Comments Add Comment

मन्त्रिपरिषद बैठक: स्थानीय, प्रदेश र संघीय कानुन तर्जुमा गर्न स्वीकृति

नागढुङ्गा सुरुङमार्ग बनाउन १७ अर्ब रूपैयाँ ऋण सहायता स्वीकृत

Pm-office

१२ मंसिर, काठमाडौं । सरकारले सहसचिव कृष्णप्रसाद देवकोटालाई सचिवमा र रवीन्द्र पण्डितलाई अनुसन्धान निर्देशकमा बढुवा गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सडक क्षेत्र विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त पाँच अर्ब ८८ करोड र विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त १३ अर्ब रूपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय, प्रदेश र संघीय कानुन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

दाङ उपत्यका तथा माडी–लुङ्ग्री करिडोर सिँचाइ योजना सञ्चालन गर्ने निर्णय

सरकारले रुपाताल संरक्षण एकीकृत विकास परियोजना र बृहत् दाङ उपत्यका तथा माडी–लुङ्ग्री करिडोर सिँचाइ योजना सञ्चालन गर्ने निर्णय गरेको छ । साथै जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

जापान सरकारबाट नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि प्राप्त १७ अर्ब रूपैयाँ ऋण सहायता स्वीकृत गरिएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै अनशनरत प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।

सरकारले सट्टाभर्ना दिने गरी पर्सा र शुक्लागण्डकी नगरपालिका अन्तर्गत अव्यवस्थित बसोबास गरिरहेका व्यक्तिका नाममा जग्गा दर्तासम्बन्धी गठन आदेशलाई स्वीकृत गरेको छ ।

आजको बैठकमा संविधान संशोधनको प्रस्ताव पारित गर्ने भनिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तताका कारण त्यसबारे छलफल हुन नसकेको सूचना तथा सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment