८ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकी धर्मपत्नी गायत्री नेपाललाई इन्टरपोलमा दर्ता भएको पासपोर्ट नम्बर प्रदान गर्ने परराष्ट्र मन्त्रालयले सार्वजनिक माफी माग्नुपर्ने नेपाल परिवारको माग छ ।
प्रहरीले इन्टरपोलमा दर्ता गराएको नम्बरकै एमआरपी पासपोर्ट गायत्री नेपाललाई दिएका कारण अघिल्लो साता उनी टर्कीको स्तानुबुल विमानस्थलमा एक रात रोकिएकी थिइन् ।
अमेरिका जाने विमानमा चढ्नै लाग्दा गायत्रीलाई रोकिएपछि माधव नेपालमात्रै अमेरिका गएका थिए । गायत्री एक रात स्तानुबुल विमानस्थलमै रोकिएपछि भोलिपल्ट मात्रै अमेरिका उडेकी थिइन् ।
अमेरिकामा रहेकी माधव नेपालकी कान्छी बहिनी बसुधा नेपाल पोखरेलले अनलाइनखबरसँग भनिन्- ‘यो सामान्य घटना होइन, प्रहरीले इन्टरपोलमा दर्ता गराएको नम्बर परराष्ट्र मन्त्रालयले गायत्रीको पासपोर्टमा किन राखियो ? परराष्ट्र मन्त्रालयले यसबारे गायत्री नेपालसँग सार्वजनिक रुपमै माफी मागोस् ।’
गायत्रीलाई छाडेर माधव नेपाल उडेको क्षण
पूर्वप्रधानमन्त्री एवं पूर्वपरराष्ट्र मन्त्री माधवकुमार नेपालसँगै अमेरिका हिँडेकी गायत्री नेपाल टर्कीको इस्तानुबुलमा रोकिइन् । उनलाई एक दिनसम्म ठूलो मानसिक तनावमा राखियो, जसको दोष गायत्रीको नभएर नेपालकै परराष्ट्र मन्त्रालयको थियो ।
अमेरिका जाने क्रममा काठमाडौंबाट टर्कीको इस्तानुबुलमा पुगेका नेपाल दम्पत्तिको त्यहाँ दुई दिनसम्म बस्ने कार्यक्रम थियो । उनीहरुले दुई दिनको स्तानुबुल बसाइमा सहरसमेत घुमे । यसक्रममा पनि गायत्रीलाई कतै रोकतोक भएन ।
दुबैजनासँग रातो पासपोर्ट थियो । बकाइदा अमेरिकाको भिसा लागेको थियो । पहिलेको पासपोर्टको म्याद सकिएकाले गायत्रीले १५ दिन अघिमात्रै नयाँ एमआरपी पासपोर्ट बनाएकी थिइन् । यो नयाँ पासपोर्टबाट गायत्रीको पहिलो विदेश भ्रमण थियो । तर, संसारका विभिन्न देशमा डुलेकी उनले सचेततापूर्वक पुराना पासपोर्टहरु पनि साथैमा बोकेकी थिइन् ।
दुई दिनको टर्की बसाइपछि अमेरिका उड्ने क्रममा लाउञ्जमा धेरैबेर बस्दासम्म गायत्रीको पासपोर्टबारे कसैले केही भनेन । प्लेनमा चढ्ने बेलामा बोडिङ पास स्क्यान गरेर भित्र पसाउने क्रममा एकैचोटि उनलाई रोकियो ।
विमानस्थलका सुरक्षाकर्मीले तपाई जान पाउनुहुन्न, तपाईको हराएको वा चोरिएको पासपोर्ट बोकेको हो ? भनेर उनलाई सोधियो । गायत्रीले हैन, थाहा छैन भन्ने जवाफ दिइन् ।
त्यहाँ नेपाली डेलिगेसन पनि थियो । गायत्रीका श्रीमान माधवकुमार नेपाल पनि साथैमा थिए । केही मान्छे प्लेनभित्र छिरेका थिए, कोही पछाडि लाइनमा थिए ।
प्लेनका कर्मचारीले भने- ‘कि तपाईहरु सबैजना नजाने भन्नोस्, कि तपाई (गायत्री) चाँहि नजानोस् । तुरुन्तै निर्णय दिनोस्, हाम्रो प्लेन छुट्ने भेला भइसक्यो ।’
माधव नेपालले ‘उनी मेरी वाइफ हुन्, म नेपालको पूर्वप्रधानमन्त्री हुँ र अहिलेको पार्लियामेन्टको सदस्य पनि हुँ भने । तर, उनीहरुले ‘सरी सर हामी केही गर्न सक्दैनौं, तपाईहरु छिटो निर्णय गर्नुहोस्, तपाईहरु कि सबैले आफ्नो भ्रमण रद्द गर्नुहोस् या गायत्री यहीँ इस्तानुबुलमा रहनुहोस्’ भने ।
त्योबेला तत्कालै निर्णय गर्नुपर्ने अवस्था आयो डिसिजन गर्नुभर्ने भयो । त्यसपछि माधव नेपालले गायत्रीलाई एकजना साथीसँग त्यहीँ छाडे । र, एक्लै प्लेनमा चढ्न बाध्य भए ।
परराष्ट्रको हेलचेक्र्याइँका कारण एकरात तनावमा
गायत्री नेपाल केही घण्टा परिवारजनसँग पनि सम्पर्कविहीन भइन् । र, उनी स्तानुकुल विमानस्थलमै एक रात बस्न बाध्य भइन् ।
आफूलाई के भएको हो, कसो भएको हो, गायत्रीले केही बझ्न सकिनन् । परिवारका सदस्यले दुई घण्टापछिमात्रै उनी अमेरिका उड्न नपाएको र माधव नेपाल उनलाई छाडेर एक्लै उडेको जानकारी पाए ।
त्यहाँ गायत्रीको नाम लिएरै एनाउन्स गरियो । गायत्री नेपाल कहाँ छिन् भनेर कराइयो । पूर्वप्रधानमन्त्रीको परिवारलाई यस्तो गर्दा देशकै बेइज्यत भएको महसुस माधव नेपालले गरे ।
गायत्रीले संसारका धेरै देशमा घुमिसकेकी थिइन् । तर, यस्तो समस्यामा पहिलोचोटि परिन् । तथापि आफ्नो गल्तीले नभएर नेपालकै परराष्ट्र मन्त्रालयको गम्भीर त्रुटीले ।
यो घटनाबाट गायत्रीलाई मानसिक असर परेको र अहिले पनि तनावमा रहेको परिवारजनको गुनासो छ ।
परराष्ट्रको गम्भीर त्रुटी, तर कसैलाई कारवाही भएन
गायत्रीलाई त्यसरी विमानस्थलमा रोक्नुको कारण उनको पासपोर्ट नम्बर नेपाल प्रहरीले इन्टरपोलमा दर्ता गराएको परेको रहेछ । पछि उक्त नम्बर इन्टरपोलले क्लियर गर्यो र भोलिपल्ट मात्रै उनलाई अमेरिका जान दिइयो ।
टर्कीका सुरक्षाकर्मीले सुरुमा उनलाई नेपालै फर्किनुपर्छ भनेका थिए तर, भोलिपल्ट उनी अमेरिका पुगिन् र माधव नेपालसँग भेट भइन् ।
नेपाल सरकारको इस्यु गरेको एमआरपी पासपोर्ट बोकेर स्तानुबुल पुगेकी गायत्रीलाई नेपाल एयरपोर्टमा कसैले रोकेन । इस्तानुबुल घुम्दा पनि उनलाई केही भएन ।
गायत्रीलाई इन्टरपोलको नम्बर जुधेको पासपोर्ट दिने कर्मचारीलाई अहिलेसम्म कुनै कारवाही भएको छैन । उनीहरु गायत्री टर्कीका रोकिएको समाचार पढेर रमाइलो मानिरहेका छन्
भीआइपीको पासपोर्ट भनेपछि आँखा चिम्लेर ‘ओके’ गर्ने चलन त्रिभुवन विमानस्थलका कर्मचारीसँग नभएको भए उनले टर्कीमा दुःख पाउनुपर्ने थिएन ।
त्यसो त नेपालका रहेको अमेरिकी दूतावासले पनि गायत्रीको पासपोर्ट र त्यहाँ रहेको नम्बर चेक गरेरै उनलाई भिसा दिएको थियो । तर, त्यहाँ पनि उनको पासपोर्ट नम्बर इन्टरपोलमा दर्ता रहेको/नरहेको कुनै खुलासा भएन र अमेरिकारले त्यही पासपोर्टमा भिसा ठोकिदियो । तर, टर्कीमा उनलाई इन्टरपोलको बात लाग्यो ।
परराष्ट्र मन्त्रालयले माफी माग्नुपर्छ: बसुधा
पूर्वप्रधानमन्त्रीकी श्रीमतीसँग सम्बन्धित घटना भएकाले मिडियामा आयो र सबैले थाहा पाए । तर, परराष्ट्र मन्त्रालले गर्ने यस्तो लापरवाहीका कारण कति नेपालीले सास्ती पाइरहेका होलान् ? यसको कुनै लेखाजोखा छैन ।
गायत्रीलाई इन्टरपोलको नम्बर जुधेको पासपोर्ट दिने कर्मचारीलाई अहिलेसम्म कुनै कारवाही भएको छैन । उनीहरु गायत्री टर्कीका रोकिएको समाचार पढेर रमाइलो मानिरहेका छन् ।
पूर्वप्रधानमन्त्रीकी पत्नीमाथि विदेशमा यस्तो घोर अपमान हुँदा पनि नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीहरु केही नभएको जस्तो गरी कानमा तेल हालेर बसेका छन् ।
तर, यो घटनामा इन्टरपोलमा दर्ता भएको नम्बरसँग जुध्ने पासपोर्ट नम्बर प्रदान गर्ने परराष्ट्रका अधिकारीमाथि कारवाही हुनुपर्ने र यो प्रकरणमा गायत्री नेपालसँग परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर सार्वजनिक माफी माग्नुपर्ने परिवारजनको माग छ ।
‘सरकारले इस्यु गरेको रातो पासपोर्टको नम्बर कसरी चोरी भएको वा हराएको पर्न गयो ?’ गायत्रीकी नन्द बसुधा प्रश्न गर्छिन्- ‘यो घटना कसरी भयो ? एउटा सरकारी प्रक्रियाको लापरवाहीका कारणले गायत्रीले नगरेको गल्तीको सजायँ ब्यहोर्नुपर्यो । उहाँलाई केही भएको भए कसले जिम्मा लिन्थ्यो ? यसैगरी कति नेपालीहरुले दुःख पाएका होलान् ?’
बसुधाले थपिन्-‘इन्टरपोलमा गएको नम्बर गायत्री नेपाललाई किन दिइयो ? यसको परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्छ र मन्त्रालयले सार्वजनिक रुपमा गायत्री नेपालसँग माफी माग्नुपर्छ ।’
प्रतिक्रिया 4