Comments Add Comment

पर्यटनमन्त्री शाही अस्ट्रेलिया प्रस्थान, नेपाल महोत्सवमा सहभागी हुने

२९ मंसिर, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन अस्ट्रेलियातर्फ प्रस्थान गरेका छन् ।

 जीवनबहादुर शाही
जीवनबहादुर शाही

मेलबर्नमा १४ डिसेम्बर देखि २१ डिसेम्बरसम्म एनआरएनले आयोजना गरेको फेस्टिवलको प्रमुख अतिथिका रुपमा पर्यटनमन्त्री शाही गएराति अस्ट्रेलिया गएका हुन् । उनका साथमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नयनसिंह महर पनि अस्ट्रेलिया गएका छन् । मन्त्री शाहीले आजै ग्रान्ड नेपाल फेस्टिवलको उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालको संस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको ग्रान्ड नेपाल फेस्टिवलले नेपालमा पर्यटन वृद्धि गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री शाहीले प्रस्थान अघि बताए ।

‘सांस्कृतिक सम्पदाको धनी मुलुक नेपालको विषयमा अस्ट्रेलियामा फेस्टिवलको आयोजना गरिनु अत्यन्तै गौरवको कुरा हो । यो हाम्रा लागि ठूलो उपलब्धिसमेत हो,’ मन्त्री शाहीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।

नेपाल फेस्टिवलमा भिक्टोरियाका बहुसंस्कृति तथा अर्थमन्त्री रबिन स्कट पनि विशेष अतिथिका रुपमा उपस्थित रहने आयोजकले जनाएका छन् । त्यहाँ रहँदा मन्त्री शाहीले केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्नसक्ने सम्भावना रहेको छ ।

मन्त्री शाही २१ डिसेम्बरमा स्वदेश फर्कने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment