Comments Add Comment

चितवनमा एचआइभीबाट हुने मृत्यु दर घट्यो

hiv-chitwan

१६ मंसिर, चितवन । चितवन जिल्लामा एचआइभी एड्सका कारण हुने मृत्युदर घटेको छ ।

भरतपुर अस्पतालमा रहेर एचआइभी संक्रमितहरुको उपचार तथा परीक्षणमा काम गर्दै आएको एएचएफ नेपालले दिएको जानकारी अनुसार जिल्लामा एचआइभीको संक्रमणबाट हुने मृत्युमा भारी मात्रा कमी आएको छ ।

सन् २०१५ को नोभेम्वरदेखि २०१६ को नोभेम्वरसम्म जम्मा ३ जनाको मृत्यु भएको छ । सन् २००७ देखि २०१५ को नोभेम्वरसम्म ११६ जना संक्रमितहरुको मृत्यु भएको थियो ।

त्यसमध्ये सन् २०१० सम्म नै १०० जनाको मृत्यु भएको एआरटी सेन्टरका संयोजक कृष्णहरी सापकोटाले जानकारी दिए । २०१० पछिका ६ वर्षमा जम्मा १९ जनाको मात्र मृत्यु भएको देखिन्छ ।

जिल्लामा एचआइभी संक्रमितहरुको संख्यामा पनि कमी आएको देखिएको छ । सोही अवधिको तथ्यांकलाई हेर्दा सन् २०१५ को डिसेम्वरदेखि २०१६ को नोभेम्वरसम्म ६१ जना नयाँ एचआइभी संक्रमित पत्ता लागेका छन् ।

सन् २०१४ मा ८३ जना नयाँ एचआइभी संक्रमितहरु थपिएका थिए । भरतपुर अस्पतालको एआरटी सेन्टरमा गरिएको रगत परीक्षणबाट नयाँ रोगी थपिएको एएचएफ नेपालका एआरटी सेन्टरका संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए ।

चितवनमा सन् २००७ देखि हालसम्म १३ सय ४९ जना एचआइभी संक्रमितहरु रहेको पत्ता लागेको छ । तिमध्ये ७०९ जना पुरुष, ५२५ जना महिला र ११३ जना बालबालिकाहरु रहेका छन् ।

भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरबाट ६७२ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । तिमध्ये ३०८ जना पुरुष, ३०७ महिला र ५७ जना बालबालिकाहरु छन् । चितवन जिल्लामा करिव २ हजार एचआइभी संक्रमितहरु रहेको अनुमान गरिएको छ ।

भरतपुर अस्पताल र एएचएफ नेपालको संयुक्त पहलमा भरतपुर अस्पतालमा एचआइभी संक्रमित तथा नयाँ रोगीहरुको एचआइभी परीक्षण, उपचार, सहयोग र हेरचाह, एचआइभी संक्रमितहरुलाई लाग्ने अवसरवादी रोगहरुको पहिचान र उपचार, सिडी फोर परीक्षण, एआरटी सेवा उपलब्ध हुँदै आएको छ । संक्रमितहरुको संख्या १३ सय ४९ भएपनि सिडी फोर ६ सय ७२ मात्रैले एआरटी सेवा लिएका छन् ।

सिडी फोर ५ सयभन्दा बढी भएकाहरुलाई कर्टि मोक्साजोल नामक औषधि खुवाइन्छ भने, ५ सयभन्दा कम भएकाहरुलाई एआरटी दिइन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका एचआइभी एड्स फोकल ब्यक्ति अनुप अधिकारीले जिल्लामा एचआइभीको क्षेत्रमा काम गर्ने ५ वटा एनजिओहरुसँग संयुक्त सहकार्यमा एचआइभी संक्रमितहरुको पहिचान र रोगको उपचार गरिएकाले प्रभावकारीता बढ्दै गएको बताए ।

सन् २०१५ को डिसेम्बरसम्म संसारभरका करिब ३ करोड ६७ लाख ब्यक्तिहरूमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । नेपालमा करिब ३९ हजार ३ सय ९७ जना एचआइभी संक्रमित भएको अनुमान छ । नेपालमा १५ वर्षदेखि ४९ वर्षको उमेर समूहमा एचआइभी व्याप्तता दर ०.२० प्रतिशत छ ।

अघिल्लो बर्ष एचआइभी संक्रमण दर ०.३३ प्रतिशत थियो ।

सन् २०१६ जुलाईसम्म नेपालमा २८ हजार ८ सय ६५ जना एचआइभी संक्रमित पत्ता लागिसकेका छन् । तीमध्ये १२ हजार ४ सय ४६ जना एन्टिरेट्रोभाइरल (एआरभी) औषधि उपचारमा छन् ।

हालसम्मको तथ्यांकअनुसार नेपालमा करीब ८५ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment