Comments Add Comment

बिष्ट दाजुभाइले पाँच दिनमै सके पिताको काजकिरिया

Kiriya-Bista-Brothers

२७ असोज, ललितपुर । मृत्यु संस्कार सुधार अभियानमा सहमत हुँदै स्थानीयवासी दाजुभाइले आफ्ना पिताको पाँच दिनमा काजकिरिया सम्पन्न गरेका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका–६ विष्णुडोलका प्रह्लाद र अमृत विष्टले आफ्ना पिता जयबहादुरको काजकिरिया पाँच दिनमा सकेका हुन् ।  उनीहरुका पिताको पाँच दिनअघि निधन भएको थियो ।

काजकिरिया पाँच दिनमा पूरा गरेपछि प्रह्लादले निवासमा पुगेका सञ्चारकर्मीसँग हिन्दू धर्मको रक्षा र आस्थानुसार नै संस्कारमा सुधारको अभियानलाई साथ दिइएको बताए । हिन्दू धर्मले शरीर पञ्चतत्वले बनेको र हरेक विधिमा पाँच नै हुने विषय शास्त्रमा समेत उल्लेख भएको बुझेर संस्कार सुधार समाजको अभियान चालिएको उनको भनाइ छ ।

संस्कार सुधार समाजका अध्यक्ष शङ्करप्रसाद पोखरेलले हिन्दू धर्मशास्त्रको सूक्ष्म अध्ययनपछि आफूहरुले पछिल्लो पाँच दिनको काजकिरिया शास्त्रसम्मत हो भन्ने निष्कर्ष निकालेको तर्क गरे ।

काजकिरिया पाँच दिनमा गर्ने अभियान हिन्दू संस्कारको विरोधमा नभई संरक्षण र रक्षाको हेतुले गरिएको जिकिर उनले गरे। “हिन्दू धर्मले कसैलाई बाध्य बनाउने गरेको छैन, सुरुमा केही असजिलो अवस्था भए पनि बिस्तारै संस्कार सुधार सामान्य बन्दै जाने छ” उनले भने ।

धर्म संस्कारका ज्ञाता आचार्य खगेन्द्र रेग्मीले पाँच दिनको काजकिरियाको अभियानमा कसैले शङ्का गर्नुनपर्ने बताए।  पाँच दिनमा काजकिरिया सम्पन्न गराउनुभएका पं वसन्तप्रसाद आचार्यले सामाजिक परिस्थिति, चेतनाको विकास र नेपाली हिन्दूको भावनालाई समेत ध्यानमा राख्दा पाँच दिनको काजकिरिया उपयुक्त मान्नुपर्ने जिकिर गरे ।

विष्णुडोल गाउँको अभियानले समाजमा सकारात्मक सन्देश जाने विश्वास उहाँले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment