Comments Add Comment

चमेलियाको नालीबेली, जहाँ विजुली बाल्ने अन्तिम तयारी हुँदैछ

आयोजना प्रमुख भन्छन्- अब एक वर्षभित्र बिजुली बल्छ

chamelia-powerhouse-tailrace-area

२७ मंसिर, काठमाडौं । चिनियाँ ठेक्कामा दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणको काम ९६ प्रतिशत सकिएको छ । कुनै प्राविधिक समस्या नआए अबको एक वर्षभित्रै बिजुली उत्पादन सुरु हुने आयोजनाका अधिकारीहरु बताउँछन् ।

इलेक्ट्रो तथा हाइड्रो मेकानिकलतर्फको काम पनि ९८ प्रतिशत पूरा भएकाले अब चाँडै विद्युत उत्पादन हुने आयोजनाका अधिकारीहरुले बताएका छन् । ‘कुनै प्राविधिक समस्या नआए सन् २०१७ डिसेम्वर ३० भित्रै यसको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ,’ आयोजना प्रमुख अजयकुमार दाहालले अनलाइनखबरसँग भने ।

यस्तो छ चमेलियाको कथा

दार्चुलाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो । कुल स्वीकृत लागत १५ अर्ब ६ करोड रुपैयाँ रहेको यस आयोजनाको सिभिल निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले पाएको छ ।

चमेलिया डाइभर्सन ड्याम
चमेलिया डाइभर्सन ड्याम

आयोजनाको हेडवर्क्स लटिनाथ गाविसमा पर्दछ । त्यहाँ चमेलिया नदीलाई बाँध बाँधेर पानीलाई दुईवटा इन्टेकबाट डिसेल्टिङ बेसिन (बालुवा थिग्राउने पोखरी)मा जम्मा गरिएको छ । त्यहाँ संग्लिएको पानी मुख्य टनेलमा जान्छ । त्यसबाट फेरि पेन स्टक र बाइसर्केसन पाइप हुँदै दुईवटा युनिटमा पानी बाँडिन्छ । सो पानी पावरहाउसको टर्बाइनसम्म पुग्छ र ३० मेगावाट बिजुली उत्पादन हुन्छ ।

पावरहाउस भने हेडवर्क्सभन्दा ६ किलोमिटर टाढा शिखर गाविसको बलाँच भन्ने स्थानमा छ । हेडवर्क्सबाट पाँच डायमिटरको ८४३ मिटर लामो सुरुङ खनेर पावर हाउससम्म पानी लगिने छ ।

chamelia-power-house
चमेलियाको पावरहाउस

६११ मिटर सुरुङ खनिसकेका बेला २३२ मिटर क्षेत्रमा चमेलियाको सुरुङ खुम्चिएको थियो । त्यसलाई मर्मत गर्दा १ अर्ब ९ करोड रुपैयाँ थप खर्च लाग्ने निष्कर्ष इञ्जिनियरसहितको टोलीले निकालेको थियो ।

तर, संसदको सार्बजनिक लेखा समितिले भेरियसनमा भ्रष्टाचार भएको भन्दै वीचैमा काम रोक्न निर्देशन दियो । यो कुरा थाहा पाएपछि चिनियाँ ठेकेदारले रकम नपाए काम नगर्ने भन्दै काम रोकेका थिए ।

chamelia-tunnel-squeezing
सुरुङ मर्मत गर्दै कामदार

सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट फेरि सुरु भयो । हाल खुम्चिएको सुरुङ मर्मतको कामलाई तिव्रता दिइएको छ र ९५ मिटर क्षेत्र मर्मत भइसकेको छ । अब बाँकी १३७ मिटर लामो सुरुङ मर्मत सकिएपछि काम लगभग सकिने आयोजनाका प्रमुख दाहालले बताए ।

‘सिभिलको कामले मात्रै ढिलाइ भएको हो, अरु सबै काम लगभग सकिसकिएको छ,’ उनले भने, ‘ऊर्जामन्त्रालय, विद्युत प्राधिकरण र हाम्रो पहलमा चिनियाँ ठेकेदार कम्पनी सीजीसीसीका सेकेन्ड म्यानसँग छलफल भएपछि काम सुरु गर्ने सहमति भयो । अहिले हामी अन्तिम चरणमा छौं ।’

दाहालका अनुसार आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको काम करिब दुई प्रतिशत मात्रै बाँकी छ । इलेक्ट्रोमेकानिकलको काम दक्षिण कोरियाको केएचएनपी कन्सोर्टियमले गरिरहेको छ ।

chamelia-generator-installation
जेनेरेटर इन्सटलेशनको काम हुँदै

अहिले आयोजनामा जेनेरेटर इन्स्टलेशनको काम पनि सकिएको छ । चमेलियादेखि कैलालीको अत्तरियासम्म १३० किलोमिटर लामो प्रसारण लाइनमा ४१२ वटा टावर बनाइसकिएको छ । प्रसारण लाइन दार्चुला हुँदै पाँचवटा जिल्ला भएर अत्तरियासम्म पुग्छ ।

चमेलिया जलविद्युत आयोजनाका सहायक प्रशासकीय अधिकृत सुरेन्द्र सिंखडाले एक वर्षपछि परीक्षण उत्पादन सुरु हुने बताए ।

‘प्राविधिक समस्या नआएमा सन् २०१७ को जनवरीमा बिजुली उत्पादन टेष्ट हुन्छ,’ सिंखडाले भने, ‘अबको एक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्यका साथ आयोजना निर्माणको काम अघि बढेको छ ।’

सिंखडाका अनुसार ड्याम, कनेक्टिङ सुरुङ, सर्ज ट्यांक, पावरहाउस र स्वीचयार्ड, आउटलेट र इन्टेकको काम सम्पन्न भइसकेको छ ।

chamelia-switchyard
स्वीचयार्ड

डबल सर्किटको काम यही डिसेम्बरमा सकिने

चमेलियाबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने बिजुलीको भारलाई हालको सिंगल सर्किट प्रसारण लाइनले थेग्दैन । त्यसैले पूर्व-पश्चिम प्रसारण लाइनको बुटवलदेखि कैलालीको अत्तरिया खण्डमा क्षमता विस्तार गरी डबल सर्किट राख्ने काम भइरहेको छ ।

रुपन्देहीको बुटवलबाट बाँकेको कोहलपुरसम्मको काम सकिएको र कोहलपुरबाट अत्तरियासम्म काम बाँकी रहेको छ, जहाँ चमेलियाको बिजुली जोडिने छ।

‘डबल सर्किटको काम यही डिसेम्बरमा सकिने भनेर ठेकेदार कम्पनीले हामीलाई भनेको छ । त्यसपछि चमेलियाको लोड त्यसमा जोड्न सकिन्छ,’ चमेलिया आयोजनाका प्रमुख दाहालले अनलाइनखबरसँग भने ।

आयोजनाका समस्या

आयोजनाको निर्माणमा भएको ढिलाइले आयोजना लागत दोब्बर भएर १५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । आयोजनालाई आगामी डिसेम्बरसम्म सकाउन विभिन्न किसिमका समस्याहरु भने रहेको आयोजनाका अधिकारीहरु बताउँछन् ।

आयोजनामा सुरुङ स्क्वीजिङको काम गरिरहेका ठेकेदारलाई भुक्तानी दिन बजेट अभाव भएको छ । आयोजनाको निर्माण ३० डिसेम्बर २०१७ भित्र सक्ने गरी बनेको जोइन्ट को-अर्डिनेटेड वर्किङ सेड्युल पनि स्वीकृति हुन बाँकी छ ।

टनेल स्क्वीजिङको भरियसन-३ को विज्ञ कमिटीबाट सिफारिस हुन बाँकी नै छ । आयोजनाको हेडवर्क्समा बन्ने भनिएको आर्क ब्रिजको सट्टामा स्टील ब्रिज राख्ने विषयमा प्राधिकरणले स्वीकृति दिएको छैन ।

सिभिल ठेकेदारको क्षतिपूर्ति दावी भुक्तानीका विषयमा पनि प्राधिकरणले निर्णय गरेको छैन । प्रसारण लाइनका विभिन्न ठाउँमा पर्ने रुखहरु कटानको काम पनि हुन बाँकी छ ।

प्रचण्ड र कुलमानको ध्यानाकर्षण

आयोजनाका अधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराएका छन् । प्रचण्ड र घिसिङ गत बिहीबार आयोजनाको स्थलगत अनुगमन गर्न दार्चुला पुगेका थिए ।

prachand-at-chameliya-1
चमेलियाको सुरुङभित्र छिरेर अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डसहितको टोली

प्रचण्ड र कुलमानले सुरुङभित्रै पुगेर कामको अनुगमन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले कामलाई तिव्रता दिन निर्देशन दिँदै समस्या समाधान गर्ने बचन दिएका थिए ।

प्रचण्डलाई पावर हाउससमेत अवलोकन गराउने चमेलियाका अधिकारीहरुको योजना भने सफल हुन सकेन । तर, प्रधानमन्त्री र विद्युत प्राधिकरणका प्रमुखले चासो लिएर स्थलगत अवलोकन गरिदिएकाले खुसी लागेको आयोजना प्रमुख दाहालले बताए ।

‘हामीले सानो-सानो कार्यक्रम गरेर ब्रिफिङको तयारी गरिसकेका थियौं तर, उहाँहरुको व्यस्तताले गर्न सकिएन,’ दाहालले भने, ‘प्रधानमन्त्री ज्यूको निर्देशन र आश्वासनले हौसला बढेको छ ।’

(दार्चुलाबाट फर्केर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment