बहराइनका प्रधानमन्त्री प्रिन्स खालिफा बिन सलमान अल खालिफाले उडिसाका गरीव आदिवासी दाना माझीलाई आर्थिक सहयोग गरेका छन् ।
गल्फ डिजिटल न्युजका अनुसार प्रिन्स खालिफाले जव सञ्चारमाध्यम मार्फत दाना माझीको बारेमा पढे तव उनलाई निक्कै पीडाबोध भयो ।
दाना माझी अहिले भारतीयमात्र नभएर विश्वभरका सञ्चारमाध्यमको प्रमुख हेडलाइन बनेका छन् किनभने उनले एउटा एम्बुलेन्ससमेत सहयोग नपाएर मृत पत्नीको शव काँधमा बोकेर १२ किलोमिटर पैदल यात्रा गर्नुपर्यो ।
समाचारका अनुसार प्रिन्स खालिफाका सहयोगीले भारतस्थित बहराइनको दूतावासमा फोन गरी केही रकम दाना माझीलाई सहयोग गरेका हुन् ।
उनको अवस्थाबारे जानकारी पाएर भारतमा पनि कतैबाट सहयोग नआइरहेका बेला बहराइनका राजपरिवारका सदस्यले सहयोग गरेका हुन् ।
खवरका अनुसार जव प्रिन्स खालिफाले यस समाचार थाहा पाए तव उनले जसरी पनि सहयोग गर्ने सोच लिएका थिए ।
टिवीको उपचारका क्रममा पत्नीको मृत्यु भएपछि दाना माझीले गाउँसम्म पुर्याइदिन अस्पताल प्रशासनसँग अनुनय बिनय गरेका थिए । तर अस्पतालले कानमा तेल हालेपछि उनले पत्नीको शव काँधमा बोकेर ६० किलोमिटर टाढा गाउँको पैदलयात्रा सुरु गरेका थिए ।
१२ बर्षीया छोरीसहित उडिसाको गर्मीमा उनी र उनकी पत्नीको शवलाई १२ किलोमिटर हिडेपछि सरकारी एम्बुलेन्सले उद्धार गरेको थियो । बाटोको हिडिरहेको देखेर कसैले सरकारी अधिकारीलाई खवर गरेपछि उनको उद्धार भएको थियो ।
समाचार सार्वजनिक भएपछि संसारभरबाट भारतीय सरकारको आलोचना भइरहेको छ ।