News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट आन्दोलनको विघटन विचारको बन्ध्याकरण, लोकतान्त्रिक अभ्यासको अभाव, जनताबाट विच्छेद, व्यक्तिपूजा र सत्ताको निजीकरणको संयुक्त परिणाम भएको छ।
- लेखले पुनर्गठनका लागि खुला बहस, नियमित आन्तरिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता, तल्लो तहबाट निर्देशित नेतृत्व र जनजीविकामा आधारित राजनीति आवश्यक भनेको छ।
- माओवादी आन्दोलनमा सैन्यकरण, शान्ति प्रक्रियापछिको अधुरो रूपान्तरण, संविधान कार्यान्वयनको कमजोरी र समावेशिताको नारालाई व्यवहारमा उतार्न नसक्नु पनि प्रमुख कमजोरीका रूपमा औँल्याइएको छ।
नेपाली कम्युनिस्ट आन्दोलनको सङ्कट केवल सङ्गठन विभाजन वा चुनावी पराजयको परिणाम होइन। वैचारिक जडता, खुला बहसको अभाव, जनताबाट विच्छेद, व्यक्तिपूजा, नोकरशाही केन्द्रीयता, सत्ताको निजीकरण र माओवादी आन्दोलनको शान्तिपूर्ण रूपान्तरणमा देखिएका कमजोरीले आजको विघटन गहिरिएको हो। पुनर्जीवनका लागि समाजवादी लोकतन्त्र, जनजीविका, मौलिक नेपाली दृष्टिकोण र जवाफदेही सङ्गठनात्मक संस्कार आवश्यक छ।
१. ऐतिहासिक पृष्ठभूमि : सपना ठूलो, व्यवहार कठिन
नेपालमा कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भयो। त्यसयता कम्युनिस्ट आन्दोलनले किसान, मजदुर, उत्पीडित वर्ग, जाति, समुदाय, क्षेत्र र लिङ्गका अधिकारका पक्षमा महत्त्वपूर्ण सपना र सङ्घर्ष अघि बढायो। सामन्ती संरचना, निरङ्कुश राजतन्त्र, एकात्मक राज्यसत्ता, सामाजिक विभेद र आर्थिक असमानता विरुद्ध उठाइएका मुद्दाहरू नेपाली समाजका लागि ऐतिहासिक थिए।
तर सपना आफैं पर्याप्त हुँदैन। त्यसलाई व्यवहारमा बदल्ने नीति, योजना, उत्पादन, सङ्गठन, नेतृत्वको आचरण र जनताप्रतिको उत्तरदायित्व आवश्यक हुन्छ। जनताले सुन्ने सपना र भोग्ने जीवन बीच दूरी बढ्दै जाँदा कम्युनिस्ट आन्दोलनप्रतिको विश्वास कमजोर भयो।
२. वैचारिक जडता र सिर्जनात्मक सोचको निषेध
समाज, उत्पादन, प्रविधि, वर्ग संरचना र जनताको चेतना परिवर्तनशील छन्। पुराना सूत्रलाई यान्त्रिक रूपमा दोहोर्याएर नयाँ समाज निर्माण गर्न सकिंदैन। मार्क्सवाद, लेनिनवाद र माओवादलाई अध्ययन, अनुसन्धान र सिर्जनात्मक प्रयोगको ‘खुला परम्परा’ का रूपमा ग्रहण गर्नुपर्नेमा कतिपय अवस्थामा ‘राजनीतिक ब्यानर र नेतृत्वको वैधता जोगाउने साधन’ बनाइयो।
प्रश्न, फरक मत र नयाँ निष्कर्षलाई नेतृत्वविरोधी ठानियो। विचारको विकास हुनुपर्ने ठाउँमा विचारमाथि नियन्त्रण भयो। विचार श्रम, अध्ययन, उत्पादन, अनुसन्धान र सामाजिक अनुभवबाट विकसित हुन्छ; केवल आदेशबाट होइन।
३. खुला बहस, आन्तरिक निर्वाचन र अभिव्यक्ति स्वतन्त्रताको अभाव
रोजा लक्जेम्बर्गले जोड दिए झैं खुला बहस, चुनाव र अभिव्यक्ति स्वतन्त्रता विना सार्वजनिक जीवन सुक्दै जान्छ। पार्टीभित्र तल्लो तहका सदस्यलाई माथिल्लो आदेश पालना गर्ने अङ्गमा सीमित गरियो भने उनीहरू ‘राजनीतिक निर्माता’ नभई ‘आदेशका वाहक’ मात्र बन्छन्।
नियमित र निष्पक्ष आन्तरिक निर्वाचनको अभाव, आलोचनालाई गुटबन्दी ठान्ने प्रवृत्ति र फरक मतमाथिको नियन्त्रणले ‘गलत निर्णय सच्याउने क्षमता’ कमजोर बनायो। यसरी पार्टी सदस्यको सिर्जनात्मकता र राजनीतिक स्वायत्तता घट्दै गयो।
४. माओवादी आन्दोलनका विशेष कमजोरीहरू
क. सशस्त्र सङ्घर्षको सैन्यकरण र राजनीतिक बहसको सङ्कुचन
माओवादी आन्दोलनले सामन्ती राज्य संरचना, राजतन्त्र, सामाजिक विभेद र बहिष्करण विरुद्ध महत्त्वपूर्ण प्रश्न उठायो। महत्त्वपूर्ण उपलब्धिहरू पनि हासिल भए। तर सशस्त्र सङ्घर्षको लामो चरणमा ‘सैन्य अनुशासन र कमान्ड संरचना’ पार्टी जीवनमा अत्यधिक हावी भयो। सैन्य गोपनीयता र आदेशको आवश्यकता क्रमशः राजनीतिक बहस र आलोचनात्मक संस्कारमाथि पनि लागू हुन थाल्यो।
युद्धकालमा आवश्यक हुनसक्ने केन्द्रीकरण ‘शान्ति र लोकतान्त्रिक राजनीतिमा प्रवेश गरेपछि’ पुनर्संरचना हुनुपर्ने थियो। तर युद्धकालीन सोच, नेतृत्व शैली र आदेशमुखी संस्कार पर्याप्त रूपमा बदलिन सकेन। यसले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धा, पारदर्शिता र आन्तरिक लोकतन्त्रलाई कमजोर बनायो।
ख. युद्धका उपलब्धि र सीमाको वस्तुवादी समीक्षा नहुनु
युद्धले गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय र उत्पीडित समुदायका प्रश्नलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्यायो। तर युद्धकालीन निर्णय, हिंसा, विस्थापन, जनअधिकार सम्बन्धी प्रश्न, नागरिक क्षति र सङ्गठनात्मक कमजोरीको ‘निष्पक्ष समीक्षा’ हुन सकेन।
उपलब्धिको गौरव आवश्यक छ; तर कमजोरी नसच्याउने संस्कारले आन्दोलनलाई ‘आत्मसमीक्षाबाट वञ्चित’ गर्छ। इतिहासको सम्मान भनेको आफ्ना त्रुटिलाई लुकाउनु होइन; सत्य स्वीकारेर भविष्य सुधार्नु हो।
ग. शान्ति प्रक्रियापछिको राजनीतिक रूपान्तरण अधुरो रहनु
शान्ति प्रक्रियामा प्रवेश गरेपछि माओवादी आन्दोलनले आफ्नो सङ्गठन, नेतृत्व, भाषा, प्राथमिकता र कार्यशैलीलाई लोकतान्त्रिक प्रतिस्पर्धा अनुकूल पुनर्गठन गर्नुपर्ने थियो। जनमुक्ति सेना, क्यान्टोनमेन्ट, सङ्क्रमणकालीन न्याय, पीडित परिवार, पूर्वलडाकु, जनसङ्गठन र स्थानीय संरचनालाई पारदर्शी तथा लोकतान्त्रिक ढङ्गले रूपान्तरण गर्नुपर्ने चुनौती थियो।
तर युद्धकालीन गौरव, नेतृत्वकेन्द्रित निर्णय, सत्ता समीकरण र तत्कालीन राजनीतिक लाभमा लिप्त हुनुले ‘दीर्घकालीन संस्थागत रूपान्तरण’ लाई पछाडि पार्यो। शान्ति प्रक्रियामा शहीद परिवार, बेपत्ता परिवार, घाइते, विस्थापित र पूर्वलडाकुको प्रश्न पूर्ण रूपमा समाधान हुन नसक्दा असन्तुष्टि बढ्यो।
घ. क्रान्तिकारी नाराबाट सत्ता व्यवस्थापनसम्मको विचलन
युद्धका बेला उठाइएका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक र सांस्कृतिक प्रश्नहरू सत्ता प्राप्तिपछि निरन्तर ‘जननीति’ मा रूपान्तरण हुन सकेनन्। सरकारमा पुगेपछि राज्य सञ्चालन, बजेट, नियुक्ति, ठेक्का, प्रशासन र विकास आयोजनामा पारदर्शी तथा जनपक्षीय मापदण्ड स्थापित गर्न नसक्दा आन्दोलनको नैतिक उचाइ कमजोर भयो।
जनताको मुक्तिका लागि प्राप्त सत्ता ‘सीमित नेतृत्व, गुट, परिवार, दलाल र आर्थिक स्वार्थ समूहको संरक्षणमा प्रयोग भएको’ अनुभूति पैदा भयो। यसले माओवादी आन्दोलनको जनाधार र विश्वसनीयता कमजोर बनायो।
ङ. पार्टी एकता र विभाजनमा विचारभन्दा पद तथा गुटको प्रभाव
कम्युनिस्ट एकता र विभाजन ‘वैचारिक बहस, कार्यक्रम तथा जननीतिका आधारमा’ हुनुपर्ने हो। तर कतिपय अवस्थामा पद, नेतृत्वको निकटता, गुटीय स्वार्थ र सत्ता समीकरणले विचारलाई ओझेलमा पार्यो। पार्टी एकता हुँदा साझा कार्यक्रम, सङ्गठनात्मक लोकतन्त्र र वैचारिक स्पष्टता निर्माण हुन सकेन; विभाजन हुँदा पनि जनताका मुद्दाभन्दा ‘नेतृत्वको आरोप–प्रत्यारोप’ प्रमुख बने।
च. समावेशिताको नारालाई व्यवहारमा रूपान्तरण गर्न नसक्नु
माओवादी आन्दोलनले महिला, दलित, जनजाति, मधेशी, थारू, मुस्लिम र पिछडिएका क्षेत्रका प्रश्न उठायो। तर सङ्गठन, नेतृत्व, स्रोत वितरण र निर्णय प्रक्रियामा ती समुदायको दीर्घकालीन स्वायत्तता र वास्तविक निर्णायक भूमिका सुनिश्चित गर्न सकेन। समावेशी प्रतिनिधित्व कतिपय अवस्थामा प्रतीकात्मक, निर्वाचनमुखी वा नेतृत्वको कृपामा आधारित देखियो।
छ. संविधानको कार्यान्वयन
आफ्नै हातमा सत्ता हुँदा पनि सङ्घीयता कार्यान्वयन गर्ने कुरामा एकदमै कञ्जुस्याइँ गरियो। प्रदेशलाई प्रहरी हस्तान्तरण गर्ने, स्थानीय तहलाई थप बजेट दिने जस्ता कुराहरूलाई नीतिगत रूपमा र व्यवहारमा कार्यान्वयनतिर लगिएन। संविधानले भने अनुसारको ‘स्वायत्तता’ संविधानमै सीमित रह्यो। प्रदेशका नामकरणमा गरिएका छलछाम र निजामती ऐनका सन्दर्भमा गरिएको खेलबाडबाट प्रदेशले आफ्नो अधिकार गुमायो। संविधान कार्यान्वयनका सन्दर्भमा गर्न सम्भव कुराहरू पनि गर्ने इच्छाशक्ति देखिएन।
ज. स्थानीय जनजीवन र आर्थिक उत्पादनबाट दूरी
राजनीतिक परिवर्तनलाई उत्पादन, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोड्नुपर्ने थियो। तर राजनीतिक सङ्गठन विस्तार, सत्ता समीकरण र कार्यक्रमगत भाषणले जनताको दैनिक जीवनका ‘ठोस प्रश्न’ लाई पछाडि पार्यो। उत्पादन, श्रम, अध्ययन र अनुसन्धानप्रति पर्याप्त ध्यान नदिई कमिसन, ठेक्का, पद र राजनीतिक संरक्षणतर्फ झुकाव बढ्दा ‘आन्दोलनको जनपक्षीय चरित्र’ कमजोर भयो।
५. नोकरशाही केन्द्रीयता, व्यक्तिपूजा र सत्ताको निजीकरण
उत्पीडित वर्गको हितमा ‘राज्यसत्ताको आवश्यकता’ देखाउने अवधारणा व्यवहारमा ‘सीमित नेतृत्वको नोकरशाही नियन्त्रणमा’ बदलिंदा पार्टी जीवन सुक्छ। माथिबाट तल आदेश जाने र तलबाट माथि आफ्नै गुनासाहरू मात्र जाने संस्कारले सदस्यलाई राजनीतिक अगुवाभन्दा ‘अनुशासित कर्मचारी’ मा बदल्यो।
नेतृत्वको आलोचना गर्न नसकिने, फरक मत राख्न नपाइने, प्रशंसकलाई प्राथमिकता दिने र राज्यसत्ताको प्रयोग गरी असहमति दबाउने प्रवृत्तिले विचारको बन्ध्याकरण गर्यो। नेताहरू जनसेवकभन्दा मठाधीशका भक्तका रूपमा रूपान्तरण हुन थाले। सत्ता जनताका लागि हुनुपर्नेमा ‘सीमित नेतृत्वका लागि प्रयोग हुनुको पछाडि’ यही विचारहीनता, आलोचनाको निषेध र भक्ति संस्कृतिको ठूलो भूमिका रह्यो।
६. नेपाली मौलिकता र सभ्यताको उपेक्षा
नेपाली कम्युनिस्ट आन्दोलनले नेपालको आफ्नै सभ्यता, ज्ञान, श्रम परम्परा, स्थानीय अर्थतन्त्र र सांस्कृतिक विविधतामा टेकेर ‘विचार विकास गर्न’ पर्याप्त ध्यान दिएन। बहुजातीय, बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक र बहुपर्यावरणीय नेपालका विशेषताहरूलाई ‘समाजवादी विचारको मौलिक स्रोत’ बनाउन सकेन।
मार्क्सवाद, लेनिनवाद र माओवादको ब्यानर बोकेर पनि ऐतिहासिक भौतिकवादी दृष्टिले नेपाली समाजको विश्लेषण गर्ने र द्वन्द्वात्मक विधिबाट समस्याको समाधान खोज्ने अभ्यास कमजोर रह्यो। परिणामतः सिद्धान्तको विज्ञापन भयो; तर विचारको विकास र व्यावहारिक रूपान्तरण भएन।
७. विश्व सन्दर्भ : पूँजीवाद, युद्ध, वातावरण र प्रविधि
आज पूँजीवादका विभिन्न रूप सर्वसत्तावादी राष्ट्रवाद, युद्ध अर्थतन्त्र, हतियार होड र ‘सीमित शक्तिशाली वर्गको नियन्त्रणतर्फ’ उन्मुख छन्। पर्यावरणीय सङ्कट, युद्ध, क्षेप्यास्त्र, बम र मानवभन्दा सक्षम ‘सुपर–इन्टेलिजेन्ट एआई’ बनाउने होडले विज्ञान ‘मानव कल्याणका लागि प्रयोग हुन्छ कि नियन्त्रण र विनाशका लागि ?’ भन्ने प्रश्न उठाएको छ।
यस अवस्थामा समाजवाद र लोकतन्त्रको महत्त्व बढेको छ। समाजवादले ज्ञान, विज्ञान, सहअस्तित्व, मानवतावादी मूल्य र प्रविधिलाई मानव कल्याणका लागि प्रयोग गर्ने नीति लिनुपर्छ। यसको केन्द्रमा श्रमिक, किसान, युवा, महिला, उत्पीडित समुदाय र आमजनताको दैनिक जीवन हुनुपर्छ।
८. चीनबाट लिन सकिने पाठ, तर यान्त्रिक नक्कल होइन
चीनले गरिबी न्यूनीकरण, उत्पादन, अनुसन्धान, प्रविधि, पूर्वाधार, शिक्षा, राष्ट्रिय क्षमता र दीर्घकालीन योजनामा प्रगति गरेको छ। आफ्नो सभ्यता, अनुशासन, देशभक्ति, शिक्षा र विकास अनुभवमा आधारित मोडल बनाउने प्रयास गरेको छ। नेपाली कम्युनिस्टहरूले त्यहाँबाट अध्ययन, अनुसन्धान, उत्पादन, प्रविधि र दीर्घकालीन योजनाका पाठ लिन सकिन्थ्यो; त्यसतर्फ सोचिएन। तर कुनै पनि राजनीतिक मोडललाई जस्ताको तस्तै नक्कल गर्नुहुँदैन।
नेपालको समाजवादी विचार विविध सभ्यताको जगमा रहेका बहुजातीय, बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक र लोकतान्त्रिक परिवेशमा आधारित हुनुपर्छ।
९. विघटनका प्रमुख प्रभाव
- जनतामा राजनीतिक वितृष्णा र अविश्वास बढेको छ।
- युवा पुस्तामा निराशा, हतोत्साह र पलायन बढेको छ।
- उत्पीडित वर्ग तथा समुदायका मुद्दा ‘सत्ता समीकरणमा’ सीमित भएका छन्।
- लोकतन्त्र, समाजवाद र जनपक्षीय राजनीति बीचको सम्बन्ध कमजोर भएको छ।
- व्यक्तिगत गुट, परिवार र सीमित नेतृत्वको प्रभाव बढेको छ।
- आन्दोलनको ठाउँ ‘चुनावी व्यवस्थापन र सत्ता साझेदारीले’ लिएको छ।
- भ्रष्टाचार, कमिसन, दलाली र नोकरशाहीप्रति जनआक्रोश बढेको छ।
- उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका एजेन्डाहरू बेवारिस भएका छन्।
१०. पुनर्गठनको बाटो : समाजवादी लोकतन्त्र
नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट जीवित पार्नुको विकल्प छैन। तर पुराना अभ्यास, उही नेतृत्व, उस्तै संस्कारमा फर्केर ‘पुनर्गठन सम्भव’ छैन। समाजवादी लोकतन्त्र ‘वैज्ञानिक समाजवादको अन्तर्वस्तु र नेपाली विशेषतामा’ आधारित हुनेछ। यसका लागि पार्टीभित्र र समाजमा समाजवादी लोकतन्त्रको अभ्यास अपरिहार्य छ।
१. खुला बहस, नियमित आन्तरिक निर्वाचन र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्ने। २. तल्लो तहका सदस्य र जनताबाट निर्देशित नेतृत्व निर्माण गर्ने। ३. फरक विचारलाई दमन होइन, बहस र परीक्षणको अवसर दिने। ४. नेतृत्वको मूल्याङ्कन निकटता होइन; ज्ञान, श्रम, परिणाम, जनसम्बन्ध र नैतिक आचरणका आधारमा गर्ने। ५. व्यक्तिपूजा, परिवारतन्त्र, गुटतन्त्र र मठाधीश प्रवृत्तिको अन्त्य गर्ने। ६. युवालाई नीति निर्माण र नेतृत्वमा वास्तविक स्थान दिने। ७. जनजीविकाका प्रश्नबाट नयाँ राजनीतिक आन्दोलन निर्माण गर्ने। ८. राजनीतिक सत्ताको बलमा आमजनताको साथमा आर्थिक रूपान्तरण र सो अनुरूपको सांस्कृतिक धरोहर निर्माण गर्दै अगाडि बढ्ने। ९. मार्क्सवादी विज्ञानलाई आजको वस्तुगत परिस्थिति र प्रविधिको चमत्कारपूर्ण विकास समेतका आधारमा विकसित गर्ने।
११. समाजवादी लोकतन्त्रका आधारभूत विषय
१. बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कृति, विविध पहिचान र पर्यावरणीय विविधताप्रति सम्मान, संरक्षण र समावेशी विकास।
२. नेपालका विभिन्न सभ्यताबाट विकसित ज्ञान, संस्कृति, श्रम परम्परा र आर्थिक विशेषताको समायोजन।
३. प्राकृतिक स्रोत र युवा जनशक्तिको उत्पादनमुखी तथा दिगो उपयोग।
४. जनताप्रति जवाफदेही सरकारी संरचना, विज्ञानसम्मत शिक्षा, देशभक्ति, नैतिक शिक्षा र सुशासन।
५. कृत्रिम बुद्धिमत्ता, सूचनाप्रविधि र विज्ञानलाई मानव कल्याणका लागि प्रयोग गर्ने नीति।
६. कार्यकारी, व्यवस्थापिका र न्यायपालिका सीमित वर्ग होइन; आमजनता र उत्पीडित समुदायको हितबाट निर्देशित हुने व्यवस्था।
७. व्यक्तिगत स्वतन्त्रता र सामाजिक स्वार्थ बीच सन्तुलन; प्रश्न, जिज्ञासा र विपरीत तर्कको सम्मान।
८. न्यूनतम आवश्यकता तथा सुविधा सुनिश्चित गर्दै श्रम, उत्पादन, अनुसन्धान र सिर्जनात्मक प्रतिस्पर्धा।
९. बोल्ने र लेख्ने स्वतन्त्रतासँगै बाँच्ने, खाने, बस्ने, उपचार पाउने, शिक्षा पाउने र काम गर्ने स्वतन्त्रता।
१०. न्यूनतम आवश्यकता र सुविधामा राज्यको सुनिश्चितता, प्रगतिशील कर प्रणाली, विश्व बजारमा तुलनात्मक लाभका क्षेत्रमा प्रतिस्पर्धाको आर्थिक नीति।
निष्कर्ष
नेपाली कम्युनिस्ट तथा माओवादी आन्दोलनको विघटन केवल सङ्गठन विभाजन वा चुनावी पराजय होइन। यो विचारको बन्ध्याकरण, लोकतान्त्रिक अभ्यासको अभाव, जनताबाट विच्छेद, व्यक्तिपूजा, नोकरशाही केन्द्रीयता, शान्तिपूर्ण रूपान्तरणको कमजोरी, सत्ताको निजीकरण, मौलिक सभ्यताको उपेक्षा र जनजीविकाबाट विचलनको संयुक्त परिणाम हो।
कम्युनिस्ट आन्दोलनले देखाएको समानता, न्याय, मुक्ति र समाजवादको सपना आज पनि आवश्यक छ। तर त्यो सपना खुला बहस, लोकतान्त्रिक संस्कार, वैज्ञानिक सोच, मौलिक नेपाली दृष्टिकोण, उत्पादन, प्रविधि, सामाजिक न्याय र जनताको दैनिक जीवनसँग जोडिएर मात्र सार्थक बन्न सक्छ।
नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन आदेशपालक कार्यकर्ता र मठाधीश नेतृत्वबाट होइन; प्रश्न गर्ने नागरिक, सिर्जनशील कार्यकर्ता, उत्तरदायी नेतृत्व र जननिर्देशित संस्थाबाट मात्र सम्भव छ।
प्रतिक्रिया 4