Comments Add Comment

स्मार्ट लाइसेन्समै देखियो ५ गम्भीर त्रुटि

smart-licence८ पुस, काठमाडौं । काठमाडौं धापासीका अनिल सापकोटाले स्मार्ट लाइसेन्स निकालेको १ वर्ष पनि भएको छैन । तर, उनका लागि यो ‘कवाडी’ जस्तै भइसकेको छ । नहोस् पनि किन स्मार्ट लाइसेन्सको रंग उडेको छ । चिप्स पनि उप्किएको छ, जसलाई उनले ‘ग्लु’ लगाएर टाँसेका छन् ।

गतवर्षको मंसिरमा सरकारले निकै फूर्तिका साथ सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपमा जारी गर्न सुरु गर्‍यो ।
त्यसका लागि करोडौं रुपैयाँ रकम खर्च भएको छ । तर, एक वर्ष नहुँदै स्मार्ट लाइसेन्समा धेरै समस्या देखिन थालेको छ र सुरक्षित र आधुनिक भनिएको स्मार्ट लाइसेन्स बोक्नेहरु ‘पुरानै ठिक’ भन्न थालेका छन् ।

कारण सरकारले जारी गरेको स्मार्ट लाइसेन्समा अनेकन प्राविधिक गल्तीमात्रै छैनन्, यसको बनेट पनि निकै कमसल छ । यसले स्मार्ट लाइसेन्सको छपाइमा आर्थिक चलखेल भएको आशंकालाई थप बल दिएको छ ।

यसमा अनेकन त्यस्ता त्रुटी भेटिएका छन्, जसले स्मार्ट लाइसेन्सलाई नै असफल गर्ने खतरा बढाएको छ ।

१. ‘गैह्र व्यवसायिक लाइसेन्स’

स्मार्ट लाइसेन्समा प्रमुख भागमै ठूलो त्रुटी गरिएको छ । सबै लाइसेन्समा ‘नन-प्रोफेसनल ड्राइभिङ लाइसेन्स’ अर्थात गैह्र ब्यवसायिक सवारी चालक अनुमतिपत्र लेखिएको छ । यो निजी गाडी हाँक्नेहरुका लागि ठीकै छ ।

तर, व्यवसायिक रुपमा गाडी चलाउने र ड्राइभिङलाई नै पेशा बनाउने ठूलो समूहका लागि यो गम्भिर समस्या बनेको छ । विशेष रुपमा ड्राइभिङका लागि विदेशमा जानेहरु समस्यामा पारेको छन् ।

विदेशको जस्तै निजी गाडी चलाउनेका लागि नन प्रोफेसनल र व्यवसायिक रुपमा गाडी चलाउनेका लागि प्रोफेसनल लेखिएको लाइसेन्स जारी गर्ने योजनामा विभाग थियो । त्यसैअनुसार ऐन परिमार्जन हुने भन्दै यसमा सुरुवातमा दुई वटै शब्द राख्ने गरी डिजाइन भएको थियो । तर, लाइसेन्स छाप्दा ऐन नै नवनेको भन्दै ‘ननप्रोफेशनल’ शब्द लेखेर लाइसेन्स छापियो ।

यो लाइसेन्स अहिलेको ऐन विपरित पनि देखिएको छ । किनभने अहिले ऐनमा लाइसेन्सलाई प्रोफेसनल र ननप्रोफेसनल भनेर छुट्ाउने ब्यवस्था गरेको छैन ।

विभागले गरेको गल्तीले विदेशमा धेरै युवाले सास्ती भोगेका छन् । विशेष गरी कम्पनीको गाडी, ट्याक्सी लगात गाडी चलाउन जानेहरुलाई साउदीमा पुगेपछि ‘नन प्रोफेशनल’ शब्दका कारण त्यहाँको लाइसेन्स नै नबनाउने नपाउने समस्या बढेको छ । यो सख्या बढ्दोछ ।

२. क्याटेगोरी अस्पष्ट

स्मार्ट लाइसेन्समा सवारी लाइसेन्स बाहकले कुन क्याटेगोरीको गाडीमा लाइसेन्स पाएको भन्ने पनि स्पष्ट छैन । विभागले ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, ‘इ’ वर्गमा स्मार्ट लाइसेन्स जारी गर्छ । तर, यो लाइसेन्समा ‘ए’ बर्गको लाइसेन्स लिएकाले कुन-कुन सवारी चलाउन पाउने भन्ने नै उल्लेख छैन ।

विभागका अधिकारी भने स्मार्ट लाइसेन्सको जोडिएको चिपको डाटामा यो विवरण राखिएको बताउँछन् । यसले नेपालमा खासै समस्या पारेको छैन । धेरै ट्राफिक प्रहरीलाई बर्गबारे थाहा पनि छ ।
तर, विदेशमा भने क्याटेगोरी अष्पष्ट हुँदा निकै समस्या परेको छ । किनकी विदेशमा नेपाली स्मार्ट लाइसेन्स ‘रिड’ गर्न मिल्दैन ।

३. नचिनिने फोटो

विभागले त्यत्रो तामझामका साथ जारी भएको स्मार्ट लाइसेन्स ‘स्मार्ट’ क्वालिटीको छैन भन्ने प्रमाण हो-श्यामश्वेत -ब्ल्याक एण्ड ह्वाइट) फोटो ।
स्मार्ट लाइसेन्समा ब्ल्याक एण्ड ह्वाइट फोटो किन प्रयोग गरियो भन्ने जवाफ दिन विभागका कुनै अधिकारी मान्दैनन् । यसअघि वितरण भएको लाइसेन्समा रंगिन फोटो नै प्रयोग गर्ने गरिन्थ्यो ।

यो सादा फोटोले ट्राफिक प्रहरीलाई बढी समस्यामा पारेको छ । यसमा हालिएको फोटोमा ब्यक्तिको अनुहार नै स्पष्ट देखिँदैन । निकै धमिलो फोटो स्मार्ट लाइसेन्समा छ । स्मार्ट लाइसेन्सको रंग पनि बिस्तारै उड्न थालेको सेवाग्राही बताउँछन् । यसले गर्दा लाइसेन्स बाहकलाई सन्तुष्ट गर्न सकेको छैन ।

४. उप्किने चिप्स

स्मार्ट लाइसेन्सलाई सुरुमा निकै उपयोगी र सुरक्षित भनेर प्रचार गरिएको थियो । तर, केही लाइसेन्सबाहक लाइसेन्समा राखिएको चिप्स नै उप्किएको भन्दै विभागमा पुग्न थालेका छन् ।

स्मार्ट लाइसेन्समा जोडिएको चिप्स नै उप्किएपछि त्यसमा राखिएका डाटा सबै असुरक्षित हुने खतरा बढको छ ।
यसले लाइसेन्स बाहकलाई समस्यामा पारेको छ । प्रायः धेरैको पर्समा लाइसेन्स हाल्ने प्रवृत्ति छ । पर्समा राख्दा-राख्दै चिप्स उप्किने गरेको छ । यसअघिको लाइसेन्स पर्समै राख्दा पनि खासै समस्या छैन ।

५. अञ्चल/प्रदेश अष्पष्ट

स्मार्ट लाइसेन्सको अर्को कमजोरी हो जारी गर्ने कार्यालय नखुल्नु । विभागले कोडमा रहने गरी लाइसेन्समा यसलाई उल्लेख त गरेको छ ।
तर, यो विषयमा जानकारी राख्नेले मात्रै यो जान्न सक्छ । सर्वसाधारणले स्मार्ट लाइसेन्स हेरेर कुन अञ्चल कार्यालयबाट जारी भएको भन्न सक्दैन ।

र, स्मार्ट जाँच्ने मेसिन छैन

विभागले अहिलेसम्म १ लाख २८ हजार स्मार्ट लाइसेन्स जारी गरिसक्यो । बिडम्बना, अहिलेसम्म ट्राफिक प्रहरीसँग यो लाइसेन्स जाँचने उपकरण ३ वटा मात्रै छ ।

अहिले फिल्डमा हुँदा ट्राफिक प्रहरीले स्मार्ट लाइसेन्स चेक गर्न पाएका छैनन् । स्मार्ट लाइसेन्स लिनेको संख्या बढ्दै जाँदा पनि विभागले ट्राफिक प्रहरीलाई थप ह्याण्ड रिडर उपलब्ध गराएको छैन ।

ट्राफिक प्रहरीले अहिले स्मार्ट लाइसेन्स बाहकलाई कारवाही गरे त्यसलाई ढड्डामा रेकर्ड राखिरहेको छ । यसअघिका लाइसेन्समा प्वाल पार्ने गरिएपनि यो कार्ड भ्वाङ पारिदैँन ।

ट्राफिकले कारवाहीको रेकर्ड राख्न स्मार्टको सफ्टवेयरमा अझै ‘एक्सेस’ पाएको छैन । जसले स्मार्ट लाइसेन्स ट्राफिक प्रहरीको टाउको दुखाइ नै बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment