+
+
Shares

चितवनको कालिका नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते ११:२१

८ असार, चितवन । झण्डैं ११ करोडको लागतमा बनेको चितवनको कालिका नगरपालिकाको ५ तले प्रमुख प्रशासकीय भवनको आज उदघाटन हुने भएको छ ।

कालिका नगरपालिका वडा नं. ६ मा बनेको भवनको नगर प्रमुख विनोद रेग्मीले एक समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

२०७६ सालबाट निर्माण आरम्भ गरिएको भवन कोभिड र ठेकेदारको लापर्वाहीका कारणले ढिला मात्रै निर्माण पूरा भएको हो ।

२०८२ चैतमा रामनवमीको अवसर पारेर भवनमा गृह प्रवेश गरे पनि औपचारिक उद्घाटन भने आज गर्न लागिएको नगर प्रमुख रेग्मीले अननलाइनखबरसँग बताए ।

भवनको भुईँ तलामा राजश्व, स्वास्थ्य, स्टोर शाखासहित मालापोत र नापी शाखा, पहिलो तलामा प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा, र प्रशासन शाखा, दोस्रो तलामा नगर प्रमुख, उपप्रमुखसहितको कार्यकक्ष, कृषि, र पुश शाखा, तेस्रो तलामा १५० जना अट्ने हलसहित शिक्षा, पूर्वाधार, विपद्, वन बातारण शाखा रहेको छ ।

भवनको सबै तलामा पुग्न सक्ने गरी लिफ्ट तथा अपाङमैत्री संरचनाहरु बनाइएको नगर प्रमुख रेग्मीले जानकारी दिए । कालिका नगरपालिकाको केन्द्र भागमा बनेको भवनबाट सबै सेवाहरु प्रवाह गर्ने र नागरिकलाई विभिन्न भवनमा गएर सेवा लिनुपर्ने अवस्थाको अन्त्य भएको नगर प्रमुख रेग्मीले बताए ।

‘अहिले प्रशासकिय भवन भएको ठाँउ जनघनत्वका हिसावले भूगोलका हिसावले र सहजताका हिसावले केन्द्रमा छ’, नगर प्रमुख रेग्मीले भने, ‘नागरिकलाई एउटै भवनबाट सबै सेवाहरु मिल्ने, व्यवस्थापन गर्न सहजता हुने, सेवा अझै प्रभावकारी हुने विश्वास लिएका छौं ।’

नगरपालिका स्थापना भएको झण्डै ९ बर्षसम्म मासिक झण्डै १ लाख भाडामा तिरेर बसेको थियो । नयाँ भवन निर्माणमा जिल्ला समन्वय समितिको २ करोड र बाँकी सबै रकम कालिका नगरपालिकाको आन्तरिक स्रोतबाट खर्च भएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।

२०७६ सालमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलले शिलान्यास गरेको भवन रविना कन्स्ट्रक्सन प्रा.लि.ले निर्माण गरेको हो ।

ठेकेदारले काममा ढिलासुस्ती गरेको भन्दै नगरकार्यपालिका बैठकले १ करोड १६ लाख रुपैयाँ विलम्ब शूल्क (जरिवाना) गरेको नगरप्रमुख रेग्मीले बताए ।

निर्माणधीण भवनमा गत भदौं २४ गते भएको जेनजी आन्दोलनको क्रममा तोडफोड हुँदा झण्डै २५ लाख बराबरको क्षति भएको नगरप्रमुख रेग्मीले बताए । सो आन्दोलन र पुर्ननिर्माणका कारणले पनि भवन सर्न ढिलाइ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?