Comments Add Comment

नेपालको शान्ति प्रक्रियाबाट सिक्न चाहन्छन् विश्वका द्वन्द्वग्रस्त मुलुक

prakash saran mahat७ असोज, न्युयोर्क। नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको पछिल्लो अवस्थाबारे विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरुले विशेष चासो राखेका छन् ।

संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिन आएको नेपाली प्रतिनिधिमण्डलसँग विशेषगरी नेपालको मौलिक एवम् अनुकरणीय शान्ति प्रक्रियाका बारेमा द्वन्द्वग्रस्त मुलुकका प्रतिनिधिले विशेष चासो राखेका हुन् ।

नेपालका राजनीतिक दलको सहमतिमा अगाडि बढेको शान्ति प्रक्रियाले एक हदसम्म पूर्णता पाइसकेको र द्वन्द्वोत्तर समयका केही विषयमा अझै अध्ययन तथा अनुसन्धान, पीडितलाई क्षतिपूर्ति तथा राहतको प्रक्रियासमेत सुरु भएको छ ।

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर न्युयोर्क आइपुग्नुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग द्विपक्षीय भेटवार्ता गरेका विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको विषयमा नै विशेष चासो राखेका थिए ।

संयुक्त राष्ट्र सङ्घको सहयोगमा अघि बढेको नेपालको शान्ति प्रक्रिया र पछिल्लो पटक विगतमा द्वन्द्वरत दुवै पक्ष नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का बीचमा भएको सहमति र सहकार्यले शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउन लागेको छ ।

परराष्ट्रमन्त्री डा महतसँग विहिबार भएको भेटमा विशेषगरी कोलम्बियाका परराष्ट्रमन्त्री मारिया एन्जेला होल्गुइन कोयरले नेपालको शान्ति प्रक्रिया कसरी अगाडि बढ्यो र निष्कर्षमा कसरी पुग्यो भन्ने बारेमा विशेष चासो राखेका हुन् ।

परराष्ट्रमन्त्री डा महतले भने, “नेपालको शान्ति प्रक्रियाका बारेमा कोलम्बियाका विदेशमन्त्रीले विशेष चासो राखेर सोधखोज गर्नुभयो र नेपाल भ्रमण गरेर थप जानकारी लिने बताउनुभएको छ ।” विगत ६० वर्षदेखि द्वन्द्वमा रहेको कोलम्बियामा सरकार र विद्रोही फार्क समूहबीच विगत केही महिनादेखि शान्ति प्रक्रिया अगाडि बढेको छ ।

कोलम्बियालाई सफलरुपमा शान्तिको मार्गमा हिँडाउनका लागि पनि नेपालको अनुभव अनुकरणीय हुन सक्ने विदेशमन्त्रीको भनाइ थियो । नेपालको शान्ति प्रक्रियाका पक्षलाई विशेषगरी विश्वका विभिन्न मुलुकले सिक्न लागिपरेको र भ्रमणको समेत इच्छा व्यक्त गरेका छन् ।

विशेषगरी संयुक्त राष्ट्र सङ्घका महासचिव वान कीमुनको विशेष साथ र सहयोगका कारण पनि नेपालको शान्ति प्रक्रिया अगाडि बढेको हो ।

यस्तै, मङ्गोलिया, सर्बिया लगायतका मुलुकका प्रतिनिधिले पनि नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् संविधान निर्माण पछिको अवस्थाका बारेमा परराष्ट्रमन्त्रीसँग विशेषरुपमा नै चासो राखेको र उनीहरुले नेपालबाट केही न केही सिकौँ र आफ्नो मुलुकमा त्यसलाई लागू गराँै भन्ने मानसिकताका साथ चासो राख्ने गरेको परराष्ट्र सचिव शङ्करदास बैरागी बताउछन् ।

यस्तै, परराष्ट्रमन्त्री डा महत र पाकिस्तानका प्रधानमन्त्री नवाब सरिफ बीचको भेटवार्तामा समेत नेपालको पछिल्लो अवस्थाका बारेमा चासो राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment