१८ भदौ, काठमाडौं । एमाले उपाध्यक्ष भीम रावल मधेसी नेतामाझ निकै चर्चित छन् । तर, मधेसमा रावलको नाम सकारात्मक हैन, नकारात्मक पात्रका रुपमा चर्चामा छ ।
हरेक मधेसी नेताले भीम रावललाई मधेसविरोधी नेताका रुपमा चिन्ने गर्छन् । संयुक्त बैठकहरुमा रावलले केही बोले भने उनका कुरा काट्न मधेसी नेतामा होडबाजी नै चल्छ । पछिल्लो समय गृहमन्त्री विमलेन्द्र निधि र भीम रावलवीच दोहोरी नै चलेको छ ।
आखिर भीम रावलसँग किन झस्किन्छन् मधेसी नेताहरु ? के रावल मधेसविरोधी नै हुन् त ? कि अरु कुनै कारण छ, जसले भीम रावलसँग मधेसी नेताले चित्त दुखाउनुपरोस् ?
को हुन् रावल ?
एमाले उपाध्यक्ष रावल वि.सं २०१२ साल मंसिर ३० गते अछामको साँफेबगर-९ स्थित कालाआम भन्ने ठाउँमा जन्मिएका हुन् । हाल उनी काठमाडौंको टोखास्थित बिनाज रेसिडेन्सीमा बस्छन् ।
रावलले राजनीतिशास्त्रमा एमए र कानूनमा बीएल गरेका छन् । उनी पीएचडी स्करल हुन् ।
राजनीतिमा सक्रिय हुनुअघिसम्म उनी वकालती पेशासमेत गर्थे । एमालेका वौद्धिक एवं तार्किक नेता मानिने रावलले भूमिगत वाम राजनीतिमा १२ वर्ष विताएका छन् भने विभिन्न मितिमा गरेर करिब एक वर्ष बन्दी जीवन बिताएका छन् ।
रावलले ‘नेपालमा साम्यवादी आन्दोलन उदभव र विकास’ नामक पुस्तक लेखेका छन् । त्यसैगरी ‘राजनीति र मानवअधिकार’ उनको दोस्रो किताव हो । रावल कवि पनि हुन् । उनको ‘लिम्पियाधुरा’ कविता संग्रह प्रकाशित छ ।
कानून तथा अध्ययन अनुसन्धानका क्षेत्रमा समेत काम गरेका रावल नेकपा एमालेभित्र कोर टीममा नेता मानिन्छन् । माओवादीसँगको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा रावलको सक्रिय भूमिका छ ।
पटक पटक मन्त्री बनिसकेका उनी केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री थिए । एमालेमा माधव नेपाल पक्षधर भइकन पनि पछिल्लो समय केपी ओलीसँग उनको सम्बन्ध राम्रो बनेको छ ।
आफूलाई लागेको कुरा प्रष्टसँग भन्ने र विपक्षीप्रति कठोर रुपमा प्रस्तुत हुने रावलको बानीले उनका आलोचकहरुलाई असैह्य बनाउने गरेको छ ।
मधेसीका दुश्मन ?
मधेसवादी दलका नेताका नजरमा केपी ओली भन्दा पनि प्रमुख दुश्मन बन्दैछन् भीम रावल । पछिल्लोपटक बिमलेन्द्र निधीसँगको घम्साघम्सी र भीम रावल आएपछिमात्र बोल्छु भन्ने रामनरेश रायको अडानपछि रावल अझ चर्चामा छन् ।
अघिल्लो साता प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा बोलाएको बैठकमा मधेसवादी नेता रामनरेश यादवले भीम रावलको नामै लिएर उहाँलाई केही सुनाउन चाहेको बताएका थिए । मधेसी मोर्चाका अर्का एक नेता भन्छन्-‘ हाम्रो मोर्चाका नेताहरु किन हो किन, रावललाई देख्नै सक्दैनन् ।’
सुदूरपश्चिममा शेरवहादुर देउवापछिको राष्ट्रिय नेताका रुपमा स्थापित हुँदै गरेका रावललाई मधेसवादी नेताहरु ओलीको अर्को रुप ठान्छन्
पछिल्लो पटक प्रधानमन्त्रीले बोलाएको शीर्ष बैठकमा मधेसी मोर्चाका नेता राम नरेश यादवले भीम रावल आएपछि मात्र बोल्ने अडान लिएका थिए । रावल त्यस बेला शौचालयमा थिए । रावल शौचालयबाट फर्किएपछि उनले एमालेले सत्य बोल्छ कि बोल्दैन भनेर पोलिग्राफ मेसिन राख्नुपर्ने बताएका थिए ।
सुदूरपश्चिममा शेरवहादुर देउवापछिको राष्ट्रिय नेताका रुपमा स्थापित हुँदै गरेका रावललाई मधेसवादी नेताहरु ओलीको अर्को रुप ठान्छन् । शीर्ष बैठकहरुमा रावल र मधेसी नेताहरुको घोचपेच र वादविवाद प्रायः भइरहन्छ ।
हुन त रावल एमालेभित्रको गुट राजनीतिमा माधव नेपाल पक्षका उपाध्यक्ष हुन् । तर, विपक्षीहरुसँगको व्यवहार र विशेष गरी मधेसी मोर्चासँग डिल गर्ने सन्दर्भमा उनी ओलीका अनुयायी हुन् । कतिपय अवस्थामा रावल ओलीभन्दा धेरै अघि बढेर मधेसवादी दलहरुसँग बहस गर्छन् ।
रावलमाथि मधेसीको आरोप के छ ?
संविधान निर्माणका बेला मेधसी मोर्चाले उठाएका मागहरुको रावलले कडा प्रतिवाद गरेका थिए । खासगरी कैलाली कञ्चनपुरलाई मधेसतिर गाभ्ने कुारको विरोध होस् या मधेसमा दुईवटा प्रदेश बनाउने विषय होस्, यसमा रावलले कडा प्रतिवाद गरेका थिए ।
त्यसैगरी मधेस आन्दोलनका बेला रक्षामन्त्री बनेका रावलले मधेसमा गोली चलाएको र चर्को दमन गरेको आरोप पनि मधेसी नेताहरुले लगाउने गरेका छन् । त्यसैगरी मधेसमा प्रहरी चौकीहरु स्थापित गर्ने, सशस्त्र प्रहरी परिचालन गर्ने र सरकारी कार्यालयहरु दक्षिणबाट राजमार्गतिर विस्तार गर्ने वा सार्ने कार्यमा पनि भीम रावलले भूमिका खेलेको मधेसी मोर्चाका नेताहरुको आरोप छ ।
रावल मधेस आन्दोलनलाई सुरक्षाकर्मी प्रयोग गरेरै ठीक लगाउनुपर्छ र उनीहरुसँग सम्झौता गर्नुहुँदैन भन्ने हार्डलाइनर नेता भएको मोर्चाका नेताहरुको आरोप छ ।
रावल भन्छन्- म मधेस र मधेसी जनताको पक्षमा उभिन्छु
मधेस र मधेसीका नाममा देशको अहित हुने अत्तो थाप्नेहरुसँग सम्झौता गर्नुपर्छ भन्नेमा म छैन
मधेसवादी दलहरुले भनेजस्तो भीम रावल मधेस बिरोधी हुन् त ? अछामबाट निर्वाचित भए पनि कैलालीलाई समेत राजनीतिक कर्मथलो बनाएका रावल मधेसी नेताहरुको आरोपलाई ठाडै अश्वीकार गर्छन् ।
मधेसवादी नेताहरुको आरोप अश्वीकार गर्दै रावल भन्छन्-म मधेस र मधेसी जनताको पक्षमा सधैं उभिन्छु । व्यक्तिगत रुपमा मधेसवादी नेताहरुसँग पनि मेरो कुनै समस्या छैन । तर मधेस र मधेसीका नाममा देशको अहित हुने अत्तो थाप्नेहरुसँग सम्झौता गर्नुपर्छ भन्नेमा म छैन ।
त्यसोभए मधेसवादी नेताहरुसँग तपाईको मात्रै पटक-पटक किन झगडा परिरहन्छ त ? अनलाइनखबरको प्रश्नमा रावलले भने- मेरो झगडा व्यक्तिसँग छैन । म देशको हितमा सैद्धान्तिक र नीतिगत कुरा राख्छु । त्यसो गर्दा कुनै व्यक्तिलाई सैहृय हुँदैन भने म चूप लाग्न सक्दिनँ ।
रावलले आफू मधेसको सामाजिक र सांस्कृतिक अवस्थाको जानकार रहेको बताएका छन् । उनले मधेसको नाममा राजनीति गर्नेहरुसँग सैद्धान्तिक र बैचारिक बहस गर्दा कसैलाई टाउको दुख्छ भने त्यो आफ्नो समस्या नरहेको बताए । रावलले भने- ‘समाजलाई अनिश्चयको भूँवरीमा धकेल्ने, साम्प्रदायिक विद्धेष फैलाएर जनतामा घृणा पैदा गर्ने र देशको स्वतन्त्र निर्णय गर्ने अधिकार बिरुद्ध अरुको इशारामा चल्नेहरुको त म सधैं आलोचना गर्छु । यसो गर्दा मधेस पहाड सबैतिरका जनता मेरो पक्षमा हुन्छन् भने अरुको चासो म लिन्न ।’
तपाई नभई मधेसी नेताहरु बैठकमै बोल्न छाडे नि भन्ने प्रश्नमा रावलको जवाफ छ-‘यसबाट म देशको पक्षमा दह्रै गरी उभिएको रहेछु भन्ने पुष्टि हुन्छ ।’
प्रतिक्रिया 4