३ मंसिर, चितवन । कन्स्ट्रक्सनको पैसाले अमेरिकामा घर बनाएको सगर्व घोषणा गर्ने भूमिसुधार मन्त्री विक्रम पाण्डेले विकास आयोजनाहरुमा कसरी जनतालाई उल्लु बनाएर राज्यकोषको दुरुपयोग गरिरहेका छन् भन्ने दृष्टान्त हेर्न चाहनेहरुले उनकै चुनाव क्षेत्र चितवनको माडीमा आए हुन्छ ।
चितवनको माडीमा भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेको कम्पनी कालिका कन्सट्रक्सनले निर्माण गरेको पीचको अधिकांश स्थानमा खाली देखिन्छ । माडीको रिउखोलादेखि रिमालखोलासम्म १२ किलोमिटर सडक पाण्डेको निर्माण कम्पनी कालिकाले निर्माण गरेको हो । यो सडकको दुरावस्थाबारे अख्तियारले समेत छानविन थालेको छ ।
तर, निर्माण पूरा भएको दुई वर्ष पनि पूरा नहुँदै पीच जतासुकै उप्किएको छ । सबैभन्दा बढी गर्दी क्षेत्रको पीच भत्किएको छ । यो पीचको चौडाइ जम्मा ३ मिटर मात्रै छ । जब कि सडकको एक लेनका लागि कम्तिमा पनि ३.५ मिटर चौडाइ हुनुपर्दछ ।
सडक पीच गर्ने ठेकेदार पक्षले जिविस तथा सडक विभागलाई नाममात्रैको काम गरेर सडक हस्तान्तरण गरेका थिए । सडक हस्तान्तरण गरेलगत्तै पीच भत्किन सुरु भए पनि हालसम्म मर्मत हुन सकेको छैन ।
मन्त्री पाण्डे आफैं सञ्चालक रहेको कालिका कन्सट्रक्सन प्रालिले निर्माण गरेको १२ किलोमिटर सडकमध्ये वनकट्टा, गर्दी, चिरौलीलगायतका क्षेत्रमा पीचको नाम निशानै छैन
गर्दी–बरुवा–चिरौली लगायतका क्षेत्रका स्थानीयले बाटो बिग्रिएकोमा दुखेसो पोखेका छन् । उनीहरु बाटो हिँड्नै सास्ती परिरहेको बताउँछन् । विकास बजेटजति ठेकेदारको पोल्टामा परेको र काम राम्रोसँग नहुँदा जनताले दुःख पाएको उनीहरु बताउँछन् ।
मन्त्री पाण्डे आफैं सञ्चालक रहेको कालिका कन्सट्रक्सन प्रालिले निर्माण गरेको १२ किलोमिटर सडकमध्ये वनकट्टा, गर्दी, चिरौलीलगायतका क्षेत्रमा पीचको नाम निशानै छैन ।
जिल्ला विकास समिति मार्फत माडीको २४ किलोमिटर सडकखण्डलाई चार खण्डमा विभाजन गरी निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको थियो । यसबो चार खण्डमध्ये दुई खण्ड १२ किलोमिटर कालिका कन्स्ट्रक्सन प्रालिले र बाँकी २ खण्ड ६÷६ किलोमिटरका दरले धनथान कन्र्सटक्सन प्रालि र धादिङको एक निर्माण कम्पनीलाई दिइएको थियो ।
पाण्डे अध्यक्ष रहेको कन्सट्रक्सनले माडीको रिउको पुलदेखि १२ किलोमिटर रिमाल खोलासम्म ठेक्का पाएको थियो । रिउको पुलदेखि झण्डै २ सय मिटर सडक पिच गरिएको छैन । तर, उनको कन्र्सटक्सनले त्यसलाई पनि १२ किलोमिटरभित्र नै हालेर रकम लिएको र चिरौली खोलामा समेत निर्माण गर्ने भनिएको पुल निर्माण नगर्दा पिच भत्किएको स्थानीय बताउँछन् ।
कन्स्ट्रक्सनको बिजनेसबाट आफूले अमेरिकामा घर किनेको सगर्व बताउने मन्त्री पाण्डेले बाटोको ठेक्का लिने र राम्रो बाम नगरी पैसा पचाउने काम चितवनमा मात्रै होइन, देशैभरि गर्दै आएका छन् ।
पाण्डेको ठेकेदार कम्पनीले बनाएको माडीमा एकोहोरो गाडी गुडाउनै मुस्किल हुने पिचमा दोहोरो सवारी गुड्ने सम्भावना छैन । कतिपय स्थानमा खोलाको उचित व्यवस्थापन नै नगरी पिच निर्माण गर्दा बगाएको छ भने, कतिपय स्थानमा पिच नै उप्किएर ठूला ठूला खाडलहरु बनेका छन् । यसले गर्दा दुर्घटनाको जोखिम निकै बढेको छ ।
ग्रामीण पुनर्निर्माण तथा पुर्नस्थापना क्षेत्रगत बिकास कार्यक्रम अन्र्तगत एशियाली बिकास बैंकको सहयोगमा ४ करोड २५ लाखको लागतमा माडीमा कालोपत्रे गरिएको हो ।
माडी पीचको फाइल अख्तियारमा
माडीको २४ किलोमिटर सडकखण्ड पिचमा अनियमितता र गुणस्तरहीन कार्य गरेको भन्दै उजुरी परेपछि अख्तियारले निर्माण प्रकृयाका सबै फाइल लगेको छ ।
गएको भाद्र १५ गते अख्तियारले जिविस चितवनमा रहेको जिल्ला प्राविधिक कार्यालयबाट सबै प्रकृयाको सक्कल कपी सहितको फाइल लगेको कार्यालयका इन्जिनियर बीरेन्द्र चौधरीले जानकारी दिए ।
जिविसको रेकर्ड अनुसार गत भदौ १५ गते चलानी नम्बर ४५८ को पत्र अख्तियारको कोठा नम्बर ४११ मा पठाइएको छ । अख्तियारको ४११ नम्बर कोठामा इजाजत छानबिन इकाइ छ ।
जिविस स्रोतका अनुसार निर्माण कार्यमा अनियमितता भएको भन्दै मुद्दा चलाउने तयारी भैरहेको छ ।
सांसद विकास कोषको पैसा पनि आफ्नै कन्सट्रक्सनलाई
अमेरिकाको मेरील्याण्डमा घर बनाएका मन्त्रीले पाण्डे चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचित सांसद पनि हुन् । सांसद बिकास कोष मार्फत आउने ३ करोड ५० लाख रकमबाट पूँजिगत निर्माणमा लगाउने रकम आफ्नै कालिका कन्सट्रक्सन प्रालिद्वारा गराउँदै आएका छन् ।
स्थानीय उपभोक्ता समितिका अध्यक्ष र पदाधिकारीहरुसँग साँठगाठ गरी पाण्डेले आफ्नै निर्माण कम्पनी मार्फत काम गरी सांसद बिकास कोषको पैसा घुमाएर आफैलाई आउने वातावरण निर्माण गरेको माडीका युवा नेता रामप्रसाद न्यापानेको भनाइ छ ।
पाण्डेले कालिका कन्र्सटक्सन मार्फत सरकारसँग तथा स्थानीय निकायसँग ठेक्का लिने र त्यसलाई आफूले निर्माण गरेको भनेर जनतामा ब्यापक भ्रम सिर्जना गर्ने काम गर्दै आएका छन् । उनले यसमा नै आफ्नो राजनीतिको रोटी सेकाएका छन् । मन्त्री पाण्डे स्थानीय कालिका एफएमका अध्यक्ष एवं प्रवन्ध निर्देशकसमेत हुन् ।
कालिका एफएम र कालिका टिभी सञ्चालन गरेका पाण्डेले तिनको चरम दुरुपयोग गरेर सरकारसँग ठेक्का लिएर निर्माण गरेका कामहरु समेत आफुले निर्माण गरेको हो भन्दै ब्यापक प्रचार–प्रसार गर्दै आएका छन् ।
चाडपर्वका बेला पहिला राजामहाराजाको जस्तै जनताका नाममा सन्देश दिने पाण्डेले बरिष्ठ समाजसेवीको स्वघोषित उपाधि समेत लगाएका छन् ।
सम्झौतामा अनुसार वृक्षारोपण गरिएन
कालिका कन्सट्रक्सन प्रालिले सडक निर्माण गर्ने टेण्डर पाउँदा सडक छेउछाउमा वृक्षारोपण गर्ने भनी बजेट छुट्टाइएको भए पनि वृक्षारोपण समेत नभएको स्थानीयको आरोप छ ।
सडक पिच गर्ने भनिएपछि त्यससँग जोडिएर आउने कल्भर्ट, कज वे, तारजाली लगायतका कामहरु पनि ठाउँ–ठाउँमा भएका छैनन् । जसले गर्दा माडीका ठाडा खोलाहरुले कटान गरी सडकको पिच भत्काएका छन् ।
कांग्रेससँग अघोषित सम्झौताबाट निर्वाचित
पाण्डे चितवन निर्वाचन क्षेत्र नम्बर ५ बाट पटक–पटक पराजित भएका उम्मेदवार भए पनि ०७२ सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने उनले कांग्रेससँग अघोषित सम्झौता गरेर व्यापक पैसा खर्च गरी निर्वाचन जितेको माडीवासी बताउँछन् ।
स्रोतका अनुसार चुनावमा कांग्रेसलाई चितवनका निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ मा राप्रपाले सहयोग गर्ने र क्षेत्र नम्बर ५ मा कांग्रेसले राप्रपाका महामन्त्री समेत रहेका पाण्डेलाई सहयोग गर्ने आन्तरिक सहमति भएको थियो ।
कांग्रेसको सवैभन्दा बलियो क्षेत्र खोज्दै बाँकेबाट चितवनको निर्वाचन क्षेत्र नम्बर ४ मा आएका तत्कालीन पार्टी सभापति सुशील कोइरालाले यसै सहमति अनुसार क्षेत्र नम्बर ५ मा अन्य प्रभावशाली नेताहरु हुँदाहुँदै कमजोर महिला उम्मेदवार सविता बराललाई उम्मेदवार बनाएका थिए ।
पाण्डेले जितेको निर्वाचन क्षेत्र नम्बर ५ मा राप्रपाको कुनै सांगठनिक जनआधार छैन । उनले निर्वाचनताका कतिपय स्थानमा यसपटक पनि निर्वाचनमा पराजित भए कहिल्यै पनि चुनावमा नउठ्ने र क्षेत्र नम्बर ५ मा कहिल्यै पनि फर्किएर नआउने बताएका थिए ।
पाण्डेले कुल १० हजार ७ सय ७९ मत ल्याएर जित्दा एमालेका दानबहादुर तामाङले ८ हजार ४ सय ४ मत प्राप्त ल्याए । कांग्रेसकी बरालले जम्मा ४ हजार ४ सय मत पाउदा कांग्रेसले समानुपातिकमा ६ हजारको हाराहारीमा मत ल्याएको थियो ।
पराजित कांग्रेस उम्मेदवार बरालले अनलाइनखबरलाई भनिन् ‘माथि माथिका नेता मिलेर मलाई बलीको बोको बनाए, पैसा पनि खाए भोट पनि खाए ।’
देशैभर नै राप्रपाको शक्ति क्षय हुँदा पाण्डे र दीपक बोहोराहरुले निर्वाचन जित्नु भनेको पैसा र शक्तिको दुरुपयोग तथा अघोषित भित्री–बाहिरी साँठगाठ भएको जानकारहरु बताउँछन् ।
प्रतिक्रिया 4