+
+

खेलाडीको सम्मानमा हरिवंशले ल्याए गीत

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १६:३१

काठमाडौं । गायक तथा अभिनेता हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् ।

स्वीडेनमा रहेका गीतकार डा. दीपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यदृश्य समेटिएका छन् । नेपाल टी–२० विश्वकपमा छनोट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको माहोलमा गीत ल्याएको आचार्यले बताए ।

‘गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ,’ हरिवंशले भने, ‘मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरुप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना–नयाँ खेलाडीले खेलेका रियल दृश्य राखेका छौं । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ ।’

रचनाकार तथा निर्माता थापाले सानैदेखि महजोडी आफ्नो आइडल रहेका कारण यो गीत गाउन आग्रह गरेको बताए । ‘उहाँलाई दुई–चारवटा गीत पठाएँ तर सुरुमै यो गीत राम्रो मान्नुभयो,’ थापाले भने, ‘नेपालमा खेलाडीको देश चिनाउने दायित्व ठूलो छ । पुराना खेलाडीले विश्वसामु चिनाएको इतिहास हेर्दा गौरव लाग्छ । तर खेलाडीहरुलाई जति अवसर, मान मर्यादा हुनुपर्ने हो त्यति भएको देखिंदैन । अन्य देशमा खेलाडीको सम्मान हेर्दा इर्ष्या लाग्छ । सबै खेलमा हाम्रो यो गीत राष्ट्रिय गीतको रुपमा गुन्जियोस् र खेलाडीप्रति सम्मान र प्रोत्साहन मिलोस भन्ने कामनासहित यो गीत ल्याएका हौं ।’

विशाल निरौलाको संगीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ । ‘हामीले बनाउनुपर्ने गीत तपाईंले बनाउनुभएछ भनेर राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले तारिफ गर्नुभएको छ,’ हरिवंशले सुनाए । गीतकार थापासँगै अष्ट्रेलिया निवासी सुशीला पौड्याल र गौपाल पौड्याल यो गीतका निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?