Comments Add Comment

झापाली विद्यार्थी भन्छन्, ‘सरकारले अनुमति दिए नेपालभर ‘वाइफाइ’ प्रवाह गर्न सक्छौं’

सुरुङ्गालाई 'वाइफाइ जोन' बनाए प्लस टू का विद्यार्थीले

Student-technology

सधै विभिन्न संघसंस्थाको औपचारिक कार्यक्रम र विवाह, ब्रतबन्धका अवसरहरुले भरिभराउ हुने ‘कनकाई अतिथि सदन’मा विहीबार भने वेग्लै दृश्य देखियो ।

विद्यार्थी खचाखच थिए । जिल्लाका विभिन्न क्षेत्रबाट आएका हुन्, ती विद्यार्थी । शैक्षिक क्षेत्रका प्रबुद्ध व्यक्तिको पनि उत्साहजनक उपस्थिति थियो । युवा वर्गको पनि बाक्लै सहभागिता थियो ।

लाग्थ्यो- कुनै ठूलै सभा गरिँदैछ । या त कोही चर्चित व्यक्ति भाषण दिँदैछन् ।

तर, न त त्यो कुनै सभा थियो । त न त्यहाँ कोही भाषण गर्न नै उपस्थित थिए । कार्यक्रमको उद्घाटनमा न त दिप प्रज्जवलन गरियो, न त रिबन नै काटियो ।

वास्तवमा स्थानीय विद्यार्थीहरुले बनाएको विज्ञान तथा प्रविधिसँग सम्बन्धित उपकरणहरुको प्रदर्शनी हेर्न आएकाहरुको भीड थियो त्यो ।

र, कार्यक्रमको उद्घाटन पनि कोठामा जडान गरिएको सिएफएल बत्तीलाई अनलाइनबाटै बालेर गरियो । उपस्थित दर्शक तीन छक खाए ।

यति मात्र होइन, कनकाई उच्च मावि, सुरुङ्गाको कक्षा १२ मा विज्ञान सङ्काय अन्तरगत अध्ययन गर्ने दिनेश ओलीको नेतृत्वमा रहेको समूहले बनाएका अन्य विभिन्न उपकरणहरुको प्रयोग दर्शकहरुलेे चाख मानेर हेरे ।

समूहले उद्घाटनमै देखाएको रोचक प्रविधिबाट उत्साहित भएका दर्शकहरु एकपछि अर्को गर्दै उपकरणहरु सार्वजनिक भइरहँदा अझ चासो दिइरहेका देखिन्थे ।

औपचारिक रुपमा प्रर्दशनी सुरु भएपछि पहिले देखाइयो- नानो इन्टरनेट सर्भर ।

जसको माध्यमबाट सभाहलको ३ किलोमिटर वरिपरि निःशुल्क इन्टरनेट ‘सर्फ’ गर्न मिल्यो ।

जवजव टोलीका नेतृत्वकर्ता ओली यो उपकरणको उपयोगिताको बारेमा भन्दै जान्थे, विद्यार्थीबाट तालीको वषर्ा हुन्थ्यो ।

‘यो उपकरणलाई व्यापक बनाउने हो भने कनकाई नगरपालिकालाई नै ‘फ्रि वाइफाइ जोन’बनाउन सकिन्छ’, नेतृत्वकर्ता ओलीले कार्यक्रममा आफ्नो उपकरणको बारेमा जानकारी दिँदै भने, ‘यसले हाम्रो समाजलाई डिजिटल बनाउने छ ।’

Student-technology-1

कसरी काम गर्छ ‘नानो’ इन्टरनेट सर्भरले ?

विद्यार्थीहरुले बनाएको ‘नानो इन्टरनेट सर्भर’ बाट नेटवर्क प्रवाह भएपछि उपस्थित अवलोकनकर्ताहरुको आ-आफ्नो एन्ड्रोइड सेटमा ‘वाइफाइ अन’ गर्न लगाइयो ।

मोवाइलमा ३ वटा वाइफाइ सिग्नल देखियो, ‘ओली वाइफाइ’, ‘सुरुङ्गा सर्भर’ र ‘सुरुङ्गा’ । तीनमध्ये कुनै एकमा कनेक्ट गर्न भनियो ।

कनेक्ट भयो । र, प्रोजेक्टरमार्फत एउटा ‘वेव लिङ्क’ देखाइयो । जुन लिङ्कभित्र गएपछि देश विदेशका समाचार, सूचना, गीत, अडियो, भिडियो लगायत देखियो ।

साथै, त्यसबाटै च्याट गर्न मिल्ने प्रविधि पनि रहेछ । सबैले यो नेटवर्क कनेक्ट गरेर दिइएको लिङ्क खोलेपछि त्यस नेटवर्कभित्र निःशुल्क फोन, एसएमएस र च्याट गर्न सकिन्छ ।

यति मात्र होइन, त्यहीँबाट सुरुङ्गाको मौसमको विवरण समेत देखाइयो ।

Dinesh-Oli
बिद्यार्थी टोलीका नेतृत्वकर्ता दिनेश वली

अन्य ३ उपकरण

विद्यार्थीहरुले अन्य तीन उपकरणको पनि सफल परिक्षण गरी देखाए । विज्ञान तथा प्रविधिसँग सम्बन्धित ती उपकरणहरुले उपस्थित सबैको ध्यान खिच्यो ।

देखाइएका अन्य उपकरणहरुमा स्मार्ट लाइटिङ सिस्टम, उच्च सतर्कता सुरक्षा प्रणाली र मौसम स्टेशन प्रविधि थिए ।

स्मार्ट लाइटिङ सिस्टमकै प्रयोगबाट कार्यक्रम उद्घाटन गरिएको हो । यो सिस्टममा ‘रिले स्वीच’ को प्रयोग गरिएको छ । माइक्रो कन्ट्रोलरमा ‘प्रोग्रामिङ’ गरेर तयार पारिएको हो यो उपकरण ।

कन्ट्रोलरलाई चलाउन अनलाइन या मोबाइलबाट सिग्नल दिनुपर्छ । र, हामीले चाहे बमोजिमको बत्ती बाल्न सक्छौं ।

त्यस्तै, उच्च सतर्कता प्रणालीले कोही व्यक्ति यो उपकरण राखिएको ठाउँमा आएर केही सामान उठाउँछ वा चलाउँछ भने सूचना दिन्छ ।

त्यहाँबाट वेग्लै आवाज निस्किन्छ । यसरी यो उपकरणले मानिसलाई सर्तक बनाउँछ ।

विद्यार्थीहरुले स्थानीय स्रोत र साधनको प्रयोगबाट मौसम स्टेशन पनि बनाएका छन् । जसको माध्यमबाट सुरुङ्गाको मौसम बारे सम्पूर्ण विवरण पाइन्छ ।

यो विवरणलाई विद्यार्थीहरुले आफूहरुको नेटवर्कमा दैनिक ‘अपलोड’ गराइराख्छन् ।

नाष्टका अनुसन्धानकर्ताको पनि प्रस्तुति

प्रदर्शनीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि अनुसन्धानकर्ता सुमन पौडेल पनि उपस्थित थिए ।

उनले दिनेश ओलीलाई प्राविधिक विषयमा पनि सहयोग गरेका थिए । उनैले दिनेशलाई प्रविधिको विषयमा प्रशिक्षण दिएका हुन् ।

उनले स्मार्ट स्कुल सिस्टमको देखाए । विद्यार्थी विद्यालयमा आए नआएको दैनिक विवरण अभिभावकलाई एसएमसमार्फत जानकारी दिने यो उपकरण शिक्षा क्षेत्रको लागि ज्यादै उपयोग देखियो ।

‘डाटवेस’ मा कुनै विद्यालयका विद्यार्थीहरुको विवरण राखियो । साथै, उनीहरुको अभिभावकको फोन नम्बर र इमेलसहितको जानकारीको रेकर्ड पनि सङ्ग्रह गरियो । र, प्रत्येकलाई एक/एक वटा स्मार्ट कार्ड दिइयो ।

उनीहरुले त्यो कार्डलाई आफ्नो कक्षा कोठामा प्रवेश गर्ने वित्तिकै एउटा डिभाइसमा एकछिन देखाए । र, भित्र छिरे ।

त्यसको एकदेखि तीन मिनेटभित्र अभिभावकको फोनमा आफ्नो छोरा/छोरी कक्षा कोठामा प्रवेश गरेको जानकारी आयो । इमेलमा पनि सोही व्यहोराको सन्देश आयो ।

‘यो प्रविधिले अब अभिभावकहरुलाई आफ्नो छोराछोरीको निगरानी गर्न सजिलो हुने रहेछ’, शिक्षक तीर्थराज खरेलले भने, ‘अब छोराछोरी के गर्दैछन् भन्ने सबै जानकारी अभिभावकहरुले घरमै बसेर पाउने भए ।’

सरकारले अनुमति दिए नेपालभर

अहिले ३ किलोमिटरको क्षेत्रमा सीमित वाइफाइको यो उपकरणलाई सरकारले अनुमति दिए नेपालभरि नै सञ्चालन गर्न सकिने टोलीका नेतृत्वकर्ता विद्यार्थी ओली दावी गर्छन् ।

उनीले सबैबाट सहयोग प्राप्त भए चाँढै कनकाई नगर क्षेत्रभरि यसलाई विस्तार गर्न सकिने बताए ।
विद्यार्थीहरुले प्रयोग गरेर देखाएका ‘नानो इन्टरनेट सर्भर’ उपकरण विश्वको लागि नौलो नभए पनि नेपालको हकमा भने नयाँ भएको नास्टका प्रतिनिधि पौडेलको भनाइ छ ।

उता, विद्यार्थीहरुले तयार पारेको यो प्रविधिलाई अझ धेरै क्षेत्रफलमा फैलाउन सकिने हो भने यसबाट ठूलो लाभ लिन सकिने कुरालाई मध्यनजर गर्दै आफूहरुले सहयोग गरेको कार्यक्रम संयोजक ज्ञान ज्योति युवा क्लबका अध्यक्ष नविन सेढाईँले बताए ।

यी ३ वटा उपकरण बनाउन १ लाख २५ हजार रुपैयाँ खर्च भयो । कनकाई उच्च मावि, ज्ञान ज्योति युवा क्लब र स्थानीय संघसंस्थाहरुको सहयोगमा यो रकम सङ्कलन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment