Comments Add Comment

मन्त्रीबाट प्रचण्ड सशंकित, पार्टीको एउटा खेमा एमालेसँग मिलेको आरोप

prachanda२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलई असफल तथा बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार माओवादी केन्द्रका केही मन्त्री र सचिवालय पदाधिकारीसँगको अनौपचारिक छलफलमा प्रधानमन्त्री दाहालले पार्टीभित्रैबाट आफू, पार्टी र सरकारलाई असफल पार्न चलखेल र सक्रियता बढेको दाबी गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

बैठकमा उपस्थित एक पदाधिकारीका अनुसार ‘त्यो समूहका कारण उनले सरकार गठनदेखि अहिलेसम्म आमजनताबीच सकारात्मक ढंगले प्रस्तुत हुन नसकेको र सरकारविरुद्ध नकारात्मक सन्देश प्रवाह भइरहेको ‘ बताए ।

सहभागी एक मन्त्रीका अनुसार जसरी पनि नेपालबाट माओवादीलाई समाप्त पारेर एक्लो बृहस्पति बन्ने योजना एमाले र आफ्नै पार्टी भित्र एउटा समूह लागेको प्रचण्डले बताएका थिए ।

पार्टी अध्यक्षलाई समेत जानकारी नदिई अख्तियार प्रमुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराइयो भन्ने प्रचार त्यही षड्यन्त्रको पाटो भएको भएको उनको भनाइ थियो ।

जनयुद्धबाट बनेको पार्टीलाई सिध्याउने खेलका रूपमा वर्तमान सरकारको कार्यशैलीको नकारात्मक टिप्पणी भइरहेको उनको दाबी थियो । प्रधानमन्त्रीले पार्टीका हाइकमान्डमा रहेका केही मन्त्री र नेतालाई चुनौती दिँदै भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव संसद्मा मेरै नेतृत्वमा दर्ता भएको हो । पार्टीको एक समूह लोकमानलाई बचाउन लागेकाले आफ्नै पहलमा महाभियोग प्रस्ताव ल्याएको हुँ ।’

अख्तियार प्रमुखको प्रकरणमा आएका प्रचार केही नेताले दाहालबिना पनि माओवादी पार्टी सञ्चालन हुन सक्छ भन्ने भ्रम जनता र कार्यकर्तामा उत्पन्न गराउने उद्देश्यले गराएको भन्दै उनले दुःख व्यक्त गरेको स्रोतले बतायो ।

नेपालबाट माओवादी समाप्त गर्ने ग्य्रान्ड डिजाइनमा रहेको एमाले र प्रचण्डबिनाको माओवादी सम्भव छ भन्ने सोचाइ राख्ने पार्टीभित्रकै समूहले लोकमानलाई दाहालले बचाउन चाहेको र आफूहरूले हटाउने चाहेको भन्दै गलत सन्देश प्रवाह गरेको भन्दै प्रधानमन्त्रीले आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment