Comments Add Comment

रावल र निधि बाझेपछि बालुवाटार बैठकमा तनाब

भीम रावलले दूतावासको विज्ञप्ति पढ्नासाथ निधि आक्रामक

Bimalendra Nidhi & Bhim Rawal

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनसहित मुख्य तीन विषयमा छलफल गर्न बालुवाटारमा बोलाएको तीन दलको बैठकमा केहीबेर तनाब सिर्जना भएको छ ।

बैठकमा संविधान संशोधनलाई लिएर उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेकपा एमाले उपाध्यक्ष भीम रावलबीच विवाद भएको थियो । दुई नेताबीच विवाद झण्डै हात हालाहालको अवस्थामा पुगेपछि अन्य नेता अघि सरेर मिलाउनुपर्ने अवस्था सिर्जना भएको एक नेताले बताए ।

बैठक चलिरहेका बेला संविधान संशोधनको विषयमा छलफल हुँदा रावलले उपप्रधानमन्त्री निधिको भारत भ्रमणका सन्दर्भमा दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति पढेर सुनाए ।

उनले विज्ञप्ति पढ्दै नेपालको संविधान संशोधन गर्ने विषय भारतमा गएर छलफल गरेको भन्दै गम्भिर आपत्ति जनाए । दूतावासले जारी गरेको विज्ञप्तिमै संविधान संशोधनबारे भारतीय प्रधानमन्त्री र नेताहरुसँग कुराकानी भएको उल्लेख हुनु गम्भिर विषय हो भन्दै रावलले आपत्ति जनाएका थिए । रावलको कुरा नसकिँदै निधि रावलमाथि खनिए ।

संविधान जारी गर्ने बेलामा धेरै विदेशीका सुझाव लिइएको भन्दै निधिले ‘तपाईँलाई पनि विदेशीले सुझाव दिएका छन् र विदेशीलाई तपाईँले पनि जानकारी गराउनुभएको छ’ भने । उनले रावललाई विदेशीले फन्डिङ गरेको समेत लान्छाना लगाएपछि वातावरण तनावपूर्ण बन्यो ।

तीन दलको शीर्ष बैठकमा सहभागी एक नेताका अनुसार रावलले निधिलाई विदेशीले फन्डिङ गरेको प्रमाण देखाउन चुनौति दिए । निधिले पनि आफूसँग प्रमाण रहेको दाबी गरे । रावलले प्रमाण देखाउनुस् भन्दै आक्रोश व्यक्त गर्दा झण्डै हात हालाहालको अवस्था आउन खोजेको थियो ।

यो विषयलाई प्रधानमन्त्री प्रचण्ड सहितका अन्य नेताहरुले नतन्काउन आग्रह गर्दै हस्तक्षेप गरेका थिए । एमाले नेताहरुले भारतमा गएर संविधान संशोधनको सहमति लिने निधिले बैठकमा देखाएको प्रस्तुतिप्रति आपत्ति जनाएका छन् ।

भीम रावलसँग शीर्ष बैठकमा यसअघि पनि विभिन्न दलका नेताहरुको झगडा पर्ने गरेको छ । केही दिनअघि प्रधानमन्त्रीले नै बोलाएको बैठकमा मधेसी मोर्चाका नेता रामनरेश रायले भीम रावल नआएसम्म नबोल्ने भन्दै शौचालयबाट फर्किने बेलासम्म पर्खिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment