Comments Add Comment

सत्तामा पुगेपछि प्रचण्ड पनि पण्डित भएः महन्थ ठाकुर

Mahantha-Thakur

१८ कात्तिक, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सत्तामा गएपछि सबै पण्डित हुने बताएका छन् । साथै उनले कात्तिक मसान्तभित्र दर्ता हुने भनिएको संविधान संशोधन प्रस्ताव कस्तो आउँछ भन्ने आफूहरुलाई थाहा नभएको बताए ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जारी नेपाल भ्रमणको सन्दर्भ पारेर नेपाल-भारत सम्वन्धबारे बुधबारदेखि राजधानीमा दुई दिने सम्मेलन चलिरहेको छ । र, सम्मेलनको एक छलफलमा सहभागी मधेसी मोर्चाका नेता समेत रहेका ठाकुरले धेरै देशमा लोकतान्त्रिक स्वरुप रहेको तर, त्यसले गर्नुपर्ने काम नभएको बताए ।

उनले भने, ‘देश त स्वतन्त्र छ । तर, आफ्नो अधिकारका लागि किन उनीहरु (मधेसी)ले मर्न परिरहेको छ ? के जनता पनि स्वतन्त्र छ ?’

प्रधानमन्त्री प्रचण्डले पनि समावेशीताका लागि संघर्ष गरेको भन्दै उनले भने, ‘तर, सत्तामा गएपछि सबै पण्डित हुन्छन् । र, पण्डितले कहिल्यै पनि समानताको कुरा गर्दैन ।’

समावेशीताको सिद्धान्त त रहेको तर, व्यवहारमा नभएको ठाकुरको विश्लेषण थियो ।

जसले समावेशीताको सिद्धान्त बनाए, उनीहरुले नै जेष्ठता, श्रेष्ठता, जाति, धर्मका नाममा हुने विभेद रोक्न नसकेको भन्दै उनले भने, ‘किन रोक्न सकेनन् ? किनकी जब विशेषअधिकार पाउने स्थानमा गए, उनीहरुले केही गरेनन् ।’

गीतामा दुःख परेकाहरुलाई यो पूर्व जन्मको कर्मको फल भन्ने गरेको स्मरण गर्दै तमलोपा अध्यक्ष ठाकुरले भने, ‘हाम्रा शासकहरु पनि पुरै पण्डित बनेका छन् । जनतालाई भएको कष्ट हटाउन आएको भन्छन् । तर, आएपछि सबै (बाचा) भुल्छन् ।’

उनले नेपालको निजामती प्रशासनदेखि न्यायालय कुनै पनि संयन्त्र समावेशी नभएको बताए ।

लोकतन्त्र भएपनि शासन प्रशासनमा मधेसी समुदायलाई अझै ढोका बन्द रहेको भन्दै उनले भने, ‘यदि उसको एटिच्युड अफ माइन्ड त्यस्तो रहेसम्म पछाडि पारिएको समुदायले केही पाउँदैनन् । उसले आफ्नै समुदायकै लागि मात्र काम गर्छ ।’

उनले अघि भने, ‘गोली चलाउनु पर्‍यो भने घुँडाभन्दा मुनी हान्नुपर्छ, त्यो पनि चेतावनी दिएर । तर, हाम्रो आन्दोलनमा ८० प्रतिशतभन्दा धेरैलाई कम्मरभन्दा माथि गोली हानिएको छ । किन यस्तो भयो ? कहिल्यै सोच्नु भएको छ ? किनकी अलग-अलग समुदाय छ र जसमाथि गोली चल्यो, उनीहरु पीडित समुदाय हुन् ।’

‘माग सम्बोधन नभए सन्तुष्ट हुन्नौं’

तमलोपा अध्यक्ष ठाकुरले ९० प्रतिशतले संविधान बनाएको भनिए पनि कार्यान्वयन हुन नसकेको बताए । प्रक्रिया निलम्बन गरेर संविधान बनाइएको भन्दै उनले भने, ‘जतिबेला ड्राफ्ट बन्यो, त्यसबेला नै विरोध भएको थियो । तर, जारी भयो । अहिले संविधान कहाँ कार्यान्वयन भएको छ ? सबै व्यवस्था अन्तरिम नै छ ।’

आफूहरुको मागअनुसार संविधान संशोधनका लागि प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक कात्तिक मसान्तभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता गर्छु भनेको उनले बताए ।

उनले भने, ‘तर, कस्तो प्रस्ताव आउँछ, हामीलाई थाहा छैन ।’ सरकारले ल्याएको संविधान संशोधनले आफूहरुको माग सम्बोधन नभए असन्तुष्टि कायमै रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment