Comments Add Comment

युद्धको घाउ कसरी दुःख्छ ? सविता र पवितालाई सोध (भिडियो सहित)

'हामीलाई सहारा दिनुस, हाम्रो लक्ष्य भेट्न चाहान्छौं'

sabita_pabita (6)१३ भदौ, काठमाडौं । कोही किन रुन्छ ? पीडाबीच बाँचेको जीवनमा सानो खुसीले पनि रुवाउँछ मानिसलाई । माओवादी जनयुद्धमा आमा गुमाएका दुई अनाथ किशोरी सविता र पविताका आँखा रसाएपछि अरु जवाफ केही चाहिन्न ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्व पीडितहरुले तत्कालीन राज्य पक्ष र माओवादी पक्ष विरुद्ध उजुरी दिइरहेका बेला यी दुई किशोरी भने आफूले पढ्न पाए युद्धमा मारिएकी आमाको आत्माले शान्ति पाउँथ्यो भन्दै भौंतारिएका भेटिए ।

भनिन्छ नि ! बालुवाको थलथले हिलोमा गाडिँदै गएको मान्छे सिमलको भुवा उडेर आयो भने पनि त्यसलाई समातेर माथि निस्कने आशा गर्छ । युद्धले बेसाहरा बनाएका यी दिदीबहिनीको उच्च शिक्षाको धोको पूरा भएको क्षणमा खुसीका आँशु यसरी बर्सिए कि धित मारेर रुनु जस्तो ।

आमा देख्न पाएनन्

सिन्धुली क्यानेश्वरका सविता वल र पविता वलले आफ्नी आमा देख्न पाएनन् । देखेनन् यसकारण भनौं कि,उनीहरुलाई जन्म दिने आमाको अनुहार कस्तो थियो भन्ने कुनै धूमिल चित्र पनि थाहा छैन ।

सविता र पविताको उमेर एक वर्षको मात्र फरक छ । २०५३ सालमा सविता जन्मिइन् भने त्यसको एक वर्षपछि पविता । यी दुई छोरीलाई जन्म दिएर कर्म दिन नपाउँदै २०५५ सालमा माओवादीबाट मारिइन् साइलीमाया वल ।

साइलीमायाको कुनै दोष थिएन । त्यो बेला घरमा आउने माओवादी वा सुरक्षा फौज जो भए पनि भात खुवाउनु नै दोष भयो । सुरक्षाकर्मीलाई खाना खुवाएर सुराकी गरेको आरोपमा माओवादीले साइलीमायाको हत्या गरेपछि टुहुरा सबिता र पबिता अनाथ भए ।

हजुरआमाले बोकेर लगिन्

बाबुले अर्कै बिहे गरेपछि हजुरआमाले बोकेर सर्लाहीका सुरेन्द्र लामासमक्ष पुर्‍याइन् । एमालेका स्थानीय नेता रहेका सुरेन्द्रले सविता र पविताको अभिभावकत्व ग्रहण गरेर र उनैको पहलमा स्थापना भएको चेतना सन्देश बालगृहमा राखेर पढाए ।

युद्धको पीडा कस्तो हुन्छ ? युद्ध लड्नेलाई भन्दा अनाहकमा युद्धको कहर भोग्नेहरुलाई थाहा हुन्छ । सबिता र पविता यस्तै कहर भोगेर अहिले पनि बेसहारा जीवन बिताउन विवश युद्ध पीडित हुन् ।

प्रतिशोध होइन, प्रगतिको चाहना

आमा मार्नेप्रति उनीहरुमा कत्ति पनि बदलाभाव वा प्रतिशोध छैन । उनीहरु दुवैको एउटै चाहना छ- हाम्रो जीवन त यस्तै भइगो,अब केही नभए हुन्थ्यो । हामीले चाहे जस्तो पढ्न नपाए पनि उच्च शिक्षा अध्ययन गर्नका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो ।

सर्लाहीको अनाथ आश्रमबाटै यसै वर्ष एसएलसी पास गरेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका सविता र पवितालाई एमाले सम्बद्ध अनेरास्ववियुले छात्रवृत्तिमा भर्ना गर्ने व्यवस्था मिलाइदियो ।

पाए सहयोगी हात

चेतना सन्देश अनाथ आश्रममासमेत आवद्ध रहेकी अनेरास्ववियु सचिव आरती लामाले यी दुई किशोरीलाई काठमाडौंमा आफ्नो डेरामा राखेकी छन् । उनकै पहलमा अनेरास्ववियुले छात्रवृत्ति कार्यक्रमअन्तर्गत प्रिमियर कलेज मीनभवनमा व्यवस्थापन संकायमा भर्ना गरेको हो ।

कलेज भर्ना भए पनि पढ्ने किताब, कापी र कलेश पोशाक किन्ने पैसा कहाँबाट ल्याउने ? उनीहरुको यो पीडा आरतीले सुनाइन् प्रवासी नेपाली संघ बेलायतका अध्यक्ष रामशरण सिम्खडालाई ।

सिम्खडाले यही पीडा सुनाए आफ्ना भाञ्जी अश्मिना र अल्मिबना क्षेत्रीलाई । काठमाडौंका प्रतिष्ठित शिक्षण संस्थामा अध्ययनरत यी दुई दिदीबहिनीले आफ्नै उमेर समूहका अर्का दिदीबहिनीको पीडामा साथ दिने अठोट गरे ।

अन्ततः अश्मिना र अल्बिना, सविता र पविताको सहारा बन्न तयार भए । उनीहरुले यी दुई अनाथ किशोरीका लागि आवश्यक किताब,कापीसहितका शैक्षिक सामाग्री र कलेज पोशाकका लागि नगद हस्तान्तरण गरे ।

sabita_pabita (5)

हामीलाई सहारा देऊ,लक्ष्य खोज्छौं

जीवनमा अनगिन्ती दुःख र वियोग झेल्दै अघि बढेका सविता र पविताले आँशु पचाइसकेका थिए । तर, आइतवार अस्मिना र अल्बिना जस्ता आधुनिक किशोरीहरु आफ्नो सहारा बनेर सघाउन आउँदा खुसीका आँशु लुकाउन सकेनन् ।

सहयोगी हातहरुलाई धन्यवाद दिन उभिएकी सविता विगत सम्झेर भविश्यका सपना बुन्दै गर्दा भक्कानिएर रुन थालिन् । आँशु न हो जति रोए पनि नरित्तिने आँखाहरु एकपटक फेरि रसाए ।

आमाको दूध खाएर हुर्किनुपर्ने उमेरमा उनीहरुको काख खोसियो । बाबुको हात समातेर हिँड्ने बेलामा सौतेनी मामिलाले त्यही हात पनि खोसियो । त्यसैले त चेतना सन्देश परिवारका आप्पा (सुरेन्द्र लामा) र आफू जस्ता अनाथ साथीहरु सम्झेर उनी सम्हालिन सकिनन् ।

जिन्दगीमा धेरै गुमाइसकेका सविता र पविता बाँकी जीवनको लक्ष्य भेटाउन अघि बढेका छन् । उनीहरु भन्छन्- अनाथ र असहायका पाइला आखिर कसै न कसैको सहाराविना अघि बढ्न नसक्ने रहेछन् । हामीलाई सहारा दिनुस, हामी लक्ष्य खोज्दैछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment