Comments Add Comment

रुपन्देहीमा १६ स्थानीय तह बनाउन सिफारिस, एमाले र माओवादीको फरक मत

मधेसी मोर्चाद्वारा आन्दोलन घोषणा

rupandehi-new-map

५ मंसिर, भैरहवा । विवादकाबीच रुपन्देहीमा १६ स्थानीय तह बनाउने सिफारिस गरिएको छ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लामा एउटा उपमहानगरपालिका, ५ नगरपालिका र १० वटा गाउँपालिका गरी १६ स्थानीय तह बनाउने निर्णय गरी आयोगमा सिफारिस गरेको छ ।

लामो छलफल र मधेसी मोर्चाको असहमतिकाबीच अत्यधिक सहमतिले जिल्लामा १६ वटा स्थानीय तह बनाउन सिफारिस गरिएको प्राविधिक समिति संयोजक एवम् रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले बताए ।

माओवादी केन्द्रले संख्या ठीक भए पनि सीमांकन बेठीक रहेको भन्दै फरक मत राखेको छ । यसैगरी नेकपा एमाले रुपन्देहीमा १४ स्थानीय तह हुनुपर्ने मत राखेको छ भने मधेसी मोर्चाले हचुवाको भरमा जिल्लामा कित्ताकाट भएको भन्दै असन्तुष्टि जनाएको छ ।

दलहरुका फरक मतसमेत समावेश गरी केन्द्रमा प्रस्ताव पठाइएको जिल्ला विकास समितिका योजना अधिकृत विष्णुप्रसाद ढुगांनाले बताए ।

यस्तो छ पुनर्संरचना प्रस्ताव

प्राविधिक समितिले जिल्लामा रहेका बुटवल उपमहानगरपालिका र पाँच नगरपालिका (तिलोत्तमा, सिद्धार्थनगर, लुम्बिनी संास्कृतिक, सैनामैना र देवदह) यथावत राखेको छ । तिनीहरुको केन्द्र पनि यथावत छ ।

सैनामैना र देवदह नगरपालिकामा ६० हजार जनसंख्या हुनुपर्ने मापदण्ड पूरा नभए पनि नगरपालिका बनाउने सबै पूर्वाधार रहेकाले नगरपालिका बनाउन प्रस्ताव गरिएको समितिले जनाएको छ ।

नगरपालिकालाई बनाउन ६० हजार जनसंख्या हुनुपर्छ । तर २०६८ सालको जनगणना अनुसार देवदह नगरपालिकाको जनसंख्या ४२ हजार ९ सय ५३ र सैनामैना नगरपालिकाको जनसंख्या ३८ हजार ३ सय ५ मात्र छ । तर यी नगरपालिकामा भूकम्पपछि जनसंख्याको वृद्धिद्धर बढेको, पहिले नगरपालिकका घोषणा भइसकेको, धार्मिक र ऐतिहासिक क्षेत्र भएका लगायतका कारण नगरपालिका हुने सबै पूर्वाधार रहेकाले देवदह र सैनामैनालाई पनि नगरपालिका बनाउने सिफारिस गरिएको ढुगांनाले बताए ।

यी हुन् रुपन्देहीका प्रस्तावित गाउँपालिका

प्राविधिक समितिले १० वटा गाउँपालिका प्रस्ताव गरेको छ । रोहिणी, ओमसतिया, सिहारी, मर्चवार, सम्री, कोटहीमाई, मायादेवी, गैडहवा, कञ्चना र शुद्धोधन गाउँपालिका प्रस्ताव गरिएको हो ।

रोहिणी गाउँपालिका

रोहिणी गाउँपालिकामा बगाहा, पोखरभिण्डी, धकधई, पज्जरकट्टी, छिपागढ र वोदवार गरी ६ वटा गाविसलाई गाभिएको छ । रोहिणी गाउँपालिकाको केन्द्र धकधईमा रहने छ । यसको जनसंख्या ४७ हजार २ सय ९० छ ।

ओमसतिया गाउँपालिका

४४ हजार २ सय ७३ जनसंख्या रहेको र हाटिफर्साटिकरमा केन्द्र रहने गरी ओमसतीय गाउँपालिका प्रस्ताव गरिएको छ । यस गाउँपालिकामा पडसरी, हाटीफर्साटिकर, पट्खौली, बसन्तपुर, सिक्टहन र छोटकी रामनगर गरी ६ वटा गाविस रहनेछन् ।

सिहारी गाउँपालिका

४३ हजार ९ सय ७५ जनसंख्या रहेको र हर्नेयामा केन्द्र राख्ने गरी सिहारी गाउँपालिका प्रस्ताव गरिएको छ । यस गाउँपालिकामा पश्चिम अमवा, दयानगर, हर्नेया, चिल्हिया र मैनिहावा गरी ५ वटा गाविसलाई मिसाउन प्रस्ताव गरिएको छ ।

मर्चवार गाउँपालिका

प्राविधिक समितिले सिफारिस गरेको अर्को गाउँपालिका मर्चवार हो । यसको केन्द्र सिलौटिया प्रस्ताव गरिएको छ । मर्चवारको जनसंख्या ३७ हजार ७ सय ७६ छ । यस गाउँपालिकामा सेमरा मर्चवार, रायपुर, सिलौटिया र बगौली गरी ४ वटा गाविसलाई गाभ्न प्रस्ताव गरिएको छ ।

सम्री गाउँपालिका

सम्री गाउँपालिकाको केन्द्र फरेना प्रस्ताव गरिएको छ । ३८ हजार ३ सय ५ जनसंख्या रहेको समरी गाउँपालिकामा बेतकुइया, रोहिनिहवा, असुरैना, फरेना, थुमुवा पिपरहवा र करौता गरी ६ वटा गाविसलाई गाभिने छ ।

कोटहीमाई गाउँपालिका

४१ हजार ६ जनसंख्या रहेको र कोटहीमाइ गाउँपालिकाको केन्द्र मझगावा प्रस्ताव गरिएको छ । यस गाउँपालिकामा सक्रौन पकडी, सिपवा, मझगावा, बोगडी, बैयरघाट र मर्यादपुर गरी ६ वटा गाविसलाई मिसाउन सिफारिस गरिएको छ ।

मायादेवी गाउँपालिका

यस्तै कम्हरीया (बरेवा)मा केन्द्र रहने गरी मायादेवी गाउँपालिका बनाउन सिफारिस गरिएको छ । जसमा धमौली, कम्हरीया, गोनहा र हाटिबनगाई गरी ४ वटा गाविसलाई समावेश गरिएको छ । प्रस्तावित यो गाउँपालिकामा ४७ हजार १ सय ५६ जनसंख्या छ ।

गैडहवा गाउँपालिका

विष्णुपुरा केन्द्र रहने गरी गैडहवा गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ । जसमा साडी, जोगडा, विष्णुपुरा र सुर्यपुरा गाविसलाई गाभिएको छ । प्रस्तावित यो गाउँपालिकामा ४७ हजार ५ सय ९३ जनसंख्या छ ।

कञ्चना गाउँपालिका

यस्तै गजेडीमा केन्द्रमा रहने गरी कञ्चना गाउँपालिका बनाउन सिफारिस गरिएको छ । जसमा सालझण्डी, रुद्रपुर र गजेडी गरी ३ वटा गाविसलाई समावेश गरिएको छ । यो गाउँपालिकामा ४३ हजार ५ सय ३६ जनसंख्या छ ।

शुद्धोधन गाउँपालिका

मानपकडीमा केन्द्र रहने गरी शुद्धोधन गाउँपालिका बनाउन सिफारिस गरिएको छ । जसमा सौफर्साटिकर, खड्वा बनगाई, मानपकडी र मानमटेरिया गरी ४ वटा गाविस गाभिएको छ । यस गाउँपालिकामा ३५ हजार ७ सय २८ जनसंख्या छ ।

माओवादी केन्द्र भन्छ- संख्या ठीक, सीमांकन बेठीक

नेकपा माओवादी केन्द्रले १६ स्थानीय तहमा सहमति रहेपनि गाउँपालिका र नगरपालिकाको सीमांकनमा भने केही फरक मत राखेको छ । सिक्टहन गाउँपालिकालाई यथावत राख्ने, पडसरी गाविस, चिल्हिया गाविस र हाटिबनगाई गाविसको आधा भागमा प्रस्तावित सिद्धार्थ नगरपालिकमा मिसाउनुपर्ने, सैनामैना नगरपालिकामा सालझण्डीको माथिल्लो भाग मिसाउनुपर्ने लगायतका धारणा माओवादी केन्द्रको छ ।

एमाले १४ स्थानीय तहको पक्षमा

नेकपा एमालेले भने १६ स्थानीय तहमा सहमति जनाएको छैन । जिल्लामा एउटा उपमहानगरपालिका, ५ नगरपालिका र ८ गाउँपालिका गरी १४ स्थानीय तहमात्र बनाउनुपर्ने एमालेको धारणा छ ।

देवदह नगरपालिका र सिक्टहन गाविसलाई गाभेर देवदह नगरपालिका बनाउनुपर्ने एमालेको मत छ । पट्खौली, छिपागढ, धकधई, पोखरभिण्डी, छोटकीरामनगर, पजरकट्टी र बोदवार गाविसलाई गाभेर धकधई गाउँपालिका बनाउनुपर्ने एमालेको धारणा छ ।

मधेसी मोर्चाको विरोध, आन्दोलन सुरु

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले १६ वटा स्थानीय तह बनाउने आयोगमा सिफारिस गरेपछि मधेसी मोर्चाले जिल्लामा आन्दोलन सुरु गरेको छ । प्रदेशको सीमांकन टुंगो नलगाई जिल्लामा स्थानीय तह बनाउने कार्य गलत रहेको भन्दै मधेसी मोर्चाले विगतदेखि नै विरोध गर्दै आएको थियो ।

मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टी रुपन्देहीका उपाध्यक्ष अजय गुप्ताले प्रदेशको सीमांकन नगरी जनताको भावना विपरीत हचुवाको भरमा जिल्लामा कित्ताकाट गरी स्थानीय तहको सिफारिस गरिनु गलत रहेको बताए ।
उनले जनताको भावना विपरीत जिल्लाको कित्ताकाट गरिएको कारण सोमबारदेखि नै आन्दोलन थालिसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment