Comments Add Comment

दशैंमा प्रधानमन्त्रीको सन्देशः पर्वहरुलाई पुनर्परिभाषित गरौं

अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा पुनर्विचार गर्न जोड

Prachanda२५ असोज, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुको महान पर्व बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलार्इ सुख, शान्ति, समृद्धि,सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना सन्देश व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले आज दिएको सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र भएको बताएका छन् ।

विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसारजस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् भन्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन् – “विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।”

प्रधानमन्त्रीले दाहालले दशैंलगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताएका छन् । यसलाई अझ विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार भएको प्रधानमन्त्रीको भनाइ छ ।

नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, सङ्घीयता, समावेशिता,सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको  चरणमा रहेको प्रधानमन्त्रीको विश्लेषण छ । देश अब  संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा छ भन्दैप्रधानमन्त्रीको सन्देशमा भनिएको छ– राजनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन गर्यौँ, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको छ।

प्रधानमन्त्रीले भूकम्पको पुनःनिर्माण र राष्ट्रिय नवनिर्माण पनि हाम्रा सामु चुनौतीपूर्ण अवसरका रुपमा उभिएको बताउँदै प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, -हाम्रो एकता, सहकार्य र विविधताको आत्मसातीकरणले चुनौतीलाई अवसरमा बदल्न सकिन्छ र बदल्नुपर्दछ ।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पुनर्परिभाषित र पुनःसंस्कार गर्न जरुरी रहेको बताएका छन् ।

हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रुढीवाद, अन्धविश्वास,भड्किलो चिन्तन र जीवनपद्धतिमा पुनर्विचार गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमुखी बनाउन सक्छ भन्ने गहिरो विश्वास रहेको प्रधानमन्त्रीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment