१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अख्तियार प्रमुख लाकेमान सिंह कार्कीको कार्यशैली चित्तबुझ्दो नभएको बताएका छन् । तर, कांग्रेसलाई थाहै नदिई महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै उनले कांग्रेसले अहिले नै निर्णय नगर्ने बताए ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता भण्डारीले प्रस्ताव राम्रै उद्देश्यले आएको भएपनि यसको शैली र तरिका भने ठिक नभएको गुनासो पोखे । उनले अघि भने, ‘महाअभियोग प्रस्ताव भनेको सक्रिय जीवनको अन्त्य हो, मृत्यु हो, मौकामा चौका हान्ने काम भयो, त्यसैले हामी हतारमा निर्णय गर्दैनौं ।’
नेता भण्डारीले अख्तियार प्रमुख कार्कीका कार्यशैली चित्त बुझ्दो नभएको बताउँदै भने,’लोकमानजीले पोखरा विश्वविद्यालयका खगेन्द्र भट्टराईलाई कारवाही गर्नुभयो, उहाँले भ्रष्टाचार त परै जाओस् कसैको एक कप चिया पनि पिउनुभएको थिएन, गोविन्द केसीजस्तो डाक्टरलाई पागलको संज्ञा दिएर विज्ञप्ती निकाल्नुभयो, उहाँका यी कामहरु मलाई भित्रैबाट चित्त बुझेका छैनन् ।’
लोकमानलाई कसको दबावमा वा पैसाको प्रलोभनमा वा लोकमानको विकल्प नभएर अख्तियारको प्रमुख आयुक्त बनाईएको हो ? भन्ने प्रश्न गर्दै उनले यसबारे नेताहरुले जवाफ दिनु पर्ने बताए । उनले अघि भने, ‘नेताहरुको बारेमा पनि छानविन हुनुपर्छ, उहाँहरुले जवाफ दिनुपर्छ ।’
लोकमान प्रकरणले प्रमुख दलहरुलाई सहमतिको लिकमा ल्याउँछ
कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले अख्तियार प्रमुख लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव आउनु सकारात्मक भएको भन्दै यसलाई पारित गर्न कांग्रेसले सहयोग गर्नुपर्ने बताएका छन् ।
संसदीय सर्वोच्चतालाई स्थापित गर्नको लागि यो प्रस्ताव महत्वपूर्ण कदम भएको उनको दाबी छ ।
संविधान जारी भएलगत्तै प्रमुख दलहरुले सहमतिको लिक छोडेको भएपनि लोकमान प्रकरणले प्रमुख दलहरुलाई एक ठाउँमा उभ्याउने एमाले सचिव भट्टराईको विश्वास छ
यस्तै माओवादी नेता देव गुरुङ्ले अख्तियार प्रमुखको कार्यसम्पादनमै प्रश्न उठेकोले उनीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याइएको भन्दै यसलाई पारित गर्नको लागि सबै दलहरु एक ठाउँमा उभिनुपर्ने बताए ।
मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले ठूला पार्टीले नै लोकमानलाई अख्तियार प्रमुख बनाएको र अहिले आएर उनीहरुले नै हटाउन नाटक गरेको भन्दै ठूला पार्टीको यो कदमलाई आंफै बोक्सी, आफैं धामीको संज्ञा दिए ।
उनले महाअभियोग सिफारिस समिति गठन गर्दा समेत चार दलले दादागिरी देखाएको आरोप लगाए । कर्णले भने, ‘हिजो सुनुवाई समिति गठन गर्दा पनि हामीलाई सोधिएन, आज महाअभियोग सिफारिश समिति गठन गर्दा हामीलाई पत्याइएन् ।’
प्रतिक्रिया 4