नचाहेको आरोप गलत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment