Comments Add Comment

प्रचण्डले भने- एमालेले चुनावको मिति घोषणा गर्न दिएन

'संसद अवरुद्ध गर्नु गैरलोकतान्त्रिक र गैरसंसदीय चरित्र'

pushpa-kamal-dahal-prachanda

३ पुस, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्तावको विरोधको बहानामा एमालेले देशको निकासलाई रोकेको बताएका छन् ।

संसद अवरुद्ध हुँदा  अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल पनि रोकिएको र निर्वाचनको मिति घोषणा गर्न पनि नदिइएको बताए ।

प्रेस सेन्टर मोरङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक गतिरोध अन्त्य हुने कि नहुने भन्ने कुरा एमालेमा भर परेको भन्दै गैरलोकतान्त्रिक र गैरसंसदीय प्रक्रिया बन्द गर्न एमालेलाई आग्रह गरे ।

‘प्रतिपक्षले तर्क वितर्क गरेर संशोधन प्रस्तावलाई असफल पार्छ भने त्यो उसको अधिकार हो । तर, त्यसको छिनोफानो गर्ने थलो संसद नै हो,’ प्रधामनन्त्री प्रचण्डले भने, ‘त्यसकारण जो साथीहरुले संसद अवरुद्ध गर्नुभएको छ उहाँहरुले अविलम्ब यो गैरसंसदीय, गैरलोकतान्त्रिक प्रक्रियालाई बन्द गर्नुपर्छ । आफ्नो मत संसदभित्रै राख्नुपर्छ र संसदबाट नै यसको टुंगो लगाउनुपर्छ । जति छिटो प्रतिपक्षका साथीहरुले बुझ्नुहुन्छ, त्यति छिटो राजनीतिक गतिरोधको अन्त्य हुन्छ ।’

संविधान संशोधनको उद्देश्य हिमाल, पहाड र तराईलाई जोड्दै राष्ट्रिय एकतालाई बलियो पार्ने संविधान संशोधनको एकमात्र उद्देश्य रहेको उनले बताए ।

‘सरकारको तर्फबाट मैले प्रतिपक्षसँग पनि लगातार छलफल गरेर आफ्नो मत संसदमै राख्नुस् हामीले यो भन्दिनौं कि तपाईंहरुले यो पारित गर्दिनुस् । समर्थन् गर्नुस् पनि भनेका छैनौं । आफ्नो मत संसदमा राख्नुस् सरकारले प्रस्ताव दर्ता गरेको छ । दर्ताको उद्देश्य अरु केही छैन । मधेस, पहाड, हिमाल सबैलाई जोडेर निर्वाचनतिर लैजानु राष्ट्रको एकतालाई बलियो गर्नु बाहेक केही अर्को उद्देश्य छैन,’ प्रचण्डले भने ।

एमालेले देशको निकासलाई रोक्यो  

विधिसम्मत तरिकाले सरकारले संशोधन प्रस्ताव दर्ता गरेकाले त्यसलाई विधिसम्मत तरिकाले नै छलफल गरेर टुंगो लगाउनुपर्ने उनको भनाइ छ । उनले एमालेले संसद अवरुद्ध गरेर देशको निकासलाई रोकेको आरोप लगाए ।

‘महाअभियोगको प्रस्ताव पनि संसदमा छ । संसद अवरोध गरेपछि त्यो पनि रोकियो । महाअभियोगलाई पनि छिटोभन्दा छिटो टुगो लगाउनु छ । अनि चुनावको मिति घोषणा गर्नुछ,’ उनले भने, ‘यी तिनवटै कुरालाई जानेर वा नजानेर जसले रोक्न खोज्छ, वास्तवमा देशको निकासलाई त्यसैले रोकेको छ ।’

उनले एमालेले प्रस्ताव गरेजस्तो अहिले नै केन्द्रीय निर्वाचन हुन नसक्ने बताए । उनले त्यसलाई वितण्डा मच्चाउने षडयन्त्र भएको आशंका गरे । ‘अहिले नै केन्द्रीय निर्वाचन गर्नु भनेको यो संविधानको मर्ममाथि प्रहार हुन जान्छ,’ उनले भने, ‘केन्द्रीय निर्वाचनको कुरा गर्नु वितण्डामात्रै हो । त्यो हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment