Comments Add Comment

चितवन मेडिकल कलेजको क्यान्टिनमा अखाद्य बस्तु

cmc-canteen-anugaman

२ मंसिर, भरतपुर । चितवन मेडिकल कलेजभित्र सञ्चालनमा रहेको ‘हाम्रो क्यान्टिन चमेना गृह एवम् जुस सेन्टर’मा अखाद्य बस्तु भेटिएको छ ।

क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाको निर्देशनमा जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार गरेको अनुगमनको क्रममा क्यान्टिनभित्र म्याद गुज्रिएको पाउरोटी, अखाद्य पाउडर ‘हाइड्रो’ तथा म्याद गुज्रिएको मसला भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्मा नेतृत्वको टोलीले क्यान्टिनको अनुगमन गरेको थियो ।

गत कात्तिक २४ गते हेलो सरकारमा परेको उजुरीको आधारमा क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाले जिल्ला प्रशासन कार्यालयलाई चितवन मेडिकल कलेज भित्रको क्यान्टिन अनुगमन गर्नका लागि पत्र काटेको थियो । कात्तिक २० गते अस्पताल भित्रको क्यान्टिनमा खाना खाने क्रममा शंखेकिरा भेटिएको भनेर हेल्लो सरकारमा उजुरी परेको थियो । सो उजुरी उपर छानविन तथा कारबाही प्रकृया अगाडि बढाउनका लागि क्षेत्रीय प्रशासन कार्यालयले पत्र काटेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक नविन देउजाले क्यान्टिन अनुगमन गर्दा म्याद गुज्रिएका पाउरोटीहरु फ्रिजमा भण्डारण गरेको अवस्थामा भेटिएको बताए ।

अस्पताल जस्तो संवेदनशील ठाउँको चमेना गृहमा अखाद्य बस्तु तथा म्याद गुज्रिएको खानेकुराहरु भेटिनु जनस्वास्थ्यप्रति हदैसम्मको खेलवाड भएको खाद्य निरीक्षक देउजाले बताए ।

उक्त क्यान्टिनमा यस अगाडि पनि खाने भाँडाहरु राम्रोसँग सफा नगरेको, क्यान्टिनको वातारण समेत फोहोर गन्हाउने अवस्थामा रहेको गुनासो बिरामी तथा बिरामीका आफन्तहरुले गर्दै आएका थिए ।

अस्पतालमा परिसरमा रहेको उक्त क्यान्टिन नेकपा एमाले चितवनका जिल्ला सदस्य कृष्णराज न्यौपाने लगायतका व्यक्तिले सञ्चालन गर्दै आएका छन् ।

अनुगमनका क्रममा मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर गर्ने म्याद गुज्रिएका सामग्री तथा अखाद्य वस्तुहरु भेटिएपछि खाद्य ऐन अनुसार कारबाही प्रकृया अगाडि बढाइने बजार संरक्षण अधिकृत शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment