Comments Add Comment

सकिनै लाग्यो स्मार्ट लाइसेन्स, थप ५३ हजार छाप्ने तयारी

Smart driving licence
२९ कात्तिक, काठमाडौं । सरकारले अभाव नै हुने अवस्था आएपछि थप ५३ हजार स्मार्ट लाइसेन्स छाप्ने भएको छ । गत मंसिरमा १ लाख ६० हजार स्मार्ट लाइसेन्स छापेर एकान्तकुनास्थित बाग्मती अञ्चल यातातात व्यवस्था कार्यालयले झण्डै १ लाखभन्दा बढी लाइसेन्स वितरण गरिसकेको छ ।

अब ६० हजार मात्रै लाइसेँन्स बाँकी रहेको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । उनकाअनुसार अब विभागले थप ५३ हजार स्मार्ट लाइसेन्स पुरानै प्रविधिमा आधारित भएर छाप्नेछ ।

त्यसपछि दोस्रो चरणको छपाइका लागि मन्त्रीपरिषद्बाट स्वीकृत गराएर थप स्मार्ट लाइसेन्स तयार गरिने उनले बताए । अर्को चरणमा लाइसेन्स छाप्दा अहिले देखिएका त्रुटी र समस्यालाई सच्याउने विभागको योजना छ ।

विभागले द्रुत प्रक्रियामा लाइसेन्स नछापे केही समयलगत्तै काठमाडौंमा वितरण नै रोकिने अवस्था छ । त्यसैले ५३ हजार लाइसेन्सको छपाइ पहिलो चरणमै जिम्मा पाएको भारतीय कम्पनी मद्रास पि्रन्टर्सलाई नै दिन लागेको छ ।

दोस्रो चरणको लागि टेण्डार प्रक्रिया अघि बढाउने तयारी पनि विभागको छ । पर्याप्त स्मार्ट लाइसेन्स नभएपछि विभागको उपत्यकाबाहिर अझै स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन । पहिलो चरण्मा बुटवल र पोखराबाट स्मार्ट लाइसेन्स मोफसलमा बाँड्ने भनिएपनि विभगले तयारी पुरा गरेको छैन ।

पर्याप्त स्मार्ट लाइसेन्स नभएपछि विभागले द्रुतगतिमा काठमाडौं मै पनि लाइसेन्स बाँड्न सकेको छैन । अहिले नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेलाई मात्र स्मार्ट कार्ड उपलब्ध गराइएको छ ।

दुईवर्षभित्र २५ लाख स्मार्ट लाइसेन्स वितरण गर्ने भन्दै विभागले गरेको घोषणा अब घोषणमै सीमित हुने अवस्था देखिएको छ । स्मार्ट लाइसेन्सको सिस्टममा पनि विभिन्न समस्या आउँदा विभागले प्रभावकारी कार्यसम्पादन गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment