Comments Add Comment

दशैं-तिहार नभनी धमाधम बनाइँदैछ ढल्केबर सब-स्टेशन

भारतबाट ३ सय मेगावाट विजुली किन्न पाइने

dhalkebar-subsatation
१७ कात्तिक, काठमाडौं । सरकारले यो हिउँदमा जनताले अनुभूति गर्नेगरी लोडसेडिङ न्यूनकरण गर्ने घोषणा गरेपछि त्यसको व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणले प्रसारणलाइन र सबस्टेशन निर्माणकार्यलाई तीब्र गतिमा अघि बढाएको छ ।

आगामी डिसेम्बर अर्थात् पुस दोस्रो सातासम्ममा सम्पन्न गर्नेगरी ढल्केबर सबस्टेशनको निर्माण भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनलाइनखबरलाई जानकारी दिए ।

‘दशैं-तिहारमा बिदा नबसरी २ सय मान्छेले २ सिफ्टमा काम गरिरहेका छन्,’ घिसिङले भने, ‘तोकिएको समय (डिसेम्बर) सम्ममा सबस्टेशन निर्माण सम्पन्न भइसक्नेछ ।’

घिसिङ निर्माणधीन सबस्टेशनको निरिक्षण गर्न आयोजनास्थल धनुषाको ढल्केशर पुगेका छन् । ‘आयोजनाको प्रगति उत्साहजनक छ,’ उनले भने ।

घिसिङका अनुसार सबस्टेशनको क्षमता २२० केभीएको हुने छ । र, सबस्टेशन बनिसकेपछि त्यहाँबाट मात्रै भारतबाट ३ सय मेगावाटसम्म विजुली आयात गर्न सकिनेछ ।

सरकारले यस वर्ष भारतबाट ६ सय मेगावाटसम्म बिजुली आयात गरेर भएपनि जनतालाई लोडसेडिङ घटेको अनुभूति गराउने तयारीका साथ काम अघि बढाएको हो ।

सबस्टेशन र प्रसारणलाइनको अभावका कारण भारतबाट थप बिजुली किन्न सकिएको छैन । हाल नेपालले भारतबाट २५३ मेगावाट विजुली आयात गर्दै आएको छ ।

यो सबस्टेशनसँगै खिम्ती-ढल्केबर र हेटौंडा-मातातीर्थ प्रसारणइन पनि बन्ने र भारतसँग किनिएको बिजुली काठमाडौंमा बाल्न पाइने छ । हालसम्म भारत भारतबाट किनिएको बिजुली काठमाडौंसम्म आउन सकेको छैन ।

‘यो हिउँददेखि काठमाडौंबासीले भारतसँग किनेको बिजुली बाल्न पाउनेछन्,’ घिसिङले भने ।

वितेका वर्षहरुमा हिउँदको समयमा राजधानीबासीले दैनिक १५/१६ घन्टासम्म लोडसेडिङ भोग्दै आएका थिए । तर, यो वर्ष भने राजधानीमा दैनिक ६/७ घन्टाभन्दा बढी लोडसेडिङ हुन नदिने गरी यसअघिकै प्राधिकरण नेतृत्वले काम थालेको थियो ।

काठमाडौंमा लोडसेडिङ नगर्नेे प्राधिकरणको तयारी

तर, अहिलेको प्राधिकरण नेतृत्वले भने काठमाडौं उपत्यका र काभ्रपलाञ्चोकका केही शहरमा लोडसेडिङ नगर्ने गरी तयारी थालेको छ । त्यसका लागि प्राधिकरणले समिति नै गठन गरिसकेको छ ।

‘लामो समयदेखि राजधानीबासीले लोडसेडिङको समस्या भोग्दै आएका छन्, हामीले अब चाँडै नै त्यसको अन्त्य गर्ने तयारीका साथ काम अघि बढाएका छौं,’ घिसिङले भने । तिहारअघि देखि नै प्राधिकरणले काठमाडौंमा उल्लेख्य मात्रामा लोडसेडिङ घटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment