Comments Add Comment

फाल्गुनन्द जयन्तीका कारण संसद बैठक स्थगित

Parliament-Building of Nepal

२४ कात्तिक, काठमाडौं । किरात गुरु फाल्गुनन्द जयन्तीका कारण विहीबार बस्ने व्यवस्थापिका संसद बैठक स्थगित भएको छ ।

विहीबारको बैठकमा अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलले निरन्तरता पाउने कार्यसूची थियो ।

‘फाल्गुनन्द जयन्तीमा बैठक राख्नु भएन भन्ने किरात सांसदहरुको विशेष आग्रहअनुसार भोलिको बैठक स्थगित भएको छ र बैठक पर्सी विहान ११ बजे बस्छ,’ सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले अनलाइनखबरसँग भने ।

यसअघि संसद सचिवालयले विहीबारको संसद बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको थियो र कार्यसूचीमा महाअभियोग प्रस्तावमाथिको छलफलले नै निरन्तरता पाउने उल्लेख थियो ।

विहीबारको बैठक स्थगित भएकाले महाअभियोग प्रस्तावमाथिको छलफलले शुक्रबार निरन्तरता पाउने शर्माले बताए ।

नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । एमाले प्रमुख सचेतक भानुभक्त ढकालको समर्थन रहेको सो प्रस्तावमा १ सय ५७ सांसदको हस्ताक्षर छ । महाअभियोग प्रस्तावमाथि कात्तिक ९ गतेदेखि संसद बैठकमा छलफल सुरु भएको थियो । तर, महाअभियोग सिफारिस समितिमा नपठाइ संसद बैठक स्थगित गरिएको थियो ।

नेपाली कांग्रेसलाई महाअभियोगको पक्षमा सहमतिमा ल्याउन भन्दै बैठक स्थगित गरिए पनि हालसम्म कांग्रेससँग एमाले र माओवादीले औपचारिक छलफल गरेका छैनन् । संसदमा छलफल सुरु भइसके पनि कांग्रेसले महाअभियोगको सम्बन्धमा के गर्ने भनेर औपचारिक निर्णय गरिसकेको छैन ।

सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेले भने आफ्ना सांसदहरुलाई महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।

यो पनि पढ्नुहोस्

संसद बैठक दुई साता स्थगित हुनु संयोग कि नियोजित ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment