Comments Add Comment

क्यान्सरको उपचारपछि फेरिइन् सुजाता

भन्छिन्- क्यान्सर पीडितका लागि परामर्शकेन्द्र खोल्छु

sujata-koirala

सुरुमा देख्दा यस्तो लाग्यो, पुतलीजस्ती सानी नातिनीसँग बगैंचामा खेलिरहेकी सुजाता कोइराला क्यान्सरपीडित नै होइनन् । पीडाहरू लुकाएर हाँस्न जान्ने नारीहरूमा सायदै हुने स्वभावमा सुजाता अपवादमा परिन् ।

रोग बिर्सेर सुजाताले हुस्सु हटाउँदै बिहानीको घाम छरिएजसरी मुस्कार छरिन् । भनिन्, ‘संघर्ष गर्न सक्ने र पीडा बिर्सेर हाँस्न जान्ने नेपाली माटोमा जन्मे हुर्केकी छोरी हुँ म ।’

पिता गिरिजाप्रसाद कोइरालाले जस्तोसुकै चुनौतीको सामना गर्न तयार हुनु भनी सिकाएको सुनाउँदै सुजाताले क्यान्सरसँगको लडाइँमा रोचक जीत दर्ज गर्ने उद्देश्य सुनाइन् ।

क्यान्सरसँगको लडाईंका क्रममा सुजाताको कुनैबेलाको मोटोघाटो शरीर पातलो भएको छ । छोटो कपाल बनाउँदा मुहार फरक देखिएको छ ।

वर्षौंपछि खडेरी परी अचानक वर्षाले सिञ्चित जमिन कस्तो हुन्छ ? भदौरे झरीपछि खुलेको आकाश कस्तो हुन्छ ? हुरीपछिको पुछिएको वातावरण कस्तो हुन्छ ? क्यान्सरको शल्यक्रियापछिकी सुजाता त्यस्तै भएकी छिन् ।

उनी भन्छिन्, ‘क्यान्सर फ्रीजस्तै अनुभव गरेकी छु । तर, संघर्ष सकिएको छैन ।’

आफ्नो बाँकी जीवन देश र जनताको हितमा समर्पित गर्ने चाहना सुनाउँदै उनी भन्छिन्, ‘राजनीति छाड्दिनँ तर साथीहरूलाई चिढ्याएर होइन, चाहना अनुसार अगाडि बढ्छु ।’

रोग लागेपछिको अनुभूति

दशैंको बिदा मनाउन मलेसिया जानु सुजाताका लागि भाग्य या दुर्भाग्य दुवै ठहरियो । घुम्न जानुअघि सम्म परिवारलाई असाध्यै कम समय दिने उनी अबचाहिँ समय दिनुपर्ला भन्ने निर्णयमा पुगेकी थिइन् ।

मलेसियामा रहँदा बाँया हातको समस्या जनाउन जाँदा चिकित्सकले शंका गर्दा क्यान्सर देखियो ।

असाध्यै छिटो फैलन सक्ने प्रकारको क्यान्सर रहेको पत्ता लागेपछि चिकित्सकले शल्यक्रियामा जोड दिए ।

शुरूमा अत्तालिएकी सुजाताले सम्हालिएर ढिलाई नगरी निर्णय लिइन् । उनले भनिन्, ‘छाँगाबाट खसेजस्ती भएँ । फैलिएला कि भनेर क्यान्सर संक्रमित स्तन फाल्ने निर्णयमा पुगेँ ।’

उपचारपछि स्वदेश र्फकंदा जताततै सन्नाटा छाएको जस्तो ठानिन् । जिन्दगीलाई फर्केर हेरिन् । भनिन्, ‘आखिर केका लागि कोको सँग प्रतिष्पर्धा गरेंछु जस्तो लाग्यो ।’

मनभरि आध्यात्मिक भावना तरंगित भयो सुजाताको । क्यान्सर हुनुअघिको भन्दा पछिल्लो समय आˆनो मन र तन दुवैमा व्यापक बदलाव आएको सुनाइन् । भनिन्,’मन शान्त बनाउने कला सिकेँ । मनको शान्तिले ऊर्जा मिल्दोरहेछ ।’

शुरूमा सुजाताले आफूलाई क्यान्सरको संक्रमण भएको विषयचाँहि भन्न चाहिनन् । यतिमात्रै भनिन्- मानसिक चिन्ता बढ्यो । मानसिक यातना बढेको अनुभूति भयो । जब दक्ष चिकित्सक र परामर्शदातासँग सम्पर्कमा आइन् तब उत्साह बढ्यो ।

‘रोग लुकाएर होइन, रोगबारे जानकार अनुसन्धानकर्ता र चिकित्सकलाई यथार्थ बताएर सल्लाह लिएमा निदानको उपाय निस्कनेरहेछ,’ सुजाताले अनुभव सुनाइन् । रोगसँग डराउने नभई लड्ने हिम्मत आवश्यक पर्ने बताइन् ।

पहिलो चरणको उपचारपछि सुजातालाई दोस्रो चरणको उपचार गर्न सल्लाह र सुझाव नेपाली काँग्रेसको नेतृत्व देखि अन्य दलका मुख्य नेताहरूबाट आयो । दोस्रोपटक उपचारका लागि सरकारले ५० लाख सहयोग गर्‍यो । यसअघि पनि सरकारले धेरै नेताहरूको उपचारका लागि करोडौं सहयोग गरेको थियो । सुजाताका पालामा विषय निकै उठ्यो । विवाद बढ्यो ।

चिकित्सककको सुझाव अनुसार सिंगापुरमा चेकजाँच गराएर मलेसियामा थप उपचार गरिन् । सकेसम्म कम खर्च होस् भन्ने हेतुले मलेसियामा उपचार गराएको सुनाइन् ।

‘अमेरिका जान धेरैले सुझाव दिए पनि खर्च कम गर्न सिंगापुर र मलेसियामा उपचार गरेँ ।’ चेकजाँच गराउँदा पाठेघरमा पनि क्यान्सर देखियो । शल्यक्रिया भयो । उनी भन्छिन्, ‘अहिले म क्यान्सरमुक्त जस्तै महसुस गर्छु ।’

उपचार खर्चबारे

आफूले उपचार खर्च लिएकोबारे विभिन्न टीकाटीप्पणी भएकोमा कत्तिपनि चित्त दुखाउँदिनन् सुजाता ।

भन्छिन्, ‘नकारात्मक कुरामा ध्यान दिनु हुँदैन ।’ आफू कसले के भन्छ भन्दा पनि पहिले पूर्णरुपमा क्यान्सरमुक्त भई देश र जनताको हितमा राम्रा काम गर्ने सपना साँचेर बसेको सुनाउँछिन् ।

जहिले पनि एक्सनमा जाने स्वभाव भएकाले पनि समस्यामा पर्ने गरेको अनुभव सुनाउँदै जस्तोसुकै चुनौतीको सामना गरेर भए पनि काम फत्ते गरेरै छाड्ने दृढता व्यक्त गर्छिन् ।

उनी भन्छिन्, ‘जे जे बोलेकी छु, त्यही त्यही गरेर देखाएकी छु र भविष्यमा पनि गरेर देखाउनेछु ।’

क्यान्सर लागेपछिको अनुभव

क्यान्सरको दुई चरणको उपचारपछि सुजाता कत्तिपनि विरत्तिएकी छैनन् । भयरहित मन फुकाएर भन्छिन्, ‘रोग लुकाएर हुन्न, व्यथा छुपाएर हुन्न ।’

क्यान्सरसँग लड्न आत्मविश्वासी भावका साथ अनुभव सुनाउनुपर्ने र अरूको सकारात्मक सुझाव आवश्यक पर्ने बताउँछिन् ।

क्यान्सरपीडित अरूका अनुभव सुनेर सुजातालाई बल मिल्यो । क्यान्सरको प्रारम्भिक चरण थाहा लाग्दा जुन पीडा भोगिन्, त्यो शब्दमा वर्णन गर्न सक्दिनन् उनी । शुरूमा हतास मनस्थिति विकास हुन खोजेको थियो । शुभचिन्तकको माया, साथ र सद्भावले मनभरि उत्साह भरिदै गएको सुनाइन् ।

आत्मविश्वास, परिवार र शुभचिन्तकको साथले अहिले क्यान्सरलाई जित्छु भन्नेमा ढुक्क छिन् । निराश भएर स्वदेश र्फकँदा उनलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री विमलेन्द्र निधिलगायतले भेटेर हौसला दिएका थिए ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड देखि एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्म स्वास्थ्यलाभको कामना गरे । उच्च तहका सरकारी अधिकारीदेखि तल्लो तहका कार्यकर्तासम्मले स्वास्थ्यलाभको कामना गर्दै टेलिफोन गर्ने र भेट्ने आउने गरिरहे । परिवारको भरपूर साथ भयो । डा.शेखर कोइरालाले बारम्बार भेटेर स्वास्थ्य सल्लाह दिन्थे ।

मनिषाबाट थप हौसला

बलिउड नायिका मनिषा कोइरालाको उपचार सल्लाहले हौसला थप्यो । ‘सबैको साथ पाउँदा मभित्र अभूतपूर्व आत्मविश्वास बढेर आयो,’ सुजाता अनुभव सुनाउँछिन् ।

अधिकांश रोगको मुख्य औषधी आत्मविश्वास हो । सुजाताले क्यान्सरको संक्रमणपछि मूल औषधी बलियो आत्मविश्वास भएको महशुश गरिन् । आत्मविश्वासले उनीभित्र मनोवैज्ञानिक शक्ति बढाइदिएको छ ।

sujata-koirala-1‘मानिस शारीरिकरूपमा मात्र स्वस्थ भएर पुग्दैन, मानसिक रूपमा पनि स्वस्थ हुनुपर्छ,’ स्वास्थ्यबारे प्रवचकले जस्तै प्रवचन दिन्छिन् उनी । उनको ठहर छ -मानिसका लागि धन, पद, पावरभन्दा मुख्य स्वास्थ्य नै हो ।

क्यान्सर संक्रमित भएपछि स्वास्थ्यमा असाध्यै ख्याल गर्न थालेकी छिन् उनले । भन्छिन्, ‘पढेर भन्दा परेर जानिन्छ । आफैंलाई परेर होला, म क्यान्सरविज्ञ जस्तै भइसकेकी छु ।’ क्यान्सर संक्रमित जो कसैलाई भय हटाएर हिम्मतिलो बन्न सुझाव दिने योजना बनाएकी छिन् उनले ।

क्यान्सर रोगीले के गर्नुहुन्छ र हुँदैन भन्न्ेबारे विस्तृत सुनाउँछिन् उनी । तनाव सबैभन्दा घातक हुने उनको भनाइ छ । मनमा शान्ति लिने र आफूलाई मनपर्ने क्रियाकलापमा सक्रिय तुल्याइराख्नुपर्छ, ता कि आफू रोगबाट संक्रमित छु भन्ने सम्झना नआओस् ।

सुजाता चिकित्सकको सल्लाह अनुसार सक्रिय भइरहेकी छिन् । समयमा खाने, सुत्ने र दैनिक क्रियाकलाप गर्ने बानी बसालेकी छिन् । खानामा असाध्यै ध्यान दिन्छिन् । हरियो सागसब्जी बढी खान्छिन् । ठीक समयमा ठीक खानेकुरा खाँदा रोग फैलन नपाउने उनी बताउँछिन् ।

शरीर हल्का बनाउन र मन शान्त बनाउन बिहान सबेरै उठेर योगासन गर्छिन् । ‘योगले ममा अभूतपूर्व परिवर्तन ल्याएको छ । तौल घटाएकी छु र मनमा खुशी बढाएकी छु,’ उनी भन्छिन् ।

क्यान्सर रोगलेभन्दा डरले धेरैलाई पिरोलेको र संक्रमण बढाएको सुजाताको बुझाइ छ । उनी आफै त्यही अवस्थाबाट गुजि्रएकी थिइन् । त्यसैले क्यान्सर पीडितको हितका लागि परोपकारको उद्देश्यसहितको परामर्श केन्द्र खोल्न सक्रिय हुने लक्ष्य राखेको उनले सुनाइन् ।

गतिलो परामर्श मात्र हुने हो भने पनि क्यान्सर संक्रमितले उचित उपचार र आत्मविश्वास बढाउन सकी रोगसँग जुध्न सक्ने बताइन् ।

विशेष गरी महिलाहरूमा आत्तिने समस्या रहेकाले त्यसबाट मुक्त गराउन परामर्श केन्द्रहरूमा जोड दिइन् । अनुभव सुनाउने र अन्य रोगीको आत्मबल बढाउने अवस्था सिर्जना हुने बताइन् ।

कोइराला परिवारका सदस्यहरूमा विगतमा क्यान्सर देखिएको थियो । वीपी कोइरालाको घाँटीको क्यान्सरबाट निधन भयो । सुशील कोइरालामा समेत क्यान्सर देखिएको थियो । मनिषा कोइराला समेत क्यान्सरबाट संक्रमित भइन् । उनै मनिषासँग सुजाताले परामर्श लिइन् । उनले भनिन्, ‘मनिषाले मलाई खुबै सम्झाइन् । औषधीको प्रयोगबारे समेत सुझाव दिइन् ।’

क्यान्सर संक्रमण हुँदा शुरूको अवस्थामा निकै रिस उठ्ने अनुभव सुनाइन् । जुन लक्षण मनिषालाई भएको थियो त्यही लक्षण सुजातालाई भएको रहेछ । भनिन्,’मनिषाको त उमेर नै के भएको थियो र । लामो जीवन जिउन बाँकी मनिषालाई कस्तो भयो होला भन्ने सोचेर मन बुझाएँ ।’

आफूमात्रै नभई धेरै मानिसहरू क्यान्सरसँग संघर्ष गरेर निको भएको उदाहरणहरू सुनिन् बुझिन् ।

सुजाताको सपना

पिता गिरिजाप्रसाद कोइरालाले बाटो, शिक्षा र स्वास्थ्यको विकासलाई प्राथमिकतामा राखेर काम गरेको बताउँछिन् । कोइरालाका धेरै सपनाहरू पूरा हुन पाएनन् जसलाई आफूले पूरा गरेर छाड्ने सुजाताको दृढता छ ।

उनी भन्छिन्,’सानबुवाले कुरा होइन काम गर्न, अल्मलिने होइन अगाडि बढ्न सिकाउनुभएको छ ।’ सुजाताले देशका विभिन्न भागमा स्वास्थ्य र शैक्षिक संघसंस्था संचालनमा ल्याउने काम अगाडि बढाएकी छिन् ।

पोखरा नजिकै तनहुँ जिल्लामा पर्ने नौ सय रोपनीमा गिरिजाप्रसाद कोइराला अस्पताल प्रस्तावित छ । दाङ, विराटनगरलगायतका स्थानमा समेत सरकारको सहयोग र संरक्षणमा रहने गरी कार्यक्रम प्रस्तावित छ ।

जीपी फाउण्डेशनलाई सक्रिय बनाएर अध्ययन र अनुसन्धान प्रतिष्ठानका रूपमा विकास गर्ने योजना अनुसार काम बढाएकी छिन् । उनी भन्छिन्,’देश बनाउने युवाले हो । त्यसैले युवाहरूलाई सक्रिय र प्रभावशाली बनाउने काम अगाडि बढाएकी छु ।’

सुजाताले सुष्मा कोइराला मेमोरियल ट्रष्टलाई निकै सक्रिय बनाएकी छिन् । ट्रष्टले गरिब र असहाय विरामीको निःशुल्क उपचार गरिरहेछ । नर्सिङ्ग कलेज सञ्चालनमा छ । हजारौं गरिब र निसहायको निःशुल्क उपचार गरी सेवा पुर्‍याएको भन्दै आनन्दको अनुभूति हुनेगरेको सुनाउँछिन् । सेवा गर्न पाउँदा बिछट्टै आनन्द आउने र जीवन सार्थक लाग्ने गरेको उनी बताउँछिन् ।

सुजाताको बुझाइमा नेपाली मन

एक अर्कालाई साथ र सहयोग दिने नेपाली मन उदाहरणीय रहेको सुनाउँछिन् । आफूले स्वास्थ्यलाभ गरिरहेको फेसबुक पोष्ट राख्दा लाखौंले लाइक र कमेन्ट गरेबाट झन् उत्साही भएको बताइन् ।

प्रत्यक्ष भेट्न आउने धेरै भएको र फोनबाट शिघ्र स्वास्थ्यलाभको कामना गर्नेको संख्या उत्तिकै पाइन् । ‘नेपाली मन भनेकै सुखदुःखको साथ हो, जुन मैंले अनुभव गरेँ,’ सुजाताले भनिन्, ‘सबैभन्दा आनन्द नेपाली जनताको माया पाउँदा हुँदोरहेछ ।’

sujata

नेपाली जनतामा सधै सकारात्मक सोच रहेको विश्वास गर्छिन् सुजाता । तर, केही नकारात्मक सोचका व्यक्तिहरूले विष छर्न खोज्ने गरेको सुनाउँछिन् । भन्छिन्,’सकारात्मक सोच राख्ने हो भने परोपकारी समाज निर्माणको हाम्रो सपना चाँडै पूरा हुन्छ ।’ चन्द्रमामा समेत दाग हुने सुनाउँदै सुजाता जनतामा सकारात्मक सोच जागृत गराउन सके नेपाल चाँडै समृद्ध हुने विश्वास गर्छिन् ।

नेपाल स्रोतमा धनी भइकन गरिब मुलुकमा दर्ज भएकोमा दुःख व्यक्त गर्छिन् ।

नेपाली जनताको देशप्रतिको अगाध मायाको खुलेर प्रशंशा गर्छिन् । भन्छिन्,’नेपाली दिदीबहिनी दाजुभाईले नेपाललाई असाध्यै माया गर्नुहुन्छ ।’ संसारको जुनसुकै कुनामा रहे पनि नेपालीहरूमा देशको चिन्ता पाएको बुझाइ छ उनको ।

भन्छिन्,’म संसारको जुन जुन देशमा पुगेर नेपालीहरूलाई भेटें, उहाँहरूले देशका बारेमा निकै चिन्ता गर्नुभएको पाएँ । उहाँहरू देशको विकास, शान्ति र समृद्धिका लागि योगदान गर्ने चाहना सुनाउनुहुन्छ ।’

नेपाली समाजमा एक अर्कालाई दुःख मर्का पर्दा सहयोगको सोच निकै रहेको सुनाइन् । उनी भन्छिन्,’मर्दापर्दा हामीलाई हाम्रै नेपाली दाजुभाई दिदीबहिनीले साथ सहयोग दिन्छन् । यही भावनाले हामीले मनका धनी छौं ।’

विगत र वर्तमानबीच अन्तर

क्यान्सर हुनुअघि सुजाताले आफू यो अवस्थामा आइपुग्नुपर्ला भन्ने सपनामा समेत चिताएकी थिइनन् । पद, पावर, प्रतिष्ठा र पहुँच के थिएन उनमा । तर, रोगले यो या त्यो भन्दैन । जसलाई पनि लाग्न सक्छ ।

सुजाता त्यस्तै रोगबाट संक्रमित भइन् । ०४६ सालको जनआन्दोलनपछि पटक-पटक प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाकी एकमात्र पुत्री सुजाता शक्तिको केन्द्रमा रहिन् । पितासँग देश विदेश घुमेर एक्सपोजर पाइन् । आफै समेत मिहेनत गरेर बलियो पहिचान बनाउन सफल भइन् । दुईपटक कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भइन् ।

कुनैबेला पिता गिरिजाप्रसाद कोइरालाले देशमा अब महिला प्रधानमन्त्री बन्छिन् भन्दा सबैले सुजाता प्रधानमन्त्री बन्दैछिन् भन्ने ठानिसकेका थिए । उपप्रधानमन्त्रीसहित देशको पहिलो महिला परराष्ट्रमन्त्री बनिन् ।

राजनीतिको आरोह अवरोहका बाबजुद सुजाता अझै शक्तिको केन्द्रमा छिन् । अझैपनि उनको मण्डिखाटारस्थित घरमा देशका प्रभावशाली नेताहरू पुगेर छलफल गर्छन् ।

सुजाताको बलियो पक्ष साहस हो । कोइराला परिवारभित्र मात्र नभई कांग्रेसभित्र उनलाई साहसी नेता मान्छन् । आफ्नो भनाई प्रष्ट राख्ने स्वभावले विवादमा परिरहन्छिन् । जस्तोसुकै विवादमा परेपनि अडान दरिलोसँग लिन्छिन् । चुनौतीहरूले आफूलाई झन् परिपक्व बनाउँदै लाने आशा राख्छिन् सुजाता ।

भन्छिन्,’सानबुवा (गिरिजाप्रसाद कोइराला) ले भन्नुहुन्थ्यो नेताले दुःख पाउनुपर्छ सुख होइन । सुख त जनतालाई दिने हो । दुःखदेखि डराउने नेता हुन योग्य हुँदैन ।’

अबका दिनमा चुनौतीका पहाड पन्छाउँदै देश र जनताको हितमा आफूलाई समर्पित गर्ने चाहना सुनाइन् । हण्डर ठक्कर र कष्टले गिरिजाप्रसाद कोइराला हुँदाकी सुजाता र वर्तमानकी सुजातामा निकै परिवर्तन आइसकेको देखिन्छ ।

तस्वीर सौजन्यः खेमा बस्नेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment