Comments Add Comment

झापामा कलेज ‘बङ्क’ गर्ने विद्यार्थीबिरुद्ध प्रहरी अभियान

 

१३ साउन, झापा । कलेज जाने भन्दै घरबाट निस्किएर घुम्न हिँड्ने विद्यार्थीलाई अब प्रहरीले ‘गिरफ्तार’ गर्ने भएको छ । कलेजको समयमा कक्षा ‘बङ्क’ गरी घुम्न जाने गरेको अत्याधिक गुनासो बढेपछि इलाका प्रहरी कार्यालय, अनारमनीले यो अभियान सुरु गरेको हो ।

Dating
फाइल फोटो

बिर्तामोडका ११ वटा निजी कलेज प्रशासन र अविभावकको आग्रहमा प्रहरीले यो अभियान सुरु गरेको छ ।

झापाका पर्यटकीय क्षेत्रहरु विराटपोखरी, सालबारी, जामुनबारी, स्थानीय सिनेमा हल र कलेज आसपासका होटलहरुमा कलेज पोशाकमै विद्यार्थीहरु भेटिन थालेपछि अभियान सुरु गरिएको इलाका प्रहरी कार्यालय, अनारमनीका डिएसपी खड्गबहादुर खत्रीले बताए ।

विद्यार्थीहरुले कक्षा ‘बङ्क’ गर्नेक्रम बढेपछि उनीहरुको भविष्यमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको उनको भनाइ छ । ‘पढ्ने समयमा विद्यार्थीहरु कलेज छेउछाउको होटल र सिनेमाहलहरुमा भेटिने गरेको व्यापक गुनासो आइरहन्छ’, खत्रीले भने, ‘पोशाकमै उनीहरु विभिन्न पर्यटकीय क्षेत्रमा पनि देखिने गरेका छन् । ती विद्यार्थीहरुलाई सही मार्गमा ल्याउन यो अभियान थालिएको हो ।’

कलेज सञ्चालन भइरहेको समयमा विद्यार्थीहरु घुम्न जाने कुरा त छँदैछ, अब प्रहरीले शैक्षिक क्षेत्रबाट १ सय मिटर आसपासमा रहेर सुर्तीजन्य पदार्थ विक्री वितरण गरिरहेको पसलको पनि निगरानी गर्ने भएको छ । यसका लागि जनचेतनात्मक कार्यक्रम समेत गरिने प्रहरीले जनाएको छ ।

‘विद्यार्थीहरुलेे ‘बङ्क’ गर्ने प्रवृत्ति उच्च रहेको शिक्षकहरुले बताउँदै आउनु भएको थियो’, डिएसपी खत्रीले भने, ‘त्यसैले विर्तामोडका कलेजहरु, शिक्षक र अभिभावकको सहयोगमा यो अभियान सुरु गरेका हौं ।’

ड्रेस लगाएर घरबाट निस्कने, तर कलेज नपुग्ने !

घरमा कलेज जाने भनेर विद्यार्थीहरु बिहानै हिड्छन् । कलेज बसमा जाने अधिकांश विहान ५ बजेदेखि ६ बजेसम्ममा बाटोमा निस्किसक्छन् ।

बिर्तामोड आसपासका बिद्यार्थीहरु सार्वजनिक यातायातमा मुख्य बजारसम्म आउँछन् भने कलेज बसमा आउनेहरु मुक्तिचोकमा पुगेपछि ड्राइभरलाई हप्काउँदै बसबाट ओर्लन्छन् ।

बिशेष गरी प्लस टू मा अध्ययनरत बिद्यार्थीहरुमा बंक प्रबृति मौलाएको छ । प्राय हुनेखानेका छोराछोरीमा यस्तो समस्या देखिएको कलेज प्रशासनको अनुभव छ ।

‘बङ्क’ पछि के गर्छन् ?

विद्यार्थीहरु प्रायः एक जना मात्र ‘बङ्क’ गर्दैनन् । ‘बङ्क’ गर्नलाई दुई वा दुई भन्दा बढिको समूह नै हुन्छ उनीहरुको । दुई जनाको समूह छ भने अधिकांश गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड हुन्छन् । ती जोडी विद्यार्थीहरु कलेज पोशाकमै ठाँटिएर घुम्न जान्छन् ।

उनीहरुका लागि कलेज समय घुम्न जाने उत्तम अवसर हो । विर्तामोड आसपासका पर्यटकीय क्षेत्रहरु उनीहरुका प्रमुख गन्तब्य हो ।

सालबारी नजिकै घर भएका भगिरथ आचार्य भन्छन्, ‘केही दिनअघि मात्र मैले कलेजको पोशाकमै दुई जना विद्यार्थीहरुलाई आपत्तिजनक अवस्थामा भेटको थिएँ ।’

उनका अनुसार यस्तो दृश्य अधिकांश समय देख्न सकिन्छ । विद्यार्थीहरु कलेजछेउका होटलहरुमा पनि भेटिन्छन् । कोहि सिनेमा हलमा पनि भेटिन्छन् ।

त्यस्तै, अर्का थरी विद्यार्थीहरु ४/५ जनाको समूह बनाएर ‘बङ्क’ गर्छन् । उनीहरुको उद्देश्य हुन्छ, नजिकैको होटलमा भएर धुमपान सेवन गर्नु ।

विहान ६ः३० देखि १०ः३० सम्मको कलेज समयमा आसपासका होटलमा पुग्ने हो भने रोचक दृश्य देख्न सकिन्छ । कलिला उमेरका विद्यार्थीहरु चुरोटमा ‘पव’मा मस्त हुन्छन् ।

यति मात्र होइन, ती विद्यार्थीहरु गाँजा, इन्जेक्सन र अन्य विभिन्न प्रकृतिका लागूऔषधजन्य ट्याब्लेटहरुको प्रयोग गरिरहेका समेत देखिन्छन् ।

एक जना विद्यार्थी नाम नबताउने सर्तमा सर्तमा भन्छन्, ‘कलेजकै छेउको होटलमा एक जना दाजुले गाँजा ल्याइदिन्छन् । र, हामी अन्यत्र गएर प्रयोग गर्छाैं ।’ उनले इन्जेक्सन चाहिँ कलेज आसपासमा बसेर प्रयोग गर्ने नगरेको बताए ।

के भन्छन् शिक्षक ?

उच्च माध्यमिक विद्यालय संघ (हिसान)का झापा जिल्ला सचिव गौतम शर्मा शिवाकोटी भन्छन्, ‘विर्तामोडका कलेजमा अध्ययनरत केही विद्यार्थीहरु कलेज समयमा भागेर अन्यत्र जाने गरेको भेटिएको हो । त्यसैले यो क्रमलाई निर्मुल पार्न प्रहरीको समन्वयमा यो अभिायन सुरु गरेका हौं ।’

उनले प्रहरीसँगको सहकार्यमा सुरु गरिएको यो अभियानले ‘बङ्क’ गर्ने क्रमलाई निमूल पार्न सकिने विश्वस व्यक्त गरे ।
विर्तामोडमा रहेका सम्पूर्ण निजी कलेजका शिक्षकहरुबीच छलफल गरेर प्रहरीले यो अभियान सुरु गरेको हो ।

प्रहरीले विभिन्न स्थानमा भेटिएका विद्यार्थीहरुलाई घट्नास्थलबाट ल्याएर कलेज र अभिभावकको जिम्मा लगाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment