५ मंसिर, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नयाँ राजाको संज्ञा दिएका छन् । विस्तृत शान्ति सम्झौता गलत ढंगले भएकाले देशमा नयाँ-नयाँ राजाको जन्म भएको उनले टिप्पणी गरे ।
विस्तृत शान्ति सम्झौता भएको १० वर्ष पुगेको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा वैद्यले भने, ‘शान्ति सम्झौता गलत ढंगले भयो । त्यतिबेला माओवादी केन्द्रीय समितिले निर्णय गरेकै होइन । त्यसैले अहिले तीन बडे राजाहरु जन्मिए । कांग्रेस पहिलो बडे राजा, एमाले दोस्रो र हाम्रै सहगोत्री माओवादी तेस्रो बडेराजा ।’
कांग्रेस, एमाले र माओवादी केन्द्रको नेतृत्व पटक-पटक सरकारमा पुगे पनि शान्ति सम्झौता इमान्दारीताका साथ पालना नगरेको आरोप लगाए । नेतृत्वको गलत कदमका कारण माओवादी जनयुद्धको उपलब्धी पनि संसदमा पुगेर टुंगिएको उनले बताए ।
‘संविधान सभा र अहिलेको सबै परिस्थितिको केन्द्रमा माओवादी छ । पञ्चायतकालदेखि अहिलेसम्म सत्तामा एउटै व्यक्ति दोहोरी रहे । त्यसैले माओवादी जनयुद्धको उपलब्धी संसदमा पुगेर टुंगियो,’ अध्यक्ष वैद्यले भने ।
जनयुद्धका शहिद, वेपत्ता, घाइते अपांगका सपना पूरा नगरेसम्म शान्ति र संविधानको औचित्य नहुने धारणासमेत राखे ।
उनले अहिले क्रान्तिकारी पार्टीहरु तल परेकाले आफूहरुले उठाएका मुद्दा कमजोर देखिएको बताए । त्यसैले सबै क्रान्तिकारी शक्तिलाई एकठाउँमा आउन उनले अपिल गरे ।
गलत क्रियाकलापविरुद्ध संघर्ष गर्न आफ्नो पार्टी तयार रहेको भन्दै अध्यक्ष वैद्यले भने, ‘अहिले हामी क्रान्तिकारी पार्टीहरु तल परेका छौं । सधैं उनीहरु (कांग्रेस, एमाले र माओवादी केन्द्र) मात्रै माथि पर्छन् भन्ने छैन । हामीहरु एक ठाउँमा आउन जरुरी छ ।’
प्रतिक्रिया 4