Comments Add Comment

काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने कुलमानको योजना

विद्युत प्राधिकरणमा नेतृत्व परिवर्तनसँगै नयाँ थालनी

२१ कात्तिक, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेले राजीनामा दिएपछि उनका ठाउँमा आए कुलमान घिसिङ । यतिबेला घिसिङ काठमाडौं उपत्यकालाई लोडसेडिङबाट मुक्त बनाउँछु भनेर लागिपरेका छन् ।

विद्युतको लोड म्यानेजमेन्टमै मास्टर्स गरेका घिसिङको आगमनसँगै नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने तयारीलाई तीब्र पारेको छ । लोडसेडिङमुक्त गर्ने ‘ट्रायल’का रुपमा तीन हप्तादेखि उपत्यकामा लोडसेडिङ हुन छाडेको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई निकट भविष्यमै लोडसेडिङमुक्त गर्ने गरी काम अघि बढाइएको घिसिङ बताउँछन् । आखिर कसरी हट्ला काठमाडौंको अन्धकार ? यसबारे कार्यकारी निर्देशक घिसिङ यसरी व्याख्या गर्छन्ः

***

लोडसेडिङको अन्त्य गर्न नसकिने होइन । गर्न सकिन्छ । तर, मैले लोडसेडिङ नै हुँदैन भनेर घोषणा गरिसकेको चाहिँ छैन । देशभर एकैपटक लोडसेडिङ अन्त्य गर्न कठिन छ । त्यसैले हामी विभिन्न फेजमा देशभर लोडसेडिङ अन्त्य गर्छौं ।

माग र आपूर्तिबीच यति ठूलो ग्याप छ । त्यसैले हामीले चाहेर पनि लोडसेडिङ पूर्णरुपमा अन्य गर्ने अवस्था छैन । तर, आपूर्तिको उचित व्यवस्थापन गरे लोडसेडिङ निकै कम गर्न सकिन्छ ।

लोडसेडिङ भनेको लोडको व्यवस्थापनमा निर्भर रहन्छ । उपलब्ध बिजुलीको सही व्यवस्थापन गरी पहिलो चरणमा काठमाडौं उपत्यका र त्यसपछि चरणवद्धरुपमा मोफसलमा लोडसेडिङ अन्त्य गर्दै जाने हाम्रो योजना छ । उपत्यकामा लोडसेडिङ अन्त्य गर्ने सजिलो विषय होइन, तर सधैं राजधानीबासीलाई अन्धकारमा राखिरहनु हुँदैन भनेर अलि ‘क्रिटिकल’ र ‘इनोभेटिभ’ तरिकाले सोच्यौं ।

नेपालमा पिक आवरमा करिब १५ सय मेगावाट विजुलीको माग छ । तर, सुख्खायाममा जलविद्युत आयोजनाहरुको उत्पादन ५० प्रतिशतले घट्ने भएकाले जम्मा आपूर्ति ४ सय मेगावाटको हाराहारीमा मात्रै छ । आयातसहित गर्दा सुख्खायाममा ६/७ सय मेगावाट आपूर्ति हुन्छ । वर्षातको समयमा पनि कूल ९ सयदेखि हजार मेगावाट मात्रै आपूर्ति छ ।

माग र आपूर्तिबीच यति ठूलो ग्याप छ । त्यसैले हामीले चाहेर पनि लोडसेडिङ पूर्णरुपमा अन्य गर्ने अवस्था छैन । तर, आपूर्तिको उचित व्यवस्थापन गरे लोडसेडिङ निकै कम गर्न सकिन्छ ।

प्राधिकरणले काठमाडौंमा लोडसेडिङ अन्त्य गर्न के-के गर्नुपर्छ भनेर विद्युत प्राधिकरणकै सिनियर कर्मचारीको संयोजकत्वमा कमिटी गठन गरिसकेको छ । सो कमिटीले प्रतिवेदन बुझाएपछि त्यसैलाई आधार मानेर काम अघि बढाइनेछ । कमिटीले केही हप्ताभित्रै प्रतिवेदन बुझाउने छ ।

बेलुका पिक आवरमा २/३ घन्टाको माग मात्रै १५ सय मेगावाट हो । दिउँसोको विद्युत माग भनेको ७/८ सय मेगावाट मात्रै हो । रातिको माग त झन् कम हुन्छ । माग र आपूर्तिबीचको सन्तुलन कसरी मिलाउने र लोडसेडिङ अन्त्य गर्ने भन्ने विषय निकै जटिल पनि छ । विद्युत आपूर्तिमात्रै ठूलो कुरा होइन, त्यसको व्यवस्थापन त्योभन्दा महत्वपूर्ण हुन्छ ।

कसरी हुन्छ त लोड म्यानेजमेन्ट ?

Kulman_Ghisingकाठमाडौं उपत्यकाको पीक आवरको डिमान्ड ३ सय मेगावाट हो । प्राधिकरणको अहिलेको अभियान भनेको घाटालाई घटाउने हो । त्यसका लागि विद्युत चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखिएको छ । यसको मतलब के हो भने अब पिक आवरमा कसैले हुकिङ गरेर विद्युत चोरी गर्न पाउने छैनन्, जसले मागलाई घटाउँछ ।

अर्कोतिर उर्जा बचतका कार्यक्रमहरु पनि भएको र त्यसलाई अझ सशक्त बनाउँछौं । अब ट्युवलाइट र सीएफएलको ठाउँमा ठूलो मात्रामा लिडको प्रयोग गर्छौं । सीएफएल चीमले २० वाट खर्च गरेर जति उज्यालो दिन्छ, लिड प्रयोग गर्दा ५ वाट खर्च गरेर त्यति नै उज्यालो प्राप्त गर्न सकिन्छ । यसको अर्थ के हो भने विद्युतको लाइटमा पनि ४ गुणा कम खपत हुन्छ ।

माग भनेको पूर्णरुपमा उपभोक्ताको व्यवहार हो । मागको व्यवस्थापन गर्न उपभोक्ताको व्यवहारमा परिवर्तन गर्नुपर्छ । पिक आवर अर्थात् हिउँदमा साँझ ५ बजेदेखि राति ८/९ बजेसम्म लोडसेडिङ हुन नदिन तराईमा भएका उद्योगहरुमा सो समयमा लोडसेडिङ गरिने छ । डिमान्ड साइड म्यानेजमेन्टले पिक आवरको मागलाई थप बढ्न दिँदैन ।

पिक आवरमा पिकिङ आयोजनाहरु, रिजर्भ वायर र डिजेल प्लान्टबाट गरी करिब ३ सय मेगावाट विजुली आपूर्ति गर्न सकिन्छ । त्यसो गर्दा करिब १२ सय मेगावाट आपूर्ति हुन्छ । र, पिकिङ आवरमा भारतबाट थप बिजुली किन्न सकिन्छ ।

आपूर्ति व्यवस्थापनमा हाइड्रोभित्र पनि तीन किसिमको उत्पादन छ, एउटाः रन अफ दि रिभर अर्थात पानीको बहावका आधारमा विजुली उत्पादन हुने । दोस्रो, पिकिङ रन अफ दि रिभर अर्थात दिनभरिको पानी स्टोर गरेर राखेर पिक आवरमा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने । यस्ता आयोजनाले एक दिनको विद्युतको व्यवस्थापन गर्छ ।

कालिगण्डकी, मर्स्याङ्दी , चिलिमे, त्रिशुली, देवीघाटलगायतका झन्डै ४ सय मेगावाटका पिकिङ प्रोजेक्टहरु छन् । हामीलाई पीक आवरमा बिजुली चाहिने हो । यस्ता आयोजनाले पिक आवरमा बिजुली दिन्छन् । किनभने डेढ सय मेगावाटको यस्तो आयोजना दिनभर चलाउने हो भने ५०/६० मेगावाट मात्रै बिजुली निस्कन्छ । तर, पिक आवरमा यसले डेढ सय क्यापासिटीमै उत्पादन हुन्छ ।

पिकिङ प्रोजेक्ट कुलेखानी त सिजनल भयो । त्यसलाई हामीले जहिले चाहृयो, त्यहीबेला प्रयोगमा ल्याउन सक्छौं । हामीसँग ३ सय मेगावाट उत्पादन क्षमताका पिकिङ प्रोजेक्ट छन् । जसले पिक आवरको व्यवस्थापन गर्न ठूलो काम गर्छ ।

अब अर्को कुरा छ, डिजल प्लान्टको । प्रतियुनिट ३० रुपैयाँ नै परेपनि त्यसले पिक आवरको व्यवस्थापन गर्न र प्राधिकरणको सिस्टम कोल्याप्स हुनमा ठूलो राहत दिन्छ ।

हेटौंडामा रहेको १० मेगावाट क्षमताको डिजेल प्लान्टबाट हामीले तिहारमा पनि विद्युत उत्पादन गरेका थियौं । कहिलेकाहीँ आवश्यक परेका बेला हामी डिजेल प्लान्ट चलाउँछौं ।

लोडसेडिङ अन्त्य गर्नका लागि अर्को महत्वपूर्ण पक्ष भनेको आयात हो । आयात भनेको रिजर्भवायर  प्राजेक्टजस्तै हो । नेपालका धेरै प्वाइन्टबाट हामीले विजुली आयात गरिरहेका छौं ।

प्राधिकरणले टनकपुरबाट ३५ मेगावाट, कटैयाबाट १३०/४० मेगावाट, ढल्केबरबाट ८० मेगावाट र ३३ केभी क्षमताका अन्य प्रसारणलाइनबाट पनि करिब ५०/६० मेगावाट गरी करिब साढे ३ सय मेगावाट विजुली अहिले पनि आयात भइरहेको छ । ढल्केबर-मुजफ्फरपुरको प्रसारणलाइन बन्यो भने हामीले करिब ५ सय मेगावाट बिजुली भारतबाट किन्न सक्छौं ।

हामीसँग अहिले नै ४ सय मेगावाट बिजुली छ । ४ सय मेगावाट सुख्खायाममा पनि भारतबाट आयात गरिन्छ । यसो गर्दा नै दिउँसोको माग पूरा गर्न सकिन्छ ।

अब साँझ अर्थात पिक आवरको कुरा गरौं, पिक आवरमा पिकिङ आयोजनाहरु, रिजर्भ वायर र डिजेल प्लान्टबाट गरी करिब ३ सय मेगावाट विजुली आपूर्ति गर्न सकिन्छ । त्यसो गर्दा करिब १२ सय मेगावाट आपूर्ति हुन्छ । र, पिकिङ आवरमा भारतबाट थप बिजुली किन्न सकिन्छ ।

काठमाडौंमा पिक आवरमा दुई सय मेगावाट दिउँसो डेढ बजेदेखि तीन सय मेगावाट र राति एक सय मेगावाट बिजुलीको माग छ । मर्स्याङ्दी करिडोरबाट चरम सुख्खायाममा पनि १०० मेगावाट विजुली उत्पादन गर्न सक्छौं । त्रिशुली करिडोरमा चिलिमेसहित गरी ३०/४० मेगावाट विद्युत आउँछ । २ सय ५० मेगावाट काठमाडौं उपत्यका वरिपरिबाट २ सय मेगावाट बढी आउँछ ।

पिक आवरमा कुलेखानी चलाउने हो भने १०० मेगावाट उत्पादन हुन्छ ।

पोखराको लोड भनेको ३०/४० मेगावाटको मात्रै हो । त्यहाँ सोही क्षेत्रका मोदीलगायत कालिगण्डकी आयोजना छन् । बुटवलको विद्युत लोड ५०/६० मेगावाट छ ।

बुटवल र पोखरा १४४ मेगावाटको कालिगण्डकीले लोडसेडिङ घटाउँछ । पुगेन भने साँझ केही घन्टा उद्योगहरुमा लोडसेडिङ गर्न सकिन्छ । बुटवल पश्चिमको माग पनि ठूलो छैन र टनकपुरबाट भएको आयातले त्यसलाई भ्याउँछ । नौगाढ, झिम्रुकले त्यहाँको लोडसेडिङ कभर गर्छ ।

पूर्वका सबै आयोजनाले लगभग त्यहाँको माग पूरा गर्न सक्छन् । कटैयाबाट १८० मेगावाटसम्म बिजुली आयात गर्न सकिन्छ । त्यतिले ३/४ घण्टा लोडसेडिङ गर्दा पुग्छ ।

केही महिनाभित्र काठमाडौंको लोडसेडिङ त अन्त्य गर्छौं नै सँगसँगै उपत्यका बाहिर पनि उल्लेख्य मात्रामा लोडसेडिङ घटाउँछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment