Comments Add Comment

अस्ट्रेलियाकी सांसदको नेपाल भ्रमणले लोभ्यायो धेरैलाई

jing-lee-samsad-australia
अष्ट्रेलियाली सांसद ज्याङ ली (बायाँबाट तेस्रो) सहितको टोली

सिड्नी । नेपालमा जतिबेला सबैजना तिहारको तामझाममा हराउँदै थिए, अस्ट्रेलियाबाट आएको एक विशिष्ट टोली भने घुमघाम र भेटघाटको चटारोमा थियो ।

दक्षिण अस्ट्रेलियाको संसद् सदस्य जिंग ली सहित ११ जनाको टोली अक्टोबर २३ तारिखको मध्याह्न काठमाडौं आइपुगेको थियो । सो टोली अघिल्लो दिन दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडबाट एकहप्ते भ्रमणका लागि नेपाल उडेको थियो ।

सांसद लीलाई नेपालमा स्वागत गर्न र भ्रमणको व्यवस्थापनका लागि दक्षिण अस्ट्रेलियाका लागि नेपालका महावाणिज्यदूत दीपक धमला अघिल्लै दिन काठमाडौं आइपुगेका थिए । गैरआवासीय नेपाली संघ दक्षिण अस्ट्रेलिया राज्यका सचिव नवीन पन्त पनि ट्रान्जिटको समय घटाएर केही घण्टाअघि मात्रै नेपाल पुगेका थिए ।

भ्रमण टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा न्यानो स्वागत पाएको थियो । अर्ध औपचारिक प्रकृतिको भ्रमणको आन्तरिक तयारी र प्रचारप्रसार करिब दुई महिनाअघिदेखि नै भएको थियो ।

राज्यकी सांसद र त्यसमा पनि दक्षिण अस्ट्रेलियामा प्रतिपक्षी लिबरल पार्टीकी (यद्यपि केन्द्र सरकारमा भने उनको पार्टी सत्तामा छ ।) भएकाले उनले नेपालमा सरकारी स्तरमा दुईपक्षीय राज्यस्तरीय छलफल गर्न सम्भव थिएन । तर, जनप्रतिनिधिका नाताले जनस्तरको सम्बन्धलाई बलियो बनाउन भने उनी सफल रहिन ।

भ्रमण पूरा गरी अस्ट्रेलिया फर्केपछि उनले यहाँको राज्य संसदमा आफ्नो नेपाल–यात्राबारे मन्तव्य दिइन् । सो क्रममा उनले नेपाल सामान्य र सुरक्षित अवस्थामा रहेको, विकासको बाटोमा लम्केको र नेपालीहरु निकै मायालु रहेको बताइन् । मन्तव्य दिँदै उनले भनिन्, ‘मेरो भ्रमण दलले जंगलको मुटु चितवन र सबैभन्दा सुन्दर पर्यटकीय आकर्षणको केन्द्र पोखरालाई चुम्यो ।’

Manarishi-Dhitalउनको यो मन्तव्यबाट दक्षिण अस्ट्रेलियाको समाजमा नेपालबारे निकै सकारात्मक धारणा बनेको छ ।

नेपालको साताव्यापी भ्रमणमा सांसद लीले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटन मन्त्री जीवनबहादुर शाही, वाणिज्य मन्त्री रोमी गौचन थकालीसँग भेटिन् । यसका साथै नयाँ शक्ति नेपालका हिसिला यमी र कल्पना धमला, पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीसँग भेटघाट गरिन् ।

उनी पर्यटन मन्त्री शाहीबाट निकै प्रभावित भइछिन् । संसदमा सम्बोधनका क्रममा निकै खुसी मुद्रामा उनले मन्त्री शाहीले भव्य भोजको आयोजना गरेको, सँगसँगै नाचेको उल्लेख गर्दै पर्यटन बोर्डका कार्यकारी प्रमुख जोशीलाई पनि सम्झिइन् ।

नेपालको ग्रामीण परिवेश बुझ्ने उद्देश्यले सांसद लीले चितवन तथा पोखरा जाँदा सडक मार्गको प्रयोग गरिन् । काठमाडौंबाट चितवन जाँदा उनले बाटोमा स्थानीय जनतासँग कुराकानी गर्दै अस्ट्रेलियाको माया साट्ने प्रयास गरिन् ।

भ्रमणमा लीका पति एड्डी लिउ पनि थिए । लिउले पनि यो भ्रमणलाई जीवनकै अविष्मरणीय र रमाइलो यात्रा भन्दै नेपालको महिमा गाए ।

सांसद ली अस्ट्रेलिया आइपुगेको दुई सातायता यहाँको थुप्रै कार्यक्रममा भाग लिइसकिन् । त्यस्ता कार्यक्रममा सहभागी हुँदा दर्जनौं तस्बिर आफ्नो फेसबुक पेजमा राखेकी पनि छिन् । तर, नेपाल भ्रमण गर्दा खिचेको फोटो भने अझैसम्म उनले आफ्नो प्रोफाइल र कभर फोटोबाट हटाएकी छैनन् । उनको भ्रमण दलमा रहेका अधिकांश सदस्यको प्रोफाइल वा कभर फोटो पनि नेपालकै छ ।

jing-lee-samsad-australia-1

यसबाट उनीहरुका हजारौं फेसबुक मित्र लोभिँदै अर्को वर्ष नेपाल जाने इच्छा देखाएका छन् । ढाकाटोपी सहितको पहिरन, हात्ती सयर, जंगल सफारी, पोखराबाट हिमशृंखला अवलोकन, नेपाली संस्कृति र खानपानको लोभलाग्दो तस्बिर र व्याख्या सुन्ने जो कोही नेपाल भ्रमण गर्न आतुर हुन्छ ।

सांसद लीले नेपाल भ्रमण गर्नुमा अस्ट्रेलियामा रहेका नेपालीहरुको हुटहुटीले काम गरेको थियो । उनले यहाँका नेपाली समुदायबाट गत वर्षको भुइँचालोपछि नेपाल सामाजिक र आर्थिक रुपमा अझै ब्युँझिन नसकेको भन्ने सुनेकी थिइन् । केही नेपालीहरुले उनलाई नेपालको भ्रमण गरेर सघाउन सुझाव दिएपछि उनी तयार भइन् ।

उनले आफ्नो भ्रमणलाई अध्ययन भ्रमण भनिन् र लक्ष्य बनाइन् भ्रमण गरी पुनर्निर्माणमा सघाउने । उनको भ्रमण दलमा पति एड्डीसहित विभिन्न पेशा-व्यवसायका मानिस थपिए । जसलाई उनले भिन्न पृष्ठभूमि र रुचिको,  विविधताबीच एकता भएको  र उमेरको आधारमा ६ पुस्ताको प्रतिनिधित्व गर्ने टिमको संज्ञा दिइन् ।

jing-lee-samsad-australia-2

भ्रमणका क्रममा उनले राजनीतिक र व्यावसायिक क्षेत्रका व्यक्तिहरुसँगको भेट र पर्यटकीय स्थलहरुको घुमघामका साथै केही अनाथ आश्रममा सहयोग, असहायहरुलाई कम्बल वितरण र स्कूले विद्यार्थीलाई पुस्तक वितरणमा पनि समय खर्चिन् ।

आफ्नो भ्रमणमा नेपालको समृद्ध संस्कृतिले गहिरो सद्भाव र सम्मान प्रदान गरेको भन्दै जिंग ली ले संसदमा भनिन्, ‘नेपाल भ्रमण गर्न चाहने सबैलाई म आश्वास्त पार्न सक्छु, भ्रमणका लागि नेपाल सुरक्षित देश हो । माननीय सदस्यहरु पनि अगाडि बढ्नुस्, नेपालले तपाईंलाई पर्खिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment