Comments Add Comment

दशैंमा पुज्ने देवीको मूर्ति बनाउन भ्याइ नभ्याई

Debi_Murti

५ असोज, चन्द्रौटा । भारत विहारका अनिल कुमार गुप्ता अहिले मूर्ति बनाउन कपिलवस्तुको कृष्णनगर आएका छन् । कृष्णनगर नगरपालिकाको छोट्की गुरचिहवामा त्रिपाल मुनि उनीसहित भारतीय चारजना कालिगढ मूर्ति बनाउन व्यस्त छन् । कोही मूर्तिहरुमा रंग रोगन गर्दैछन् भने कोही देव देवीका बाहन र उनीहरुले प्रयोग गर्ने अस्त्रको व्यवस्था गरिरहेका छन् ।

कसैसँग कुरा गर्ने वा अलमलिने फुर्सद छैन उनीहरुलाई । किनकी हिन्दुहरुको महान चाड दशैं आउन केही हप्तामात्र बाँकी छ ।

‘काम नगरी खान मिल्दैन । सिजनमा पाइएको काम गर्नै पर्‍यो,’ पसिनाले निथ्रुक्कै भिजेका बिहारको मुगेर जिल्ला घर भएका अनिलले भने ।

निलो त्रिपाल मुनि दुर्गा, लक्ष्मी, गणेश, कार्तिके, बाघ, मुसा, राँगा, सर्प र देवी देवताका मूर्ति तयार भइरहेका छन् । दिउँसोको १२ बज्नै लागेको थियो । अब त खाना खानुस् भन्दै थिए अनिलका १६ वर्षीय छोरा रमेश गुप्ताले । तर, रमेशको प्रश्नको कुनै जवाफ नफर्काई एकोहोरो दुर्गा देवीको पेन्टिङमा व्यस्त थिए अनिल ।

 

Debi-Murti-Paintingव्यस्त नहोउन् पनि किन । दुई हप्तामा एक सयभन्दा बढी मूर्ति तयार गर्नु छ अनिलको टोलीलाई । कपिलवस्तुका विभिन्न गाउँमा मूर्ति बनाउने अर्डर पाएका छन् उनीहरुले । ‘२० सेट मूर्ति बनाउन अर्डर आएको छ,’ अनिलले भने ।

एक सेट मूर्ति तयार पार्न भारतीय १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरेको भारत विहारबाट मूर्ति बनाउन आएका दिपक गुप्ताले बताए ।

कपिलवस्तुका बहादुरगञ्ज, कृष्णनगर, चन्द्रौटा, महाराजगञ्ज, भलवारी, थुन्हिया, पकडी, तौलिहवा लगायतका ठाउँमा अहिले भारतका विभिन्न ठाउँबाट आएका मूर्तिकारहरु दशैंको नवदूर्गामा पूजिने देवीहरुको मूर्ति बनाउन व्यस्त छन् ।

मूर्ति बनाउन माटो, पराल, काठ र विभिन्न किसिमका रंगहरु प्रयोग गर्ने गरेको दिपकले बताए ।

दशैंमा शक्ति स्वरुपा देवी दूर्गाको पूजा गर्ने परम्परा छ । असुरी शक्तिमाथि दैवी शक्तिको विजयी भएको धार्मिक कथनअनुसार घरमा र शक्तिपीठहरुमा देवीलाई पुज्ने गरिन्छ । तराईका जिल्लाहरुमा सार्बजनिक स्थलमा देवीको थान स्थापना गरेर दशैंभर भजनकीर्तन गर्दै पूजा गरिन्छ ।

त्यसैले कपिलवस्तुका विभिन्न व्यक्तिहरु आफ्नो गाउँ शहरमा देवीको मूर्तिको स्थापना गर्न व्यस्त छन् । अहिले भारतीय कालिगढहरुले बनाएका मूर्तिहरु धमाधम बुकिङ शुरु भैसकेको छ ।

‘यदि अहिले नै बुकिङ नगर्ने हो भने, पूजाको बेला मूर्ति पाउन गाह्रो हुन्छ,’ स्थानीय मल्लु दासले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment