Comments Add Comment

लखनउ पुगेर योगेशको प्रश्न- ‘काम नगर्ने’ भारतले फास्ट-ट्रयाकमा किन आँखा लगाएको ?

'तीस लाख भारतीयहरुले नेपालमा रोजगारी पाएका छन्'

yogesh bhattarai (1)२१ भदौ, लखनउ । नेकपा एमालेका सचिव योगेश भट्टराईले भारतले ‘होल्ड’ गरेका ठुला परियोजना निर्माण हुन नसक्नुले उसको नियतमाथि नै गम्भिर प्रश्न उठेको बताएका छन् ।

भारतीय सरकार र भारतीय कम्पनीहरुले पञ्चेश्वर वहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली, अरुण तेश्रो, हुलाकी राजमार्ग लगायतका परियोजना होल्ड मात्र गरेको उनले बताए ।

प्रवासी नेपाली संघ भारत, उत्तर प्रदेश राज्य समितिको आठौं सम्मेलनको उद्घाटन समारोहलाई लखनउको गान्धी भवनमा सम्बोधन गर्दै सचिव भट्टराईले भने, ‘भारतले होल्ड गरेका परियोजना नबनाउने अनि फेरी फास्ट-ट्रयाक लगायतका आयोजनामा किन आँखा लगाउँदैछ ?’

फास्ट-ट्रयाक नेपाल आफैले बनाउने भन्दै उनले यो परियोजना भारतलाई दिन नसकिने बताए । उनले फास्ट-ट्रयाकमा आँखा लगाउनुभन्दा होल्ड गरेका परियोजना बनाउन सुझाव दिए ।

सचिव भट्टराईले नेपाल भारतसँग भाषा, संस्कृति र दैनिक व्यवहारका आधारमा र चिनसँग व्यापारका मित्रताको साथै ऐतिहासिकका आधारमा सम्बन्ध रहेको बताए ।

तर, छोटे भाइ र बडे भाइका आधारमा कसैले कुरा गरे एमालेलाई मान्य नहुने बताए । उनले भने, ‘छोटे भाई र बडे भाइका आधारमा कसैले कुरा गर्छ भने एमाले त्यो मान्न तयार छैन । हामी भाइ-भाइ र मित्रका आधारमा सम्बन्ध सुदृढ गर्न चाहन्छौं ।’

सचिव भट्टराईले तीस लाखभन्दा बढी भारतीयहरुले रोजगारी पाएको उल्लेख गर्दै दुबै देश श्रमिकहरुका समस्याप्रति संवेदनशिल हुनुपर्ने बताए । ‘नेपालीहरु मात्रै भारतामा काम गरिरहेको छैनन् । ३० औं लाख भारतीयले पनि नेपालमा काम गरिरहेका छन् । दुवै देशका सरकारले छिमेकी देशका श्रमिकहरुका समस्याप्रति संवेदनशील हुनु पर्छ,’ उनले भनेका छन् ।

उनले भारतका लागि रेमिट्यान्स भित्रयाउने नेपाल पाँचौं मुलुक भएको उल्लेख गर्दै भारतको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा नेपाल पनि भएको बताए ।

भारतीय नाकाबन्दी ऐतिहासिक भुल

एमाले सचिव भट्टराईले नेपाली जनताले आफ्नो संबिधान आफै बनाउँदा भारतले नाकाबन्दी गर्नु ऐतिहासिक भुल भएको बताए ।

यो नाकाबन्दी भारतीयहरुको लागि भविश्यमा महङ्गो पर्ने उनको दाबी छ । ‘नेपालमाथि लागाईएको नाकाबन्दीको भारतीय नेताहरुले मृत्यु पछि पनि पाप पखाल्न सक्दैनन् । उनीहरुले पश्चाताप गरिरहनु पर्नेछ’ उनले भने ।

नेपाली जनताका प्रतिनिधिहरु संविधानसभावाट नेपालका लागि संविधान बनाएका तर मित्र राष्ट्का विरुद्ध एटम बम वा क्षेप्रास्त्र प्रहार नगरेको उनको भनाइ छ ।

प्रवासी नेपाली संघ भारत, उत्तर प्रदेश राज्य समितिको आठौं सम्मेलनले राजु थापाको नेतृत्वमा सर्वसम्मत रुपमा प्रवासी नेपाली संघ भरत उत्तर प्रदेश राज्य कमिटी निर्वाचित गरेको छ ।  संघको उपाध्यक्षहरु दिवाकर अधिकारी, कुलवहादुर थापा र दानवहादुर खड्का, सचिव रमेश आर्चाय, सह सचिव प्रेम जैगडी र संजय केसी, कोषाध्यक्ष तुल्सीराम पन्थी रहेका छन् ।

यस्तै सदस्यहरुमा नारायण कोइराला, गंगावहदुर कुवर, नरवहादुर राना, चन्द्र विक, डम्बर ताम्राकार, ज्ञानबहादुर थापा, लक्ष्मी रजाली र कृष्णमाया थापा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment