Comments Add Comment

भारु नोटबारे संसदमा सरकारको ध्यानाकर्षण

पूर्वअर्थमन्त्रीले भने–भारतबाट कालो धन भित्रिन सक्छ

Ramsharan-Mahat,-Minister-o

२६ कात्तिक, काठमाडौं । पूर्वअर्थमन्त्रीहरुले छिमेकी मुलुक भारतले आफ्नो ५०० र १००० का नोटमा लगाएको प्रतिवन्धपछि नेपालमा पर्ने असरबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री डा. रामशरण महत र सुरेन्द्र पाण्डेले नेपालीहरुको हितका लागि सरकारले काम गर्नु पर्ने बताएका छन् । साथै कालोधनलाई सेतो बनाउन सक्ने भन्दै सरकार सचेत हुनु पर्नेमा समेत पूर्वअर्थमन्त्रीको जोड छ ।

कांग्रेस नेतासमेत रहेका पूर्वअर्थमन्त्री डा. महतले भारत सरकारको निर्णयले सीमा क्षेत्रका साना व्यवसायी र भारतमा काम गर्ने नेपालीहरु मारमा पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सरकारले राजनीतिक पहल गर्नु पर्ने भन्दै उनले भने, स्रोत खुलेका, साना व्यवसायी र भारतमा काम गर्नेहरुको हित रक्षाका लागि सरकारले तुरुन्त कदम चालोस् । अर्थमन्त्री स्वयंम क्रियाशील हुनुपर्‍यो र प्रधानमन्त्रीले जागर देखाउनुपर्‍यो ।’

तर, यसरी काम गर्दा नेपालका साथै भारतमा भएका कालोधनलाई सेतो बनाउन सक्नेतर्फ उनले सचेत गराए ।

पूर्वअर्थमन्त्री महतले भारतबाट कालो धन नेपाल भित्रिने सम्भावना रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराको ध्यानाकर्षण गराए ।

डा. महतले भारतमा एक हजार र पाँच सय रुपैयाँका भारतीय नोटमाथि त्यहाँको सरकारले प्रतिबन्ध लगाएपछि त नेपाल भित्रिन सक्ने बताए । ‘भारतबाट ती नोटहरु कालो धनका रुपमा नेपालमा भित्रिने मलाई डर लागेको छ’, उनले भने, ‘यसबारे प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्युले जाँगर देखाउनुपर्‍यो, आजै, अहिल्यै यसलाई रोक्नेबारे पहल गर्नुपर्‍यो ।’

सदनमा बोल्ने क्रममा डा. महतले राष्ट्र बैंकलाई उधृत गर्दै नेपालमा करिब ३ करोड भारतीय रुपैयाँ रहेको बताएका थिए भने पूर्वअर्थमन्त्री पाण्डेले  चाँहि नेपालको बैंकमा साढे ३ करोड भारतीय रुपैयाँ रहेको बताएका थिए ।

Surendra Pandey_400पैसा बैंकमा राख्ने गरौं:पाण्डे

संसदमा बोल्दै एमाले नेता एवं पूर्वअर्थमन्त्री पाण्डेले नेपालीहरुको हितका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । उनले भने, नेपालमा फेरि कालोधनका रुपमा सटही गर्ने अवसरका रुपमा प्रयोग नहोस् ।

भारतले आफ्नो नोटमा प्रतिबन्ध लगाएको घटनाबाट नेपालले सिक्नुपर्ने बताउँदै पूर्वमन्त्री पाण्डेले पैसा बैंकमा राख्ने बानी बसाल्नुपर्ने र विदेशी नोटको प्रयोगमा समेच हुनुपर्ने पाठ यो घटनाले सिकाएको बताए ।

पूर्वअर्थमन्त्री महतले भनेजस्तो भारतबाट कालो धन नेपाल भित्रिने सम्भावना चाँहि आफूले त्यति धेरै नदेखेको पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment