१३ मंसिर, काठमाडौं । भारतीय योग गुरु रामदेवले पतञ्जली आयुर्वेद प्राली नेपालमा आफ्नो कुनै लगानी नभएको दाबी गरेका छन् । साथै उनले नेपाल सरकारसँग अनुमति लिएर लगानी गर्ने बताएका छन् ।
रामदेवले सोमबार साँझ विज्ञप्ति जारी गर्दै पतञ्जली आयुर्वेद प्राली नेपालमा अहिलेसम्म भएको लगानी डा. उपेन्द्र महतो र पत्नी डा. समता प्रसादको भएको बताएका छन् ।
‘यसमा आजको मितिसम्म पतञ्जली आयुर्वेद लिमिटेड भारतको कुनै लगानी छैन,’ उनले भनेका छन्, ‘हाम्रो योजनाअनुसार भविष्यमा पतञ्जली आयुर्वेद लिमिटेड भारतबाट जे जति लगानी हुन्छ, त्यो सबै प्रचलित कानूनअनुसार प्रक्रिया पुर्याएर गरिनेछ ।’
साथै उनले छिट्टै पतञ्जली नेपालमा बहुमत शेयर पतञ्जली आयुर्वेद भारतको हुने रामदेवले बताएका छन् । र, सम्पूर्ण मुनाफा नेपालमै विभिन्न परोपकारी क्षेत्रमा अनुदान दिइने उनले बताएका छन् ।
‘मैले आफ्नो सम्पूर्ण जीवन नै कालो धन, भ्रष्टाचार र अनियमित आर्थिक व्यवहारका बिरुद्धको लडाईंमा समर्पित गरेको छु,’ रामदेवले भनेका छन्, ‘हाम्रो पहिचान भन्नु नै आर्थिक पारदर्शिता हो । तसर्थ मैले नै अनियमित लगानी गर्ने वा त्यस किसिमको आर्थिक व्यवहार गर्ने कुरा सम्भव छैन ।’
उनले आफूहरु नेपालमा कमाईका लागि नभई नेपाली जनताको भलाईका लागि आएको दाबी गरेका छन् ।
प्रतिक्रिया 4