Comments Add Comment

बिपक्षीले जनताको कमलो मनमा आशंकाको विष वृक्ष रोपेः बाबुराम

'बलपूर्वक चुनाव गरे ज्ञानेन्द्रपथ हुन्छ'

baburam

१३ पुस, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले विपक्षी दलले मुलुकलाई टकरावको बाटोमा लैजान खोजेको आरोप लगाएका छन् । पार्टीको संसदीय विभागले गरेको अन्तरक्रियामा भट्टराईले दलहरुबीच संविधान संशोधन कि निर्वाचन भन्ने मुद्दामा ध्रुवीकरण देखिएको र यो ठूलो दुर्भाग्य भएको बताएका छन् ।

केही दल ध्रुवीकरण बढाउन लागेको भन्दै उनले भने, ‘मूलतः बिपक्षी दल जनताको कमलो मनमा आशंकाको विष वृक्ष रोपिरहेको छ ।’

आन्तरिक समस्या समाधान गर्न आफैले प्रयत्न गर्नु पर्नेमा केहीले भ्रमको खेती गरेको भन्दै उनले भने, ‘एकल जातीय अहंकारवादको आडमा अन्धराष्ट्रवादको खेती गरिरहेका छन् । उनीहरु छिमेकी हस्तक्षेपको भ्रान्ति दिइरहेका छन् । केही साथीहरु जातीय तथा क्षेत्रीय संकीर्णताको वीऊ छरिरहेका छन् ।’

उनले अघि भने, ‘यस्तो भ्रम पारिँदै छ कि हाम्रा अग्रगामी एजेण्डाहरु हाम्रा होइनन् । यी बाहृय शक्तिले नियोजित रुपमा ल्याएका एजेण्डाहरु हुन् । के लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता सबै अरुकै मुद्दा हुन् ? के त्यसो भए विगतका आन्दोलनहरु फगत भ्रम थिए ? त्यसो होइन । हामीले ठूलो बलिदानपछि लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता स्थापित गरेका हौं । यी मुद्दाहरुलाई हामीले जोगाउनुपर्छ ।’

पूर्व प्रधानमन्त्री भट्टराईले हामीले आफ्ना आन्तरिक मामला हल गर्न नसक्दा छिमेकीले हात हाल्ने अवसर मात्र पाउने बताए ।

समथर भूभागलाई मात्र राखेर प्रदेश बनाउनै हुँदैन, यसले बिखण्डन निम्त्याउँछ भन्ने भ्रम केहीलाई रहेको भट्टराईले बताए । उनले भनेका छन्, ‘यो नियोजित भड्काव हो । यस्तो गलत विचारलाई सडक संघर्षमार्फत साथीहरु प्रोत्साहित गरिरहेका छन् ।’

संघीय प्रदेश भूगोलको आधारमा नभई जनसंख्याको जातीय/भाषिक बनोट र ऐतिहासिक वसोबासको आधारमा निर्माण हुने उनले बताए । विपक्षीतिर लक्षित गर्दे उनले भने, ‘उनीहरु ठान्छन्, संविधान संशोधन गर्नु जातिवाद, छिमकी हस्तक्षेप र अलगावलाई प्रश्रय दिनु हो । जुन सरासर बेठीक प्रचारवाजी हो । उनीहरुले बुझ्नुपर्ने हो कि आशंकाको प्रचारवाजीले तत्काल उनीहरुलाई राजनीतिक फाइदा त होला तर देशको भावनात्मक एकीकरण गर्दैन । बरु विखण्डनको वीऊ रोपिन्छ । तराई-मधेसका जनताको निष्ठालाई शंका गरेर हामी कतै पनि पुग्दैनौं ।’

इन्द्रधनुष राज्य बनाउनु पर्ने र, यसका लागि सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् ।

भट्टराईले संविधान कार्यान्वयनसँगै निर्वाचन आवश्यक रहेको भएपनि केही आधारभूत शर्तहरु रहेको बताए । ‘के तत्काल निर्वाचन सम्भव छ ? के संविधानको खुरुखुरु कार्यान्वयन हुन्छ ?’ भन्दै उनले भने, ‘यथास्थितिमा बलपूर्वक निर्वाचन भए त्यो जनआन्दोलन र अग्रगामी परिवर्तनको भावना विपरित हुन्छ र त्यसले देशमा स्थीरता र शान्तिको वातावरण बनाउँदैन । त्यो ज्ञानेन्द्रपथ हुनजान्छ । निर्वाचन र संविधान कार्यान्वयनको छली कुरा गरेर सस्तो लोकप्रियता त मिल्ला तर राजनीतिक निकास आउँदैन । यसले राजनीतिक टकराव ल्याउँछ ।’

यो ध्रुवीकरणले संघीयतावादी र विरोधीको कित्ताकाट गर्ने उनले बताए । संघीयतासँगै धर्मनिरपेक्षता, गणतन्त्रमाथि पनि प्रश्न उठ्न सक्ने उनले बताए । भट्टराईले भने, ‘केही मान्छेहरु २०४७ सालकै संविधान ब्युँताउने प्रयत्नमा लागिरहेकै छन् । हालसालै पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक विज्ञप्ति जारी गरेर आफ्नो प्रतिगामी र पुनरुत्थानवादी ध्येयको सूचना दिइसकेका छन् । उनीहरु सबै हौसिने छन् । यो प्रतिगमन हुनेछ ।’

संविधान संशोधन र निर्वाचन एक अर्कासँग अबिभाज्य भएको भन्दै उनले यसलाई अलग गर्नासाथ परिस्थिति उल्टो दिशामा जाने बताए । ‘दीगो समस्या समाधानका लागि संविधान संशोधन र निर्वाचन नै मुख्य सूत्र हो,’ उनले भने, ‘यसकालागि राजनीतिक सहमतिका आधारमा परिमार्जन सहित संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजानु र पारित गर्नु वाहेक अर्को विकल्प छैन ।’

सरकारले ल्याएको संविधान संशोधन विधेयकमा संशोधन वा परिमार्जन आवश्यक रहेको भन्दै उनले सम्भव भएसम्म साझा बनाउन प्रस्ताव गरे । आवश्यक परे नागरिक अगुवाहरुलाई मध्यस्थताको लागि सहयोग माग्न सकिने भन्दै उनले भने, ‘खुल्ला संवादमा अहिले जे जति गर्न सकिन्छ गरौं । त्यसलाई हार वा जीतको बिषय नभई जीत-जीतको बिषय बनाऔं ।’

आन्दोलनरत पक्षहरुलाई संशोधन विधेयकमा आलोचनात्मक समर्थन गर्न प्रेरित गर्न सकिने र यसले आफ्ना मुद्दाहरुलाई लिएर निर्वाचनमा जाने विकल्प खुल्ने भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘यसरी संविधान संशोधन र तीनवटै निर्वाचनको घोषणा एकैपटक गर्न सकिन्छ । यसो गर्दा पक्ष-विपक्षमा होईन राष्ट्रको हितमा निर्णय हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment