१५ मंसिर, काठमाडौं । पाकिस्तान विरुद्ध ४७ रनमा अलआउट । श्रीलंका विरुद्ध २३ र बंगलादेश विरुद्ध ४१ रनमा अलआउट ।
महिला एसिया कपमा नेपालको यस्तो प्रदर्शन देख्दा धेरैलाई लाग्छ, कस्तो झुर खेलेको ! हामी त धेरै कमजोर रहेछौं !
तर, यो निष्कर्ष निकाल्नुअघि एक पटक सोच्नुस् त, हाम्रा चेलीहरुले कसरी तयारी गर्छन् ?
मिडियम पेश बलर सबनम राई टिम अभावको समस्या राख्दै भन्छिन्, ‘एक जना ब्याट्सवुमन राखेर म बलिङ गर्छु । रुविना दिदीले कुनै बेला फिल्डिङ गरिदिनुहुन्छ, कोही बेला फिल्डिङ गर्नुहुन्छ । त्यसरी खेल्छौं ।’
झापाकी सबनमले विश्वकप छनोटमा डेब्यू गरिन् र अहिले थाइल्याण्डमा एसिया कप खेलिरहेकी छन् । तर, प्रतियोगिता अगाडि हुने छोटो अवधिको बन्द प्रशिक्षणलाई छाड्ने हो भने नेपाली महिला टोलीका धेरै सदस्यले राम्ररी खेल्नै पाएका हुँदैनन् ।
सशस्त्र प्रहरीको एपीएफ क्लबमा आबद्ध भएकाहरुले दैनिक अभ्यास गर्ने मौका पाएका छन् । तर, अरुका लागि अभ्यास गर्न चाहिने न्यूनतम टिम बनाउन नै हम्मेहम्मे पर्ने अवस्था छ ।
***
गृहजिल्ला झापामै १२ कक्षामा अध्ययनरत सबनम राईले क्रिकेट खेल्न थालेको ६/७ वर्ष भयो । बाल्यकालमा उनले ब्याट समाउने मौका पाइनन् । स्कूलमा पनि भलिबल मात्र खेलिन् ।
बैंकक उड्नुअघि अनलाइनखबरसँगको भेटमा उनले सम्झिइन्, ‘विरु श्रेष्ठ सरले स्कूलबाट खेल्न भन्नुभो । सुरुमा रहन नै लागेन । तर, साथीहरुको करमा क्रिकेट खेलेँ ।’
त्यसपछि झापाको मिलन क्रिकेट क्लबबाट खेलिन् । पूर्वाञ्चल हुँदै नेपालको राष्ट्रिय टोलीमा परेकी छन् ।
एक समय त यस्तो आयो, अरुलाई सम्झाउने र क्रिकेटमा ल्याउने प्रयास गर्दै हिँडेकी सबनम आफैंले क्रिकेट छाडेकी थिइन्
प्रतियोगिता नभएको बेला उनी झापामै बसेर अध्ययन गर्छिन् । दैनिक एक/डेढ घन्टा क्रिकेट खेल्छिन् । तर, टोली बनाउनै गाह्रो छ । ‘दुई जना, तीन जना भए पनि हामी खेल्छौं । रुविना (क्षेत्री) दिदीले क्याचहरु गराउनुहुन्छ । एक जना ब्याट्सवुमन राखेर बलिङ गर्छु’, उनले भनिन् ।
***
रुविना क्षेत्री र सबनम राईहरुले झापाका स्कूलहरुमा गएर क्रिकेट सिकाएका पनि छन् । तर, आकर्षण छैन । सबनमकै बहिनी क्रिकेट छाडेर फुटबल खेल्न थालेकी छन् । ‘स्पोर्टसमा लागेर काम छैन भनेर परिवारले खेल्न दिँदैनन्,’ तीतो अनुभव सुनाइन् ।
एक समय त यस्तो आयो, अरुलाई सम्झाउने र क्रिकेटमा ल्याउने प्रयास गर्दै हिँडेकी सबनम आफैंले क्रिकेट छाडेकी थिइन् ।
‘अब केही नहुने रहेछ, म पनि खेल्दिनँ भनेर ड्रेस, सुज सबै भाइबहिनीलाई दिएकी थिएँ’, सबनमले भनिन् ।
किन त ? उनले भनिन्, ‘खेल नभएको दुई वर्ष भइसकेको थियो ।’
त्यसपछि रुविनाले कर गरिन् । विश्वकप छनोटअघि ‘खेल्नुपर्छ, यो पटक चान्स छ’ भनेको उनलाई अहिले पनि याद छ ।
आमाले त कर गरेकै थिइन् । त्यसपछि उनी अभ्यासमा फर्किइन् र टोलीमा पर्न सफल भएकी छिन् । खेल्न प्रोत्साहित गरेकोले उनी रुविनालाई ‘थ्यांक्यू दिदी’ भन्न चाहन्छिन् ।
***
सबनमलाई क्रिकेट खेल्न परिवारबाट कुनै अवरोध भएन । हुन त उनकी आमाले छोरीसँग क्रिकेटबारे भर्खर बुझ्दै छिन् । चौका भयो भन्दा ‘खै त बल उडेर गएको’ भन्छिन् ।
अलि-अलि बुझे पनि क्रिकेट खेल्न सबनमलाई प्रोत्साहन गरिरहिन् । पछिल्लो पटक छोरी राष्ट्रिय टोलीमा परेपछि उनी खुसी छन् । तर, बुबाले भने अहिलेसम्म छोरी क्रिकेट टोलीमा परेको मानेकै छैनन् ।
सबनमका अनुसार, उनको बुवाले भनेका छन्, ‘जुन दिन विकेट लिएर वुमन अफ दि म्याच हुन्छौ, तब मेरी छोरी टिममा परी भनेर मान्छु ।’
विश्वकप छनोटमा उनले बुवाको यो सपना पूरा गर्न सकिनन्, एसिया कपमा पनि सायदै पूरा होला ।
तर, सबनमको दृढ विश्वास छ, अब निरन्तर क्रिकेट खेल्छु र यो सफलता हात पारेरै छोड्छु ।
प्रतिक्रिया 4