Comments Add Comment

सरकार गठनको तीन महिनापछि प्रचण्ड फेरि आक्रामक

काम नगर्ने मन्त्रीलाई निस्काशन गर्नेसम्मको चेतावनी

Prachanda

२० कात्तिक, काठमाडौं । प्रचण्डको नेतृत्वमा सरकार गठन भएको तीन महिना पूरा भएको छ । प्रधानमन्त्री बनेको तीन महिना पुग्नुभन्दा अघिल्लो दिन शुक्रबार बिहानैदेखि प्रधानमन्त्री प्रचण्डको सक्रियता निकै आक्रामक देखिएको छ । प्रधानमन्त्रीको यो आक्रामकता मुख्यतः चार ठाउँमा देखियोः

१. आफ्नै सचिवालयमाथि यक्ष प्रश्न

शुक्रबार बिहानै बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयका सदस्यहरुलाई भेला हुन भने । सचिवालका सदस्यहरु हतारिँदै जम्मा भए । त्यसपछि प्रधानमन्त्रीले उनीहरुलाई कडारुपमा सम्झाए ।

‘तपाईहरु सबैजना जनयुद्ध लडेरै आएका मान्छेलाई मैले सचिवालयमा राखेको छु, तर, आज तपाईहरुको काम गराई किन सुस्त भयो ? सरकारले गरेका कामहरुको जनतामा किन साम्रोसँग सन्देश प्रवाह भएन ?’ प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयका सदस्यहरुलाई सोधे- ‘कहाँनेर, कोबाट कमजोरी भइरहेको छ ? मबाट कमजोरी भएको छ कि तपाईहरुले काम गर्न नसकेको हो ?’

प्रधानमन्त्रीले निजी सचिवालयमा रहेका प्रम्ख स्वकीय सचिव जोखबहादुर महरा, प्रेस सल्लाहकार गोविन्द आचार्य, जनसम्पर्क सल्लाहकार रामदीप आचार्य, स्वकीय सचिवहरु रमेश मल्ल, प्रकाश दाहाल लगायतलाई ‘खै’ गरेका थिए ।

२. मन्त्रीहरुलाई हठात् बालुवाटारमा बोलावट

सचिवालयका सदस्यलाई कडा निर्देशन दिएपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो निवासमा तत्कालै माओवादी मन्त्रीहरुलाई हाजिर हुन भने । छोटो बोलावटमा अर्थमन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री जनार्दन शर्मा र स्थानीय विकास मन्त्री हितराज पाण्डेचाँहि बालुवाटार गएनन् ।

बाँकी मन्त्रीहरुलाई प्रधानमन्त्रीले तीन महिनाको वीचमा तपाईहरुले के-के काम गर्नुभयो भनी प्रश्न गरे । तपाईहरुले काम नगरेको हो कि मैले जानकारी नपाएको हो भन्दै प्रधानमन्त्रीले यो पाराले काम नहुने चेतावनीसमेत दिए ।

स्रोतका अनुसार सो जमघटमा केही मन्त्रीहरुले गरेको कामका विषयमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका थिए । जस्तो शिक्षा मन्त्रालय र कानून मन्त्रालयले सामान्यतः अरुले भन्दा राम्रो काम गरेको प्रधानमन्त्रीको निश्कर्ष थियो । तर, यी कामबारे मिडिया र जनतामा प्रचार हुन नसकेको प्रधानमन्त्रीले गुनासो गरे ।

कानून मन्त्रालयले धेरैवटा कानूनहरु ड्राफ्ट गरेको र शिक्षा मन्त्रालय पनि राम्रोसँग चलिरहेको त्यहाँ चर्चा चल्यो । तर, सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्रीले भने काम गर्नुको साटो घुमघामै बिताएको गुनासो आएको बालुवाटार स्रोतले बतायो । त्यस्तै अन्य मन्त्रालयहरुले पनि अपेक्षा अनुसार काम नगरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पोखेको स्रोतले बतायो ।

प्रधानमन्त्री प्रचण्डले आफूमात्रै एक्लै काम गरिरहनुपर्ने तर मन्त्रीहरु घुमघाममै व्यस्त भइरहने स्थितिको अन्त्य गर्न र सबैले मिलेर काम गर्न निर्देशन दिए ।

३. दिउँसो केपी ओलीसँग पनि ‘कडा’ कुरा

बिहान मन्त्रीहरुलाई कडा निर्देश्न दिएका प्रचण्डले शुक्रबार उसै दिन एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बोलाए । दुई नेतावीच दिउँसो सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको च्याम्बरमा भेटवार्ता भयो ।

सो भेटमा प्रधानमन्त्री प्रचण्डले ओलीसँग सीधा सीधा कुरा गरे । स्रोतका अनुसार प्रचण्डले ओलीलाई मैले संविधान संशोधन र चुनावलाई प्राथमिकतामा राखेको छु, संविधान संशोधनमा यसो-यसो गर्न लागेको छु, तपाईले सहयोग गर्ने कि नगर्ने भन्ने प्रश्न सोधेका थिए ।

४. अपरान्ह क्याबिनेटमा मन्त्रीहरुलाई प्रश्न

शुक्रबार नै सिंहदरबारमा मन्त्री परिषद बैठक बस्यो । सो बैठकमा प्रधानमन्त्रीले सबै मन्त्रीहरुलाई आफ्नो कार्यशैली सुधार गर्न र सक्रिय बन्न निर्देशन दिए ।

‘सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहेको छ, तपाईहरु चुपचाप देखिनुहुन्छ,’ बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने, ‘यो आक्रमण प्रचण्डामाथि मात्रै भएको हैन, तपाईहरुमाथि पनि भएको हो, यसमा तपाईहरु चुप लागेर बस्न मिल्दैन ।’

सरकार गठनको सय दिन पुग्न लागेको अवस्थामा मन्त्रालयहरुले गरेको कामबारे प्रधानमन्त्री कार्यालयमा चाँडै विवरण बुझाउन प्रधानमन्त्रीले त्यहाँ मन्त्रीहरुलाई दिर्नेशन दिए ।

युद्धस्तरमा अघि बढ्ने दाबी

आफ्नो ९ महिने कार्यकालको अवधि छोटिँदै जाँदा अब प्रधानमन्त्री प्रचण्ड युद्धको गतिमा अघि बढ्न लागेको यनको सचिवालयले दाबी गरेको छ ।

स्रोतले भन्यो- ‘अब अलमल गर्ने र्फसद छैन, त्यसैले प्रधानमन्त्री ज्यू संविधान संशोधन गरेर स्थानीय निर्वाचन गराउने मिसनमा केन्दि्रत हुनुभएको छ, राम्रो काम गर्न नसक्ने मन्त्रीलाई फेर्नेसमेत उहाँले चुतावनी दिनुभएको छ ।’

प्रधानमन्त्रीले अब केही दिनभित्रै संविधान संशोधन प्रस्ताव दर्ता गराउने स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment