+
+
Shares
विचार :

डिग्री लिनुभयो ? जीवनभर सिक्न तयार रहनुहोस्

आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्, सिक्न कहिल्यै नछोड्नुहोस् र आफ्नो क्षमता विकास गर्ने प्रयासलाई निरन्तर जारी राख्नुहोस्।

केदारभक्त माथेमा केदारभक्त माथेमा
२०८३ असार ८ गते ८:५०

मध्यपश्चिम विश्वविद्यालय अवस्थित यस नगरसँग मेरो परिचय ५० वर्षभन्दा पुरानो छ। वि. सं. २०२९ सालमा यस क्षेत्रको विकासका लागि सुर्खेतलाई केन्द्रविन्दु बनाएर नयाँ सहर विकास गर्ने परिकल्पनाका प्रमुख योजनाकार मेरा आफ्नै भाइ माधवभक्त माथेमा थिए।

उनकै मुखबाट मैले सुर्खेत उपत्यकाबारे पहिलो पटक धेरै जानकारी पाएको थिएँ। पाँच दशकअघि स-साना गाउँ-बस्तीहरू मात्रै रहेको यो ठाउँले आज स्वर्गीय राजा वीरेन्द्रको सम्झना अमर तुल्याउने गरी एउटा भव्य तथा देशकै नमुना नगरका रूपमा प्रख्याति कमाइरहेको पाउँदा खुसी लागेको छ।

वीरेन्द्रनगरको जस्तै मध्यपश्चिम विश्वविद्यालयको कथा पनि प्रेरणादायी छ। करिब २० वर्षअघि म यहाँ आउँदा यो विश्वविद्यालयको नामोनिसान थिएन। त्यसबेला विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीहरू लगायत हामी केही व्यक्ति सुर्खेतमा विश्वविद्यालयको आवश्यकताबारे प्रारम्भिक छलफलमा जुटेका थियौँ।

सुरुदेखि यस योजनामा समर्पित भएर लाग्नुभएका प्राध्यापक नारायणप्रसाद पौडेललाई अहिले यस विश्वविद्यालयको उपकुलपतिका रूपमा पाउँदा मलाई विशेष सन्तोष लागेको छ। शून्यताको त्यो अवस्थाबाट मध्यपश्चिम विश्वविद्यालयले आज हासिल गरेको यो भव्य भौतिक र शैक्षिक स्वरूप देख्दा मन आनन्दित नभई रहन सक्दिनँ।

यस विश्वविद्यालयको स्थापना र यसले अहिलेसम्म प्राप्त गरेको उपलब्धिका लागि यहाँका जनता, शिक्षाप्रेमी, नागरिक अगुवा तथा स्थानीय नेतृत्वलाई हामीले धन्यवाद दिनैपर्छ। साथै, स्थापनाको १६ वर्षभित्र यस विश्वविद्यालयले गरेको उल्लेखनीय उन्नतिका लागि सम्पूर्ण विश्वविद्यालय परिवार, विशेषगरी शिक्षक, कर्मचारी तथा विश्वविद्यालयलाई दूरदृष्टिपूर्ण नेतृत्व प्रदान गर्ने प्राज्ञ व्यक्तित्वहरूलाई हामीले सम्मानपूर्वक नमन गर्नुपर्छ।

अब, आज दीक्षित हुँदै गरेका विद्यार्थीहरूसँग केही कुरा गरौँ।

सर्वप्रथम, विश्वविद्यालयले निर्धारण गरेको अध्ययनलाई सफलतापूर्वक पूरा गरी दीक्षित हुनुभएकोमा म यहाँ उपस्थित सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु। साथै, तपाईँहरूको शैक्षिक यात्रामा आर्थिक, नैतिक तथा अन्य विविध प्रकारले सहयोग र समर्थन प्रदान गर्नुहुने तपाईँहरूका बुबाआमा, अभिभावक तथा परिवारका सदस्यहरूप्रति पनि यस खुसीको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

उच्च शिक्षाबाट लाभान्वित व्यक्तिहरू यसरी नै मध्यम वर्गमा प्रवेश गर्ने हुन्। कुनै व्यक्ति, परिवार अथवा समुदाय मध्यम वर्गमा प्रवेश गर्नु भनेको वस्तु तथा सेवा उपभोग गर्ने तिनको क्षमता बढ्नु हो।

उच्च शिक्षामा पहुँचको सवाल। हाम्रो देशमा अझै पनि धेरै परिवार आर्थिक विपन्नता र सामाजिक पछौटेपनबाट प्रभावित भएका कारण उच्च शिक्षामा युवाहरूको सहभागिता अन्य देशहरूको तुलनामा निकै कम छ। सन् २०२४ को तथ्याङ्कअनुसार दक्षिण कोरियामा उच्च शिक्षाको कुल भर्ना दर १०३ प्रतिशत थियो भने अस्ट्रेलियामा यो दर १०६ प्रतिशत पुगेको छ। त्यस्तै, सन् २०२३ मा उच्च शिक्षामा चीनको कुल भर्ना दर ७५ प्रतिशत थियो। यता हाम्रो विश्वविद्यालय अनुदान आयोगबाट भर्खरै प्रकाशित तथ्याङ्कअनुसार नेपालमा उच्च शिक्षाको कुल भर्ना दर बल्ल २४ प्रतिशत पुगेको छ। जबकि, विश्व बैङ्कका अनुसार सन् २०२४ मा विश्वव्यापी रूपमा उच्च शिक्षाको औसत कुल भर्ना अनुपात ४३.६ प्रतिशत थियो। यस आधारमा हेर्दा नेपालको उच्च शिक्षामा भर्ना दर विश्व औसतको तुलनामा पनि धेरै नै कम रहेको स्पष्ट हुन्छ। माथिको

आँकडाले हाम्रा धेरै युवा अझै पनि आर्थिक, सामाजिक तथा भौगोलिक कठिनाइले गर्दा उच्च शिक्षाको पहुँचबाट टाढा रहेको यथार्थलाई उजागर गर्दछ। यसर्थ, उच्च शिक्षामा पहुँच विस्तार गर्नु र सबै वर्ग तथा समुदायका युवाहरूलाई समान अवसर उपलब्ध गराउनु आज नेपालको राष्ट्रिय प्राथमिकताको विषय हुनुपर्छ।

भनिन्छ: जहाँ उच्च शिक्षामा पहुँच सीमित हुन्छ, त्यहाँ मध्यम वर्गको आकार सानो र सामाजिक तथा आर्थिक असमानता अत्यधिक हुन्छ। यस्तो अवस्थामा संस्थागत संरचनाहरू कमजोर बन्छन्, राजनीतिक अस्थिरताले जरा गाड्छ र लोकतान्त्रिक व्यवस्था समेत धरापमा पर्ने अवस्था सिर्जना हुन सक्छ।

समाजशास्त्रीहरू उच्च शिक्षामा युवाहरूको बढ्दो सहभागितालाई बौद्धिक वर्गको उत्थान र विस्तारका रूपमा हेर्छन्। उनीहरूको दृष्टिमा- उच्च शिक्षाले ज्ञान, चेतना, आलोचनात्मक सोच र सामाजिक नेतृत्व क्षमताको विकास गर्दै समाजमा ज्ञानी र विवेकशील वर्गलाई सुदृढ बनाउँछ।

अर्कोतर्फ, अर्थशास्त्रीहरू- उच्च शिक्षाको विस्तारबाट समाजमा मध्यम वर्गीय समूहको आकार बढ्ने पक्षमा विशेष चासो राख्छन्। उनीहरूको विचारमा मध्यम वर्गको विस्तारले अर्थतन्त्रलाई पनि थप उत्पादनशील र चलायमान बनाउँछ।

मध्यम वर्गको भरोसा। वास्तवमा, उच्च शिक्षा आम मानिसहरूलाई मध्यम वर्गमा प्रवेश गराउने एउटा भरपर्दो माध्यमका रूपमा स्थापित भइसकेको छ। जब उच्च शिक्षामा भर्ना हुने अवसर व्यापक रूपमा विस्तार भई समाजका सबै वर्ग र समुदायका लागि यो सुलभ बन्छ, तब त्यसले ठूलो सङ्ख्यामा मानिसहरूलाई स्थिर र सम्मानजनक जीवनसँगै आय आर्जनको पेसागत आधार प्रदान गर्छ।

उच्च शिक्षाबाट लाभान्वित व्यक्तिहरू यसरी नै मध्यम वर्गमा प्रवेश गर्ने हुन्। कुनै व्यक्ति, परिवार अथवा समुदाय मध्यम वर्गमा प्रवेश गर्नु भनेको वस्तु तथा सेवा उपभोग गर्ने तिनको क्षमता बढ्नु हो। त्यसले देशभित्रको माग, उत्पादन, लगानी तथा आर्थिक गतिविधिहरूको विस्तारमा मद्दत गर्छ। यस अर्थमा, उच्च शिक्षाले केवल व्यक्तिको जीवनस्तर मात्रै परिवर्तन नगरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील र सुदृढ बनाउने महत्त्वपूर्ण भूमिका पनि निर्वाह गर्छ।

दोस्रो विश्वयुद्धपछि संयुक्त राज्य अमेरिकाले युद्धभूमिबाट फर्केका लाखौँ युवालाई वैकल्पिक पेसातर्फ उन्मुख गराउने उद्देश्यले देशभरि उच्च शिक्षाको विस्तार गर्‍यो। यसको परिणामस्वरूप सन् १९५० देखि १९७० को अवधिमा अमेरिकामा मध्यम वर्गको आकार अभूतपूर्व रूपमा बढ्यो र त्यहाँको अर्थतन्त्रले पनि उल्लेखनीय प्रगति गर्‍यो।

अरू मानिसहरूसँग सधैँ शिष्टता, सम्मान र मर्यादाका साथ प्रस्तुत हुनुहोला। सधैँ हेक्का राख्नुहोला—उनीहरू तपाईँहरूभन्दा कम क्षमता भएका कारण मात्रै पछाडि परेका होइनन्

सन् १९५० देखि १९७२ सम्मको अवधिमा अमेरिकाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वास्तविक मूल्यका आधारमा झण्डै तीन गुणाले वृद्धि भएको थियो। धेरै अर्थशास्त्रीहरूले यस आर्थिक रूपान्तरणमा त्यहाँ भएको उच्च शिक्षाको विस्तार र मध्यम वर्गको सुदृढीकरणलाई महत्त्वपूर्ण कारकका रूपमा लिएका छन्।

दक्षिण कोरिया र ताइवानले पनि सन् १९६० को दशकदेखि शिक्षामा योजनाबद्ध र दीर्घकालीन लगानी गरेर यही मार्ग अनुसरण गरे। परिणामस्वरूप ती देशहरू केही दशकभित्रै तीव्र आर्थिक विकास, सामाजिक रूपान्तरण र मध्यम वर्गीय उपभोक्ता एवं उत्पादकको फराकिलो आधार निर्माण गर्न सफल भए। छिमेकी राष्ट्र चीन अहिले रूपान्तरणको यही प्रक्रियाबाट गुज्रिरहेको छ। उच्च शिक्षामा तीव्र विस्तार, दक्ष जनशक्तिको विकास र मध्यम वर्गको बढ्दो आकारले चीनको आर्थिक तथा सामाजिक परिवर्तनलाई नयाँ उचाइमा पुर्‍याइरहेको छ।

यो खुसीको समारोहमा मैले यति बेलीविस्तार गर्नुको उद्देश्य दीक्षित विद्यार्थीहरूसँग केही विचार साटासाट गर्नु हो। पहिलो कुरा, विश्वविद्यालयको उपाधिसँगै तपाईँहरूले आफ्नो जीवनको अत्यन्त महत्त्वपूर्ण चरण पूरा गर्नुभएको छ। यो उपलब्धिले तपाईँ र तपाईँको परिवार तथा देशका लागि समेत गहिरो अर्थ राख्छ। यसका लागि म तपाईँहरूलाई पुनः बधाई दिन्छु। यो उपाधिले तपाईँहरूलाई सफलता र नयाँ अवसरतर्फ उन्मुख गराउने कुरामा म ढुक्क छु।

जीवनभर सिक्न तयार रहनुहोस्। तपाईँहरूमध्ये धेरैजसो मध्यमवर्गीय परिवारबाट आउनुभएको छ। कतिपय त आर्थिक स्थिति कमजोर वा निम्न आय भएका परिवारबाट पनि आउनुभएको हुन सक्छ। तर तपाईँहरूले यस विश्वविद्यालयमा आएर हासिल गर्नुभएको शिक्षाले तपाईँहरूलाई पेसागत रोजगारी, सम्मानजनक जीवनयापन तथा सामाजिक उन्नतिका लागि समान आधार प्रदान गरेको छ।

यो उपलब्धिपछि, तपाईँहरू जीवनमा जहाँ पुगे पनि, जुनसुकै पेसा वा क्षेत्रमा संलग्न भए तापनि- उच्च शिक्षा प्राप्त गर्न नपाएका अरू मानिसहरूसँग सधैँ शिष्टता, सम्मान र मर्यादाका साथ प्रस्तुत हुनुहोला। सधैँ हेक्का राख्नुहोला—उनीहरू तपाईँहरूभन्दा कम क्षमता भएका कारण मात्रै पछाडि परेका होइनन्; बरु आर्थिक, सामाजिक वा अन्य संरचनागत कारणले गर्दा तपाईँहरूले पाए जस्तो उच्च शिक्षाको अवसरबाट वञ्चित हुनुपरेकाले पनि हुन सक्छ।

तपाईँहरू नम्र रहनुपर्ने अर्को कारण पनि छ। यस विश्वविद्यालयबाट तपाईँहरूले सैद्धान्तिक ज्ञान प्राप्त गर्नुभएको छ, तर आफ्नो पेसा र कार्यक्षेत्रमा आवश्यक पर्ने सबै खालका सिप र शिल्प भने अझै पूर्ण रूपमा आर्जन गरिसक्नुभएको छैन।

जापानमा विश्वविद्यालयका स्नातकहरूलाई कम्पनीहरूले छनोट गरेपछि आफ्नो आवश्यकताअनुसार थप तालिम प्रदान गरेर आफूलाई चाहिने जस्तो पेसेवर जनशक्तिका रूपमा विकास गर्छन्। नेपाललगायत धेरै देशमा यस्तो परिपाटी व्यापक हुन सकेको छैन।

यसको तात्पर्य- तपाईँहरूको औपचारिक अध्ययनको चरण पूरा भएको हुन सक्छ, तर सिकाइमा पूर्णता प्राप्त भएको छैन भन्ने हो। उदाहरणका लागि—प्रभावकारी प्रतिवेदन लेख्ने, प्रतिवेदनलाई स्पष्ट र व्यवस्थित ढङ्गले मौखिक रूपमा प्रस्तुत गर्ने, लामो दस्तावेजको सारांश तयार गर्ने, टोलीमा मिलेर काम गर्ने, समस्या समाधान गर्ने तथा नेतृत्व प्रदान गर्ने जस्ता धेरै सिप जीवनभर नै सिकिरहन र परिष्कृत गरिरहन आवश्यक हुन्छ। वास्तवमा, डिग्री प्राप्त गरेपछि पनि सिकाइको यात्रा निरन्तर चलिरहन्छ र चलिरहनुपर्छ।

यसै सन्दर्भमा एक सङ्गठनात्मक मनोवैज्ञानिक Tomas Chamorro–Premuzic र अर्का प्रतिभा-विज्ञ Becky Frankiewicz ले सन् २०१९ को हार्वर्ड बिजनेस रिभ्युमा प्रकाशित लेखमा व्यक्त गरेको एउटा विचार यहाँ स्मरण गर्न चाहन्छु। उनीहरूका अनुसार, ‘तपाईँको भविष्यको सफलता केवल डिग्रीले होइन, नयाँ कुरा सिक्न सक्ने क्षमता, सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने दक्षता र बदलिँदो परिस्थितिअनुसार आफूलाई अनुकूल बनाउन सक्ने सामर्थ्यले निर्धारण गर्नेछ।’

काम खोज्ने क्रममा वा पेसागत जीवनको सुरुवातमा तपाईँहरूले अपेक्षा गरेजस्तो सहज र अनुकूल वातावरण सधैँ नपाउन पनि सक्नुहुन्छ। चुनौती आउन सक्छन्, असफलताहरू पनि भोग्नुपर्ने हुन सक्छ। तर ती सबै अनुभव सिकाइका अवसर हुन्। त्यसैले आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्, सिक्न कहिल्यै नछोड्नुहोस् र आफ्नो क्षमता विकास गर्ने प्रयासलाई निरन्तर जारी राख्नुहोस्। आफूहरूभन्दा कमजोर र अवसरबाट वञ्चितहरूप्रति सधैँ विनम्र, सहयोगी र समानुभूतिको भाव राख्नुहोस्।

यो देश तपाईँहरूको हो; यसको भविष्य निर्माण गर्ने जिम्मेवारी पनि तपाईँहरूको काँधमा छ। यो केवल कथन मात्रै होइन; यथार्थ हो। तसर्थ देश र आफ्नो समाजलाई कहिल्यै नबिर्सनुहोस्।

(वीरेन्द्रनगर सुर्खेतमा आयोजित मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा प्रमुख वक्ताका रूपमा माथेमाले ३ असारमा दिएको मन्तव्य ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?