
१२ असोज, काठमाडौं । बुधबार रेबिज रोग विरुद्ध १० औँ अन्तराष्ट्रिय दिवस, यस अवसरमा पशुपंक्षी मन्त्रालय र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
दिवसकै अवसरमा पशुपंक्षी विभागले ललितपुरको हरिहर भवनमा रेबिज रोग के हो र कसरी बच्ने भन्ने सन्दर्भमा अन्तरक्रिया गरेको थियो ।
यसै सन्दर्भमा एनिमल नेपाल नामक गैरसरकारी संस्थाले ललितपुर जिल्लाको पाटन क्षेत्रमा १ सय ८२ सामुदायिक कुकुरलाई रेबिज विरुद्धको खोप लगाएको संस्थाका कार्यकारी निर्देशक उत्तम काफ्लेले जानकारी दिए ।
एनिमल नेपालले ललितपुर उपमहानगरपालिकाभित्र वर्षभरी सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउँदै आएको छ ।

यसबर्ष मात्र एनिमल नेपालले ललितपुर उपमहानगरपालिकासँग सहकार्य गर्दै एक हजार कुकुरको बन्ध्याकरण गरी रेबिज विरुद्धको खोप लगाएको काफ्लेले बताए ।
यस्तै पाटन दरबार क्षेत्रलाई एनिमल नेपालले रेबिज मुक्त क्षेत्र घोषणा गरिसकेको छ । दरबार क्षेत्रका हरेक सामुदायीक कुकुरलाई रेविज विरुद्धको खोप लगाएर रेबिज मुक्त क्षेत्र घोषणा गरेको हो ।
यस्तै रेबिज रोग विरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा एनिमल नेपालले बाँकेको नेपालगञ्जमा पनि करिब ३ सय कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाएको छ । एनिमल नेपाल पशु कल्याणका लागि काम गरिरहेको गैरसरकारी संस्था हो ।
रेबिज के हो र कसरी बच्ने ?
रेबिज जनावरको टोकाइका क्रममा र्यालबाट सर्ने प्राण घातक रोग हो । यो रोग लागेपछि त्यसको संक्रमण स्नायू प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ । बिशेषगरी यो रोगबाट संक्रमित कुकुर, विरालो, मुसा वा जंगली जनावरको टोकाइबाट सर्ने भेटेनरी काउन्सिलका अध्यक्ष तथा पशु चिकित्सक नारायण घिमिरेले बताए ।
यो प्राण घातक रोग भएपनि आत्तिनुपर्ने रोग नभएको पशु चिकित्सक घिमिरेले बताए । रेबिज विरुद्धको खोप आइसकेको र टोकाइपूर्व नै त्यस्तो खोप लगाउँदा रोगबाट बच्न सकिन्छ । यस्तै त्यस्ता जनावरले टोकेमा तत्काल साबुन पानीले घाउ धोएर तत्काल चिकित्सकको सल्लाहअनुसार उपचार गरे पनि रेबिजबाट बच्न सकिन्छ । तर बहुलाएको कुकुर वा त्यस्तो रोग लागेको शंका लागेका जनावरले टोकेपछि पनि हेलचेत्र्याइ गरी रेबिज विरुद्धको खोप लगाउन ढिलाइ गरे मानिसको ज्यानै जाने चिकित्सक घिमिरे बताउँछन् ।
यस्तै रोग लागेको जनावरको र्याल घाउमा परेमा वा त्यस्तो जनावरको जुठो खाएमा पनि रेबिज रोग सर्छ ।
के गर्नु हुँदैन ?
अन्धविश्वास अनुसार त्यस्तो रोग लागेको शंका लागेको कुकुर वा अन्य जनावरले टोपश्चात चुक अमिलो, कर्करो वा पिडालु लगाएर ठीक हुँदैन । यदि त्यस्तो घरायशी उपचार गरेर उपचारमा ढिलाइ गरे व्यक्तिको एकसाताभित्र मृत्यु हुन्छ ।
पशु स्वास्थ्य निर्देशनालयका अनुसार नेपालमा हरेक वर्ष रेबिजका कारण करिब ९ सय जनाको मृत्यु हुने गरेको छ । यसरी मर्नेहरुमा पनि अधिकांश बालबालिका हुने गरेका छन् । बालबालिकाहरु कुकुरसँग बढी खेल्ने र कुकुरले टोकिहाल्यो भने पनि उपचारमा ध्यान नदिँदा मर्नेहरुमा बालबालिको संख्या बढी हुने गरेको हो ।