Comments Add Comment

रेखा थापाः ‘लालुपाते’ नुग्यो कमल थापातिर !

प्रचण्डसँग नाचेकी रेखा थापा किन गइन् राप्रपामा ?

rekha thapa२७ मंसिर, काठमाडौं । प्रचण्डसँग ‘लालुपाते नुग्यो भूइँंतिर’ भन्ने गीतमा नाचेकी नायिका रेखा थापा अन्ततः माओवादी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने निर्णयमा पुगेकी छिन् । पार्टी परिवर्तनका कारण रेखा पुनः एकपटक चर्चामा आएकी छिन् ।

पाँच वर्षअघि एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातवाट टीका लगाएर क्रान्तिकारी ‘लालसलाम’ गर्दै माओवादी प्रवेश गरेकी रेखा पाँच वर्षपछि कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गर्ने निर्णयमा पुगेकी छिन् ।

कटवाल प्रकरणपछि प्रधानमन्त्री पदबाट प्रचण्डले राजीनामा दिएलगत्तै माओवादीले आयोजना गरेको ६ दिने आम हड्तालमा रेखा थापा प्रचण्डसँगै नाचेकी थिइन् । माधव नेपाल प्रधानमन्त्री भएका बेला कठपुतली सरकार भन्दै सरकारविरुद्ध माओवादीले गरेको सडक प्रदर्शनमा रेखाले भौतिकरुपमै साथ दिएकी थिइन् ।

आमहड्तालमा सिंहदरबार अगाडिको जुलुसमा रेखाले माओवादी अध्यक्ष प्रचण्डसँगै ‘लालुपाते नुग्यो भुइँतिर’ बोलको गीतमा नृत्य गरिन् । प्रचण्डसँग कुम जोडेर नाँचेपछि उनको चर्चा एकाएक बढ्यो ।

rekha-thapa-with-prachandaप्रचण्डसँग नाँचेपछि प्रचण्डजस्तो नेता आफुले आजसम्म नभेटेको प्रतिक्रिया दिएकी रेखा दोस्रो संविधानसभा चुनावको पूर्वसन्ध्यामा एमाओवादी पार्टीमा प्रवेश गरेकी थिइन् ।

समाजसेवाका लागि पार्टी प्रवेश गरेको धारणा राख्ने रेखा तत्कालीन समयमा प्रचण्डसँग निकै नजिक थिइन् । प्रचण्डसंँग नजिक भएकै कारण दोस्रो संविधानसभामा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डको हातवाट दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवारको टिकटै पाइन् । तर, दुःखको कुरा, मतदाता नामावलीमै उनको नाम नभएकाले उनी सभासद बन्न पाइनन् ।

चुनावमा उम्मेदवार बन्न नपाए पनि माओवादी अध्यक्ष प्रचण्ड, तत्कालीन माओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराई, वाईसीएल अध्यक्ष सागर थापालगायतसँग रेखाको सम्बन्ध राम्रै थियो ।

सागर र आफू दुबै बगाले थापा भएको भन्दै रेखाले सागरलाई दुई वर्षसम्म भाइटीका समेत लगाइन् ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि राम्रै दौडधुप गरेकी रेखा त्यो दौडवाट बाहिरिइन् । त्यसपछि पनि उनको माओवादी नेताहरुसँग सम्बन्ध राम्रै थियो । तर, यति चाँडै माओवादीप्रति उनको किन मोहभंग भयो, मुख खोलेकी छैनन् ।

डा. बाबुराम भट्टराईले नयाँशक्ति पार्टी खोलेपछि रेखा नयाँक्तिमा लाग्ने चर्चा चलेको थियो, तर उनले नयाँशक्तिलाई नरोजेर पुरानो शक्तिलाई रोजिन् ।

कोमल वलीको प्रभाव

राप्रपाका कार्यकारी अध्यक्ष कमल थापालाई आदर्श मान्ने कोमल वलीसँग रेखाको पुरानै सम्बन्ध थियो । जब कोमल राप्रपा प्रवेश गरिन्, अनि रेखालाई प्रश्न गरिन्– ‘सधंै पशुपतिनाथको मन्दिर जाने शिवभक्त हुँ भन्ने, अनि पार्टी चाँहि माओवादी रोज्ने ?’

Komal Oli (4)

त्यसपछि रेखा र कोमल वलीवीच राम्रै संवाद भयो र अन्ततः राप्रपामा प्रवेश गर्ने निर्णय गरिन् । हिजो माओवादी हुँदा सागर थापालाई भाइटीका लगाएकी रेखाले राप्रपा भएपछि सागरलाई नै दाइ भन्दै टीका लगाउँछिन् वा तिहारमा कमल थापालाई बोलाउँछिन् ? हेर्न बाँकी नै छ ।

सम्बन्ध जोड्दै तोड्दै

छविराज ओझा निर्मित चलचित्र ‘हिरो’ बाट नायिकामा डेब्यु गरेकी रेखाले १५० बढी चलचित्रमा अभिनय गरेकी छिन् । किस्मत, कसले चोर्‍यो मेरो मन, हिम्मतवाली लगायतका चलचित्र निर्माण गरेकी रेखाले चलचित्र ‘हिम्मतवाली’ को निर्देशनसमेत गरिन् । तर, उनको निर्देशन शैलीले बजारमा खासै प्रभाव स्थापित गर्न सकेन । अहिले उनी निर्माण र अभिनयमा सीमित छिन् ।

महत्वाकांक्षी स्वाभावकी रेखाको सहकर्मी नायकहरुसँग कहिल्यै सुमधुर सम्बन्ध हुन सकेन । निखिल उप्रेतीसँग बोलचाल नै बन्द गरेकी रेखाको आर्यन सिग्देलसँग सम्बन्ध राम्रो रहेन । सुदर्शन गौतमलाई जर्बजस्ती नायक बनाएकी रेखाले फिल्म निर्माण सम्पन्न भएपछि सुदर्शनसँगको सम्बन्ध पनि तोडिन् ।

सम्बन्धहरु तोड्न नहिच्किचाउने रेखाले राप्रपासितको सम्बन्ध पनि कहिले तोड्ने हुन्, अहिल्यैदेखि शंका गर्नुपर्ने स्थिति छ, उनको विगत हेर्दा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment