+
+
Shares

अख्तियारमा पुगेर प्रधानमन्त्रीले भने- राज्यको कार्यकारी प्रमुख को हो ? बहस गर्नुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २४ गते १३:०६

prachand-at-ciaa

२४ मंसिर,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अख्तियारको अधिकार बढाउनु पर्ने मागको विपक्षमा देखिएका छन् । अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीप्रति लक्षित गर्दै उनले, ‘म नै राज्य हुँ’ भन्ने खतरा देखिएको बताए ।

भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा अख्तियारले गरेको कार्यक्रममा सचिव तथा आयुक्तहरुले संविधानले अख्तियारको अधिकार कटौती गरेको गुनासो गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले यसबारे सरकारको ध्यानाकर्षण भएको बताए । तर, एउटा विभाग वा संस्थाले मात्र भ्रष्टाचार नियन्त्रण गर्छ भनेर सोच्नु अबस्तुवादी हुने उनले बताए । हामीले जे भोगिराखेका छौं भन्दै उनले भने, ‘अख्तियार दुरुपयोग नियन्त्रण गर्ने सन्दर्भमा राज्यद्वारा गठन गरिएको विभागले आफूलाई राज्यभन्दा पनि माथि ठान्न सक्ने खतरा । म नै राज्य हुँ भन्ने ठान्यो भने विभिन्न विसंंगतीहरुले जन्म लिने खतरा ।’

सम्वन्धित विभागलाई जिम्मा दिएपछि सहज रुपमा काम गर्ने वातावरण नहुने खतरा पनि रहने उनले बताए ।

उनले अघि भने, ‘प्रधानमन्त्रीका हैसियतले अहिले मात्र भनेको होइन । अघिल्लो सरकारको बेलामा पनि । हामी क्लियर हुनुपर्‍यो राज्यको कार्यकारी प्रमुख को हो ? बहस गर्नु पर्ने त होइन कतै ? भनेर भन्ने गरेको छु ।’

संवैधानिक कानुनी रुपमा एउटा व्यवस्था भएपनि व्यवहारमा अर्को हुन जाने खतरालाई रोक्नु पर्ने उनले बताए ।

अख्तियारका निलम्बित प्रमुख कार्कीको नाम नलिई उनले भने, ‘संवैधानिक वरियता एकातिर, काम अर्कोतिर छ कि छैन ?’ सबै अख्तियारको सीमा भित्र रहनु पर्ने भन्दै उनले भने, ‘भ्रष्टाचार भइराखेको हुन्छ । कहिँ कतै थुनछेक भएन भने बेलगाम हुन्छ । फेरि उल्टो स्थिति हुन जाँदा रहेछ, गल्ती नगर्नेहरु आतंकित हुनुपर्ने ।’

सुरुमा अलिखित सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो लिखित भाषण बाचन गरेका थिए ।

लिखित सम्बोधनको क्रममा उनले भ्रष्टाचारको प्रकृति, आयाम र चरित्र दिनहुँ ब्यापक हुदै गइरहेको र अन्तरदेशिय अपराधको रुपमा यसको जालो फैलदै गएको सन्दर्भमा यसलाई नियन्त्रण गर्न चुनौति र कठिनाइ भएको बताए । यसको निम्ती सकेसम्म समाजमा भ्रष्टाचार हुन नदिनको लागि निरोधात्मक उपायको प्रणालीको स्थापना र सुदृढिकरणमा नै बढी जोड दिनु पर्ने प्रधानमन्त्रीले बताए ।

उनले भने, ‘भ्रष्टाचारको कसूरमा अनुसन्धान, अभियोजन गरी संलग्न ब्यक्तिलाई कारबाही गर्ने दण्डात्मक उपाय, पीडित, साक्षी तथा सूचनादाताको संरक्षण गर्ने संरक्षणात्मक उपाय एबं भ्रष्टाचार र भ्रष्टाचारीलाई वढावा दिने सामाजिक कुप्रचलन र मान्यता तथा सामन्तवादी सोचलाई बिस्थपान गरी नयाँ सस्कृति स्थापना गर्नको लागि प्रबर्दनात्मक उपायहरु एकसाथ अबलम्बन गरी पद्धतिमा रुपान्तरण गर्न सकेमा भ्रष्टाचारलाई हामी निर्मूल गर्न सक्छौं ।’

उनले अगाडि भने, ‘अबका दिनहरुमा हामी यसै तर्फ अझ बढी संगठित भएर जुट्नु परेको छ । यस अर्थमा भ्रष्टाचार नियन्त्रण कुनै एक संस्था वा सीमित व्यक्तिको मात्र जिम्मेवारी हुन सक्दैन । साथै यसले निश्चित संस्कार र जीवनशैलीको पनि माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?