२७ मंसिर, काठमाडौं । सरकारका एक मन्त्रीले भारतीय राजदूतलाई फिर्ता पठाउनुपर्छ भन्ने माग कूटनीतिक मर्यादा विपरित भएको टिप्पणी गरेका छन् ।
वनमन्त्री शंकर भण्डारीले प्रमुख विपक्षी एमालेमाथि सस्तो लोकपि्रयताको लागि गैरजिम्मेवारपूर्ण कुरा गरेको आरोप लगाए । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले भने, ‘एमालेले भन्दैमा कोही पनि राजदूत फिर्ता हुँदैनन्, एमालेले भनेर राजदूत फर्किने हो र ?’
उनले अघि भने, ‘५/७ हजार मान्छेले सामाजिक सञ्जालमा अनावश्यक हल्ला गर्दैमा सबै त्यसैको पछि लाग्नु हुँदैन, देशमा ३ करोड जनता छन् ।’
एमालेका भ्रातृ संगठनहरुले भारतीय राजदूत रणजीत रायलाई देश निकाला गर्न माग गर्दै आएका छन् ।
मन्त्री भण्डारीले संविधान संशोधन प्रस्ताव सदनमा प्रक्रियामा जान नदिएर संसद अवरुद्ध गरेर एमालेले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको आरोप लगाए । उनले भने, ‘हिजो सरकारमा हुँदा ओलीजीले दुई वटा विषयमा संशोधन गर्नुभयो, अरु विषयमा पनि संशोधन हुन्छ भनेर छलफलको लागि बोलाउने ? अनि वार्ता समिति पनि गठन गर्नुभएकै हो, अहिले आएर संशोधन प्रस्तावबारे छलफल गर्न नदिने ? यो कुरा उहाँको आफ्नै प्रतिबद्धता भन्दा बाहिर छ, त्यसैले सदन चल्न दिनुपर्छ ।’
उनले संशोधन प्रस्तावको विरोध गर्नु भनेको आफ्नै घोषित प्रतिबद्धताको प्रतिकुल रहेको बताए । उनले सरकारले हाल ल्याएको संशोधन प्रस्तावको ५ नम्बर प्रदेशको सिमांकन हेरफेरमा आफ्नै पार्टी लगायत अन्य दलका केही नेताहरुको असन्तुष्टि रहेपनि यो प्रस्ताव विगतमा काँग्रेस र एमालेले नै संयुक्त रुपमा अघि बढाएको दाबी गरे ।
मन्त्री भण्डारीले संशोधन प्रस्तावमा एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताउँदै एमालेले सहयोग गरे मुलुकले निकास पाउने स्पष्ट पारे । उनले भने,’दलहरु मिल्नुको विकल्प छैन् ।’ यद्धपी उनले एमालेले प्रतिपक्षमै बसेको कारणले हो कि वा के कारणले यस्तो व्यवहार गरिरहेको छ भन्नेमा आफू अन्यौलमा परेको बताए ।
उनले सरकार संविधान कार्यान्वयनको लागि पूर्ण प्रतिबद्धत रहेको बताउँदै त्यसको लागि समयमै तीनवटै निकायको निर्वाचन गर्न लागिरहेको जनाए । भण्डारीले भने,’आयोगले ऐन तथा कानूनहरु चाहियो भनिरहेको छ, त्यसलाई सरकारले गम्भिर रुपमा आत्मसात् गरेको छ, निर्वाचनको लागि सबै दलहरु मिल्नुपर्छ, यदि निर्वाचन भएन भने सबै दलको अस्तित्व नै खतरामा पर्न सक्छ ।’
उनले मुलुकको विकासको लागि नयाँ पुस्ताले पहलकदमी लिनुपर्नेमा जोड दिँदै अहिलेका ठूला नेताहरुको बोलीले देश नबन्ने ठोकुवा गरे । भण्डारीले अनशन बस्नेका मागका आधारमा आज देश चलाउने स्थिति आईसकेको बताउँदै भने,’यसरी मुलुक बन्दैन् ।’
उनले भुकम्पपीडितलाई आवश्यक परे पूर्ननिर्माण प्राधिकरणले माग गरे बन मन्त्रालय पूर्ननिर्माणको लागि काठ उपलब्ध गराउन तयार रहेको बताए । उनले भने,’प्राधिकरणले माग गर्छ भने हामी आवश्यक काठ उपलब्ध गराउन तयार छौं ।’
पुर्ननिर्माणलाई लिएर कहिले कर्मचारीले आन्दोलन गर्ने गरेको र कहिले ईन्जिनियरहरुले आन्दोलन गरिरहेको उल्लेख गर्दै उनले आवश्यक परे तिव्र गतिमा पूर्ननिर्माणको काम नेपाली सेनालाई जिम्मा दिने प्रस्ताव रक्षामन्त्री बालकृष्ण खाँडले अघि सारेको पनि खुलासा गरे ।
प्रतिक्रिया 4