+
+
Shares

चितवनको कालिका नगरपालिकाले ७०० युवायुवतीलाई उद्यमशील बन्न तालिम दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते ११:००

६ असार, चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक बर्ष पालिका भित्रका ७ सय जना युवायुवतीलाई उद्यमशील बन्न सिपमूलक व्यवसायिक तालिम सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि पेश गरेको नीति तथा कार्यक्रममा ७०० जना युवा युवती विपन्न र बेरोजगार व्यक्तिहरुलाई उद्यमी बनाउने गरी सीप, क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

लोकसेवा तयारी कक्षा, पाक शिक्षा, वारिष्टा, व्युटिसियन, ड्राइभिङ लगायत स्वरोजगार गराउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए । साथैं पालिकाले दूधमा युवा तथा किसानहरुलाई आर्कषिक गर्न तथा अझै भएको व्यवसायलाई बढाउनका लागि अनुदानको रकम बढाउने नीति लिएको छ ।

नगरपालिकाले कृषकहरुको लागि दुधमा अनुदान कार्यक्रम अर्न्तगत  २४३५ जना किसानहरुलाई प्रति लिटर रु २.६१ का दरले दुग्ध उत्पादक सहकारी मार्फत किसानलाई नगद अनुदान रकम १ करोड ५ लाख १२ हजार ८१३ रुपैयाँ वितरण गरिसकेको छ । उत्पादन लागत कम गर्नको लागि घाँसमा आधारित पशुपालन तर्फ कृषकहरुलाइ आकर्षण गर्न घाँसको बिउ निशुल्क वितरण गरिने छ ।

साथै मागबमोजिमका ब्याबसायिक पशुपालन  सम्बन्धी तालिम, घरदैलो पशु उपचार सेवा, व्यवसायिक पशुपालक कृषक तथा दुग्ध उत्पादक सहकारी संस्थाहरुलाइ स्वच्छ दुग्ध उत्पादन, प्रशोधन, विविधीकरण तथा बजारीकरणमा प्रोत्साहनका साथै आवश्यक अनुगमन एबम तालिमको प्रबन्ध मिलाइने नगर प्रमुख रेग्मीले बताए ।

केरा खेतीका लागि उर्वरभूमि मानिने कालिकामा ५० प्रतिशत अनुदानमा  केरा खेती अन्तरगत १८ विगाहा क्षेत्रफलमा केरा खेती विस्तार गरिएको छ । यसलाई अझै बढाउने नीति नगरपालिकाले लिएको नगरप्रमुख रेग्मीले बताए ।

नगरपालिकाले पालिका भित्रका सबै वडाहरुमा क्रमश: आधुनिक प्रविधी मैत्री विकास ( जि. पि. एस. प्रणाली / स्टप साइन, वाटोको नामाकरण, घर नम्वर प्लेट निर्माण) का लागि आवश्यक पूर्वाधार निर्माण गर्ने जनाएको छ ।

अनिवार्य तथा नि:शुल्क शिक्षालाई पूर्णरुपमा कार्यान्वयन गर्न विद्यालय उमेर समुहका बालबालिकालाई भर्ना सुनिश्चितता, कार्यविधि अनुसार आवश्यक न्यूनतम श्रोत तथा अनुदान बजेटको व्यवस्था पालिकाले गरेको छ ।

गरिब असाहय आर्थिक तथा सामाजिक रूपले पछाडि परेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन, टिकाउन र  सिकाउन मेयर केयर कार्यक्रम (छात्रवृत्ति, शैक्षिक, सामग्री, पोशाक, स्वास्थ्य, आवास) सञ्चालन गर्दै आएको पालिकाले दुर्गम भेगमा रहेको सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई चेपाङ छात्राबासमा  नि:शुल्क खाना, वस्न र पठनपाठनको व्यवस्था मिलाउने कार्यलाई निरन्तरता दिइने नगरप्रमुख रेग्मीले जानकारी दिए ।

कालिका नगर अस्पतालको बिस्तार गरी बिरामी भर्ना गरी उपचार गर्ने (इन्डोर सेवा) सञ्चालन गर्ने, नसर्ने रोगहरु, महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच, स्तन क्यान्सर तथा आङ्ग खस्ने समस्याहरुको बेलैमा परीक्षण तथा स्क्रिनिङ्ग सेवालाइ प्रभावकारी बनाउँदै लैजाने नीति नगरपालिकाको छ ।

कालिका नगरपालिकामा पछिल्लो समयमा सुविधा सम्पन्न होटलहरु खुल्ने क्रम जारी रहेकोले नगर क्षेत्रका पर्यटकीय केन्द्रहरु सिन्ती झरना, गैरीवारी झरना, चित्राम झरना, भीमवली तथा उदयपुर पार्कहरुलाई सवलीकरण गरी आकर्षक, रमणीय र सुरक्षित गन्तब्य स्थलको रुपमा विकास गर्ने नीति नगरपालिकाको छ ।

एक घर एक धाराको अवधारणसहित खानेपानी विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाको नीति छ ।

कालिका नगरपालिका क्षेत्रमा घोषणा गरिएको औद्योगिक क्षेत्रलाई सञ्चालनमा ल्याउन संघ/ प्रदेश सरकारसंग समन्वय र निजीक्षेत्रसँग सहजीकरण गर्ने, स्थानीय स्तरमा उत्पादित सामाग्रीहरुको प्रचार प्रसार र बजारीकरणको लागि कोशेली घर व्यवस्थित रुपमा सञ्चालन गर्ने, कालिका नगर भित्रका व्यापारी व्यवसायीहरुको छाता संगठन कालिका उद्योग वाणिज्य संघ गठन गर्ने नीति लिएको नगरपालिकाले सहकारीलाई कृषि, उद्यम तथा व्यवसाय गर्न  किसानको साथीको रुपमा विकास गर्ने जनाएको छ ।

सहकारी दर्ता अनुगमन र  नियमन कार्यलाई बढी प्रभावकारी बनाउँदै  सहकारी सहकारी बीच एकीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । नगरपालिकाले सहकारी सस्थाको कारोवार प्रणालीलाई व्यवस्थित गर्ने कोपोमिसलाई अनिवार्य गर्ने नीति लिएको छ ।

नगरपालिकाको मुख्य सडक नगरपालिका गेट देखि खोलेसिमल कमलचोक जुटपानीबजार बजार हुँदै शक्तिखोर सडक स्तरोन्नती कार्यलाई निरन्तरता दिने, जिल्ला सदरमुकाम जोडिने सडक कमलचोक, समिपुर विधालय हुँदै खगेरी पुल सम्मको सडक, रत्ननगर शक्तिखोर सडक  स्तरोन्‍नती, समिपुर विद्यालय पूर्व घोल लाइनिङ साथै नगर क्षेत्रका अन्य सडकहरु, कयर तथा अन्य खोलाहरु तटवन्धन, सतही सिंचाइ तथा भूमिगत सिंचाइ कुलो लाइनिङ, पाइप लाइन तथा चेम्वर निर्माण गर्ने कार्यक्रमलाई प्राथमिकता राख्ने नीति लिएको छ ।

कालिका नगरपालिका वडा नं. १० मा रहेको कयर खोला पुललाई निर्माण सम्पन्न गरेर सडक आवागमन सञ्चालन गर्ने र उक्त पुल मार्फत चौकीडाँडा जोड्ने सडक सञ्जाललाई स्तरोन्‍नती गर्ने कार्यक्रममा जोड नगर प्रमुख रेग्मीले बताए ।

बीस लाख रकम भन्दा माथिको योजनाहरुलाई प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट सञ्चालन गर्ने तथा दीगो पूर्वाधार विकासका लागि मर्मत सम्भार कोषको व्यवस्था गर्ने नीति अवलम्बन गरिने नगर प्रमुख रेग्मीले बताए । फोहर मैला व्यवस्थापनका लागि सामुदायिक बनसँग सहकार्य गरेर ल्याण्डफिल्ड साइटको व्यवस्था गरी फोहर प्रशोधन केन्द्र स्थापना गर्ने नीति नगरपालिकाले लिएको छ । विषादी तथा प्लास्टिक जन्य सामग्री प्रयोगमा न्यूनिकरण गर्ने नीति नगरपालिकाको छ ।

कालिका नगरपालिकाका वडा नं ५, ४, ३ र २ क्षेत्रमा पर्ने थाङ खोला र कयर खोला समेतमा व्यवस्थित नदी नियन्त्रण कार्य गर्दै बुङ्खोला डाइभर्सन गरी बाढी जन्य विपद व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको वेरुजुको नियमित मूल्याङ्कन गर्दै वेरुजु न्यूनीकरणको स्पष्ट योजना बनाउने र शून्य वेरुजु भएका पालिकाहरूका असल अभ्यासहरूको सिकाइ गर्ने नीति पालिकाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?